इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ।
तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरी आचरणविपरीत खसी मागेको आरोप पुष्टि भएपछि शाहीलाई विभागीय कारबाहीको सिफारिस भएको हो।
प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार प्रदेश नम्बर ५ का प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलाई प्रतिवेदन बुझाउँदै शाहीलाई विभागीय कारबाही सिफारिस गरेको हो।
शाहका अनुसार शाहीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकलाई प्रतिवेदनउपर निर्देशन दिइने छ।
‘प्रहरी आचरणविपरीत डिएसपी र प्रहरी नायब निरीक्षक (सई) सुरेन्द्रकुमार पन्तले खसी मागेको प्रतिवेदनले देखाएको छ,’ शाहले भने, ‘दुवैलाई विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाइने छ।’
प्रहरी आचरणमा विभागीय कारबाही अन्तर्गत सचेत गराउने, नसियत दिने, ग्रेड रोक्का, बढुवा रोक्का तथा कसूर हेरेर एक तहसम्म घटुवा गर्न सकिने व्यवस्था छ।
‘कसूर हेरेर यी सबैमा कारबाही हुन सक्छ,’ शाहले भने।
साधारणतया, यस्तो विवाद आएपछि प्रहरी प्रधान कार्यालय वा प्रदेश प्रहरीले तुरुन्त पोस्टिङबाट हटाउने पनि गर्छन्, त्यसलाई प्रहरी आन्तरिक कारबाही भनिन्छ। तर, शाहीलाई भने त्यस्तो कुनै कारबाही गरिएको छैन।
प्रतिवेदनमा सुरूमा सई पन्तले खड्कालाई फोन गरेको देखिएको छ।
पन्तले खड्कासँग सुरूमा खसी मागेको र त्यही फोन डिएसपी शाहीलाई दिएको खुलेको छ।
पन्तकै फोनबाट शाहीले ‘भोलि मातहतलाई भोज गराउनू छ’ भनी खसी मागेको देखिएको छ।
यही अडिओ रेकर्ड झन्डै एक महिनापछि बाहिरिएको थियो। अडिओ बाहिरिएपछि डिएसपी शाहीले खड्कालाई ‘तिघ्रा छेडिदिने’ धम्की पनि दिएका थिए।
सुन्नुस् डिएसपी शाही दिएको धम्कीको अडिओ
डिआइजी शाहका अनुसार छानबिन समितिलाई दुई वटा कार्यादेश दिइएको थियो।
एउटा, कात्तिक १४ गते नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहबाट बरामद हतियार र अर्को डिएसपी शाहीले खड्कासँग खसी मागेको अडिओबारे।
हतियारबारे छानबिन गर्दा प्रहरीले कानुनबमोजिम कारबाही गरेको देखिएको छानबिन समितिको निष्कर्ष छ।
तरुण दल नगरसभापति शाहले उक्त हतियार आफ्नो नभएको र प्रहरीले हतियार राखेर फसाउन खोजेको आरोप लगाएका थिए।
सो हतियार उनकै भएको छानबिन समितिले देखाएको डिआइजी शाहले बताए।
‘हतियारको विषयमा प्रहरीले कानुनबमोजिम रित पुर्याएर काम गरेको देखिएको छ। सिसिटिभी फुटेजसमेत हेर्दा कसैले ‘प्लटिङ’ गरेको देखिएन,’ शाहले भने।
हतियार प्रकरणमा मुछिएका सभापति शाह भने जेल चलान भइसकेका छन्।
सोमबार शाहलाई बाँके जिल्ला अदालतले कारागार चलानको आदेश दिएको हो।
शाह गत कात्तिक १४ गते राति साढे ८ बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन पेस्तोल र गोलीसहित पक्राउ परेका थिए।
शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार रुपैयाँ धरौटी मागेर अदालतले छोडेको छ।
यता, तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का सोमबार राति पक्राउ परेका छन्।
ज्यान मार्ने उद्योगमा फरार रहेको आरोपमा खड्कालाई काठमाडौंबाट पक्राउ गरिएको हो। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुर पठाएको छ।
उनी लोकेन्द्र शाहीमाथि असोज २६ गते खुकुरी प्रहार भएको घटनामा प्रतिवादी थिए।