प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल हेरफेर गर्दैछन्। हेरफेरमा केही बहालवाला मन्त्री हट्नेछन् भने केही नयाँ मन्त्री थपिनेछन्। प्रधानमन्त्रीले अहिलेका धेरै मन्त्रीको मन्त्रालय हेरफेर गर्नेछन्।
स्रोतका अनुसार कार्यसम्पादन राम्रो भएका सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई ओलीले भौतिक पूर्वाधार मन्त्रालय दिने तयारी गरेका छन्। भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ हटाउने मन्त्रीको सूचीमा छन्।
त्यस्तै, खानेपानी मन्त्री बीना मगरको पनि मन्त्रालय परिवर्तन गर्ने तयारी ओलीको छ। प्रधानमन्त्री ओलीले मगरलाई हटाउन चाहे पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीनाको थमौती चाहेका छन्। मेलम्ची खानेपानी आयोजनामा भएको ढिलासुस्तीमा मगरको हात रहेको भन्दै प्रधानमन्त्री ओली उनलाई हटाउने पक्षमा छन्।
स्रोतका अनुसार उनी विकास निर्माण र बजेटसम्बन्धी भन्दा पनि सेवासँग सम्बन्धित मन्त्रालय जाने सम्भावना धेरै छ। महिला, बालबालिका वा युवा तथा खेलकुद मन्त्रालयमा मगरलाई पठाउने तयारी प्रधानमन्त्री ओलीको छ।
महिला मन्त्री थममाया थापालाई हटाउने तयारी प्रधानमन्त्रीको छ।
‘महिला मन्त्री थापालाई गाडी चढ्ने र ओर्लनेबाहेक केही थाहा भएको देखिएन,’ प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो, ‘मन्त्रालयमा राखेर पनि उहाँले सिक्ने नदेखिएकाले हटाउने लागिएको हो।’
उद्योग मन्त्री मातृका यादवले आफूलाई हटाउने तयारी भैरहेको अध्यक्ष प्रचण्डबाट जानकारी पाएको स्पष्ट पारिसकेका छन्। १८ महिनाको अवधि आफ्नो काम देखाउन पर्याप्त हुने भए पनि मन्त्रीहरूले कामै गर्न कतिपय नसकेको निष्कर्ष प्रधानमन्त्री ओलीले निकालेका हुन्।
दसैंअघि नै प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन चित्त बुझ्दो नभएको स्पष्ट सन्देश दिएका थिए।
उनले मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कनसमेत गरेका थिए।
‘१८ महिनामा काम देखाउन नसकेका मन्त्री उहाँले राख्नुहुन्न,’ स्रोतले भन्यो।
प्रधानमन्त्री ओली श्रम मन्त्री गोकर्ण विष्ट र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग पनि सन्तुष्ट छैनन्।
विष्टले मलेसियामा वैदेशिक रोजगारी रोकेर पनि खुलाउने विषयमा अपरिपक्व काम गरेको ओलीको ठहर छ। त्यस्तै, उनले सामाजिक सुरक्षा कोषलाई कार्यान्वयनमा लैजान ध्यान नदिएको प्रधानमन्त्रीको आरोप छ।
शिक्षा मन्त्री पोखरेलले पनि काम गर्न नसकेको ठहर छ। तर नेकपाभित्र पूर्वमाओवादी समूहको शक्ति बाँडफाँडमा नारायणकाजी श्रेष्ठ समूहबाट पोखरेल मन्त्री भएकाले निर्णय नभइहाल्ने स्रोतले बतायो। त्यस्तै खेलकुद मन्त्री जगत विश्वकर्माले पनि काम गर्न नसकेको ओलीको ठहर छ।
प्रधानमन्त्री ओली पूर्वमाओवादीतर्फका वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई कायम राख्ने पक्षमा छन्।
ऊर्जा मन्त्रालयमा राम्रो गरेका पुनलाई अन्य मन्त्रालय सार्न ओलीले चाहेका छैनन्। पुन भने गृह मन्त्रालय पाएको अवस्थामा मन्त्रालय हेरफेरका लागि राजी छन्। तर सचिवालय सदस्य समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको मन्त्रालय हेरफेरको सम्भावना नरहेको स्रोतले बतायो। वन मन्त्री शक्ति बस्नेतको मन्त्रालय हेरफेरको सम्भावना छ।