नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको दोहोर्याएको छ।
उपनिर्वाचन हुनु ११ दिनअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले सरकारलाई सच्याउन आफ्ना उम्मेदवारलाई जिताउन पनि आग्रह गर्यो।
नेविसंघ र तरूण दलको हातबाट उपनिर्वाचनका लागि ‘घोषणा पत्र’ र पोस्टर सार्वजनिक गरेको कांग्रेसले ओली सरकारको आलोचना गर्दै २१ महिने अवधिमा २१ घटनामा सरकार चुकेको दाबी गरेको हो।
‘यो सरकार बनेको २१ महिनामा २१ प्रतिनिधिमूलक घटना र तथ्यमा सरकार असफल भएको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘निर्वाचन जितेर सरकार फेरबदल हुने होइन। तर सरकारले जे गरिराखेको छ त्यो गलत छ भनेर सच्याउन सन्देश दिनु जरूरी छ।’
शर्माले सरकार असफल हुनुमा राष्ट्रियतादेखि सुरक्षाका कारण देखाए। ‘भारतले नक्सामा नेपालका भूमि समावेश गरेको यतिका दिन हुँदा भारतसँग कुनै संवाद सुरू भएन,’ उनले भने, ‘मिडिया खपतका लागि मात्रै प्रधानमन्त्रीले बोलेको सुनेका छौं।’
काठमाडौंमा युवा संघले गरेको एकता भेलामा आइतबार प्रधानमन्त्री ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए।
सरकारले संविधान संशोधन गरी संविधानप्रतिको दायरा विस्तार गर्न नसकेको पनि कांग्रेसको आरोप छ।
‘मधेश केन्द्रित दललाई सरकारमा लगियो तर डेढ वर्षअघि गरेको सहमतिअनुसार संविधान संशोधन गर्न सरकार तयार देखिएन,’ उनले भने।
सरकार सञ्चालन, संविधानको बाँकी कार्यभार पूरा गर्न, कूटनीतिक मामिलामा अपरिपक्व हुनु र विप्लव प्रकरणमा पनि सरकार असफल रहेको कांग्रेसको भनाइ छ।
‘निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई सरकारले पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सकेन। प्रधानमन्त्रीको क्षेत्र झापामा भएका हत्या घटनाको अनुसन्धान गरिएन। यस्ता सुरक्षाका मामिलामा पनि सरकार असफल भयो,’ शर्माले भने।
मूल्यवृद्धि आकाशिएको भन्दै कांग्रेसले सरकारलाई व्यंग्य पनि गरेको छ। ‘सायद धरहरा ढलेर हो कि मूल्यवृद्धि सगरमाथा चढेको छ,’ शर्माले भने, ‘वाइड बडी जहाज खरिदमा पनि छानबिन नगरेर सरकारले ढाकछोप गरेको छ।’
गोरखा र धादिङको सीमा भएर बगेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा कम्युनिष्ट सरकारले राष्ट्रघात गरेको कांग्रेसको भनाइ छ।
‘डिजेल/पेट्रोलबाट पाँच रुपैयाँ कर उठाउने अनि बूढीगण्डकीलाई सुटुक्क चिनियाँ कम्पनीलाई दिएर भविष्य अन्यौल बनाइदिने?,’ शर्माले प्रश्न गरे।
कमिसनको खेलले मेलम्ची खानेपानी आयोजना ढिलाइ भएको उनले बताए।
‘मेलम्ची १० प्रतिशत काम बाँकी रहँदा कम्युनिष्ट सरकारलाई हामीले छाडेको हो। तर कमिसनको खेलले उपत्यकाबासीले अझै पानी पिउन ढिलाइ हुने अवस्था देखिएको छ,’ उनले भने, ‘निजगढ विमानस्थलमा पनि अनावश्यक रूख काट्ने तयारी गरेर सरकार असफल दिशामा गयो।’ सरकारले तोकेभन्दा बढी शुल्क लिएर मेडिकल कलेज सञ्चालकले ठगी गरे पनि सरकार मौन बसेको पनि कांग्रेसको आरोप छ।
‘चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी आन्दोलनमा छन् तर सरकार सुन्दैन,’ उनले भने, ‘डाक्टर गोविन्द केसीले उठाएका मागमा पनि सरकारले कुनै सुनुवाइ गरेको छैन।’
सरकारकै नियतले संवैधानिक निकायहरू असफल हुँदै गएको, शब्दमा प्रेस स्वतन्त्रता भन्ने व्यवहारमा नियन्त्रण गर्न खोजेको र धर्मको सम्बन्धमा सरकार सह-आयोजक बनेर कार्यक्रम गरेकोमा पनि कांग्रेसले आलोचना गरेको छ।
‘गुठी प्रकरणमा जनशक्तिले सरकारलाई झुकाएको हो,’ उनले भने,‘शेरबहादुर देउवा सरकारले ल्याएको सामाजिक सुरक्षा कोष कार्यक्रमलाई आफ्नो बनाएर पोलपोलमा फोटो टाँसियो तर श्रमिकको हितमा कुशल व्यवस्थापन गर्न नसकेर सरकार यहाँ पनि असफल भएको छ।’
ललिता निवास जग्गा प्रकरणमा केही नेताको नैतिकता लिलाम भएको कांग्रेसको भनाइ छ।
तर कांग्रेसले उपसभापति विजयकुमार गच्छदारको नाम मिडियामा जोडिएकोमा भने असन्तुष्टि जनायो।
‘कम्युनिष्ट पार्टीका नेताको छोराको नाममा जग्गा भेटिन्छ अनि अनुसन्धान कांग्रेसतिर सोझ्याएर विषयान्तर गर्ने र पूर्वाग्रही हुन खोजेजस्तो देखिएको छ,’ शर्माले भने। कम्युनिष्ट उकालो लाग्दा शेयरबजार ओरालो झरेको र प्रधानमन्त्रीले नै कार्यकर्तालाई अरिंगालजस्तो बनेर जाइलाग्न निर्देशन दिनु सरकारको गतिविधि असफल दिशातर्फ गइरहेको उनले बताए।
यी सबै घटना सुनाएर शर्माले फेरि निर्वाचनलाई लक्षित गर्दै भने, ‘उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर सरकारलाई ऐना देखाउन सक्ने हो यो सरकार सच्चिन्छ।’