दैलेखको पादुकास्थानमा पेट्रोलियम पदार्थको अनुसन्धान धमाधम चलिरहेको छ। नेपाल सरकार खानी तथा भुगर्भ विभाग र चीनको चाइना जिओलोजिकल सर्भेको सयुक्त टोलीले उक्त अनुसन्धान गरिरहेको हो।
लामो समय देखि खोलाको पानीमा तेल जस्तो चिल्लो पदार्थ तैरिएको भेटिएपछि त्यो तेल हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक चीन भ्रमणमा जाँदा चीन सरकारलाई अनुसन्धानका लागि आग्रह गरेका थिए। अहिले नेपाली र चिनियाँ टोलीले सयुक्त रुपमा अध्ययन गरिरहेको छ।
पेट्रोलियम पदार्थकाे अन्वेषणकालागि यो नेपालमा भएको पहिलो अध्ययन होइन। यसअघि २०४५ सालमा मोरङ बाहुनीमा पनि पेट्रोल खानीको खोजी गरिएको थियो। त्यतिबेला सेल ट्राइटा कम्पनीले साढे तीन (३.५) किलोमिटर गहिराइसम्म खन्दा पनि पेट्रोलियम पदार्थ नभेटिएपछि खोजी बन्द भएको थियो।
विश्व भरिनै पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको थोरै ठाउँमा मात्रै यो भेटिने गरेको छ। अनुमान गरिएको ठाउँमा १० प्रतिशत मात्रै पेट्रोलियम पदार्थ पाइएको अन्तर्राष्ट्रिय अनुभव छन्।
केही महिना अघिको पाकिस्तान पनि यसको उदाहरण हो।
लामो अध्ययनपछि गत महिना पाकिस्तानको तटिय इलाकामा पेट्रोलियम पदार्थ नभेटिएको समाचार आयो। अर्बौ रुपैयाँ खर्च गरेर गरिएको त्यो अनुसन्धानको नतिजा शुन्य भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताए।
भुगर्भ विभागका उपमहानिर्देशक सुधिर रजौरे पनि विश्व भरिनै ८ देखि १० प्रतिशत मात्रै अनुमान गरिएको ठाउँमा पेट्रोलियम पदार्थ पाइने बताउछन्।
तर दैलेखमा तेल भेटिनेमा उनी निकै आशावादी छन्। कार्यलयमै राखिएको दैलेखको आधा भाडो कच्चा तेल देखाउँदै त्यहाँ पेट्रोलियम पदार्थ पाइने आधार बलियो भएको उनले दाबी गरे।
‘भारतको आसाम र पाकिस्तानका केही यस्तै क्षेत्रमा तेल भेटियो। लामो सयदेखि त्यहाँ तेल उत्पादन र प्रशोधन भइरहेको छ। उस्तै भौगर्भिक संरचना भएकाले नेपालको दैलेखमा पनि तेलको ठुलै भण्डार हुन सक्छ,’ उनले भने।
नेपालको चुरे तथा तराईको सिमा क्षेत्रमा तेलको भण्डार बढी हुन सक्ने उनको अनुमान छ।
‘पानीमा पेट्रोलियम पदार्थ तैरिरहेको अवस्थामा भेटिएको थियो, आगोको ज्वाला पनि प्रकृतिक रुपमै बलिरहेको थियो त्यसैले त्यहाँ पेट्रोलियम पदार्थ भएको पुष्टि हुन्छ,’ उनले भने, ‘त्यहाँको चट्टानको संरचना हेर्दा पनि पेट्रोलियम पदार्थ भएको अनुमान लगाउन सकिन्छ।’
चट्टानको विचमा पर्ने चापले मात्रै पेट्रोलियम पदार्थ बन्छ।
विशेषगरि पेट्रोलियम पदार्थ पृथ्वीको सतहमा रहेका सुक्ष्म वनस्पति तथा जीवहरु जमिनमुनि पुरिएर बन्ने हो। जमिन मुनि चाप वा दबाब र लामो समयसम्म हुने रासायनिक प्रतिकृयाले वनस्पती र जीवहरु पत्रे चट्टानमा परिणत हुन्छन्। पत्रे चट्टानमा संकलित जैविक पदार्थ ९० देखि १७५ डिग्री सेल्सियस तापक्रम र उच्च दबाबका कारण लाखौ वर्षपछि जैविक र रासायनिक प्रतिकृयाको कारणले पेट्रोलियम पदार्थमा परिणत हुन्छ।
नेपाल पनि त्यो संभावना रहेकाले पेट्रोलियम पदार्थ पाइने संभावना बढेको रजैरेको भनाइ छ।
ललितपुरमा केही समय अघि जमिनमा आगो बलेको समाचार सार्वजनिक भएको थियो। रजौरे त्यहाँ भने पेट्रोलियम पदार्थको भण्डार भएको विश्वास गर्दैनन्।
‘पेट्रोलियम पदार्थ बन्नको लागि आवस्यक चाप यहाँको संरचनामा पुग्दैन त्यसैले यहाँ ठुलो भण्डार छैन,’ उनले भने।
दैलेखमा पेट्रोलियम पदार्थ पाइने आधार भएपनि यतिनै पेट्रोलियम पदार्थ छ भन्ने पुष्टि भएको छैन।
‘पेट्रोलियम पदार्थको मात्रा अहिलेसम्म एकिन भएको छैन, हाम्रो काम कति पेट्रोलियम पदार्थ छ भनेर पत्ता लगाउने हो,’ उनले भने, ‘हामीले अहिले सम्म कहाँबाट ड्रिल गर्दा भित्र सम्म पुगिन्छ भनेर अनुसन्धान गरिरहेका छौ’ रजैरेले भने।
अहिले अन्वेषण गरिरहेको टोलीले जमिनको ‘एक्स'रे गरिरहेको छ। उनका अनुसार ड्रिल गर्न सकिने सजिलो ठाउँ पत्ता लगाएपछि मात्रै ड्रिलिङको काम सुरु हुन्छ। ड्रिलिङ गरेर पेट्रोलियम पदार्थ भए नभएको र परिणाम पत्ता लगाउन अझै एक वर्ष लाग्ने रजौरेले जानकारी दिए।
दैलेखमा ४.५ किलोमिटरसम्म ड्रिल गर्ने योजना अनुसार काम भइरहेको छ। त्यति ड्रिल गर्दा पनि पेट्रोलियम पदार्थको भण्डार भेटिएन भने काम अघि बढ्दैन र अहिलेसम्मको सबै मेहनत खेर जान्छ।
‘ड्रिल गरेपछि मात्रै कति पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘खानी भेटिएपछि पनि त्यसको आर्थिक विश्लेषण हुन्छ । त्यसपछि मात्रै उत्पादन गर्ने नगर्ने निर्णय हुन्छ। भण्डार ठुलो रहेछ भने मात्रै उत्पादन सुरु हुन्छ।’
उत्पादन कम हुने र खर्च बढी लाग्ने अवस्थामा उत्पादन गरिदैन। नेपालमै उत्पादन गर्दा अहिलेको बजार मूल्य भन्दा सस्तो भएमा मात्रै त्यो आर्थिक रुपमा फाइदाजनक हुन्छ।
तेल उत्पादन भने भुगर्भ विभागले गर्दैन। विभागले पेट्रोलियम पदार्थको मात्रा पत्ता लगाउने मात्र हो। सरकारले कुनै अन्य कम्पनी वा संस्थालाई उत्पादनको जिम्मेवारी दिन्छ।
पहिलो एक वर्ष ड्रिल गरेर भण्डारको मात्रा पत्ता लगाएपछि उत्पादन सुरु गर्न अर्का एक वर्ष लाग्ने उनले बताए। नियमित काम भएमा अबको तीन वर्ष पछि पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने उनले दाबी गरे।
अहिले अध्यायन भइरहेको दैलेखमा ४५ चिनियाँ कामदारले काम गरिरहेका छन्। ३० वर्ग किलोमिटर क्षेत्रफलमा ड्रिल कहाँबाट गर्ने भन्ने अध्यायन भइरहेको छ।
पछिल्लो समय नेपालमा सबैभन्दा बढी आयात हुने बस्तुमा पेट्रोलियम पदार्थ नै पर्छ । गत आर्थिक बर्षमा झण्डै दुई खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भयो।