प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मन्त्रीमण्डलमा बुधबार सांसद पार्वत गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएका छन्।
प्रधानमन्त्री ओलीले कार्यक्षमता कमजोर रहेका मन्त्रीहरू ‘हेरफेर’ गर्दा गुरूङले यो मन्त्रालय पाएका हुन्।
दोलखाका गुरूङ ओलीनिकट नेता हुन्।
प्रधानमन्त्रीले मन्त्री बनाएका गुरूङलाई राज्यले भने फौजदारी मुद्दा लगाएको छ। उनीविरूद्ध ज्यान मुद्दा अदालतमा विचाराधीन छ। ज्यान मुद्दामा कात्तिक ३ गते गरूङलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छोडेको हो।
उनको मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी छ।
अदालतमा विचाराधीन ज्यान मुद्दाको अन्तिम किनारा नलागेका व्यक्ति मन्त्री बन्न नैतिकमात्र नभएर कानुनी रूपमै नमिल्ने कानुनीविद् बताउँछन्। ‘फौजदारी मुद्दाको आरोपी अदालतबाट मुद्दाको अन्तिम किनारा नलागी मन्त्री बन्नु आफैंमा कानुनी प्रश्न हो,’ संविधानविद् भीमार्जुन आचार्य भन्छन्, ‘हाम्रो देशको कानुन र संविधानले यो अपेक्षा गर्दैन।’
के हो गुरूङविरूद्धको ज्यान मुद्दा?
२०७४ मा स्थानीय तह निर्वाचनको पहिलो चरणको प्रचारप्रसार हुँदै थियो। दोलखामा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन थियो।
विपक्षीको बलियो गठबन्धनसँग तत्कालीन नेकपा एमाले एक्लै चुनाव लडिरहेको थियो। गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा २०७४ वैशाख २६ गते दुबै पक्षले आफ्नो समूहको ‘ताकत’ देखाइरहेका थिए।
माओवादीले अघिल्ला चुनावमा त्यो क्षेत्रमा बुथ कब्जा गर्न खोजेका थिए। घटना दोहोरिन सक्ने आँकलन गरी एमाले तर्सिएको थियो। उसैमाथि दुई पार्टीको गठबन्धनले एमाले दबाबमा परेको थियो।
एमालेले तत्कालीन जिल्ला अध्यक्ष हाल मन्त्री पार्वत गुरूङलाई चुनावी कमाण्डर बनाएर मैदानमा खटाएको थियो। गौरीशंकर-५ मा बसोबास रहेका गुरूङले कांग्रेस-माओवादी गठबन्धनलाई ‘तह’ लगाउन ‘टाइगर ग्रुप’ खटाए।
‘टाइगर ग्रुप’ कथित नाम दिएर एमालेले चुनावमा खटाएको थियो। प्रहरीका अनुसार आपराधिक गतिविधिमा संलग्नसमेत व्यक्ति राखेर सो ग्रुपमा संयोजक सविन तामाङलाई तोकिएको थियो। सागर तामाङ, कर्ण तामाङ, छेसाङ तामाङ, जीवन तामाङ, मीनबहादुर तामाङलगायत त्यसका सदस्य थिए।
२६ गतेको त्यो दिन, टाइगर ग्रुपसहितको एमाले र माओवादी कांग्रेसबीच आमने-सामने र घम्साघम्सी चलिरह्यो। दुबैले जिल्लाभरिका कार्यकर्ताहरू त्यहाँ भेला पारेका थिए।
प्रहरीका अनुसार सोही क्रममा झडप हुँदा टाइगर समूहका कुलबहादुर तामाङको मृत्यु भयो।
यो घटनापछि वैशाख २७ गते पार्वत गुरूङको नेतृत्वले जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दियो। जाहेरीमा वीरध्वज खड्का, विशाल खड्कासहितका झन्डै चार दर्जन व्यक्तिलाई प्रतिवादी बनाइएको थियो।
प्रभाव रहेको सो क्षेत्रका अधिकांश कार्यकर्ताविरूद्ध जाहेरी परेपछि माओवादी कार्यकर्ताको भागभाग चल्यो।
भाग्नेमध्ये एक थिए- वीरध्वज खड्का। रैथाने उनी तत्कालीन माओवादीका ‘बाहुबली’ कार्यकर्ता थिए।
वीरध्वज एमाले र टाइगर ग्याङले प्रमुख रूपमा निशानामा छँदै थिए। ग्याङको एक सदस्य नै मारिएपछि वीरध्वजलाई तह लगाउने निष्कर्षसाथ टाइगर समूह उनको पछि लाग्यो।
जाहेरी परेपछि वीरध्वज भागेर काठमाडौं आइपुगे। टाइगर समूहले उनको निगरानी गरिरहेको थियो। खड्काको पछि ‘जासुस’ कार्यकर्ता खटाएको थियो।
घटना भएको तेस्रो दिन वीरध्वज भक्तपुरबाट गाडी चढेर चाबहिल चोक पुगेका थिए। त्यहीबेला टाइगर समूहका सबिन, सागर, कर्ण, छेसाङ, जीवन, मीनबहादुर तामाङ, उर्मिला थामीलगायत ७-८ जनाले बसभित्रैबाट वीरध्वजलाई कपालमा समातेर बाहिर निकाले।
उर्मिला थामी भक्तपुर सूर्यविनायकबाट गाडी चढेकी थिइन्। उनकै सूचनाले टाइगर समूहले चाबहिलमा गाडी रोकेर खड्कामाथि निर्घात कुटपिट गरेको प्रहरीको बुझाइ छ। अनुसन्धान प्रतिवेदनले पनि थामी खड्काको पछिपछि हुँदै चाबहिल चोकमा गाडीबाट उनलाई झार्दा सँगै उत्रिएको बताउँछ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले अदालतमा दायर गरेको अभियोग पत्रमा गाडीबाट ओरालेपछि खड्कामाथि कुटपिट सुरू भएको उल्लेख छ। अभियोग पत्र अनुसार कुटपिट गर्दै टाइगर समूहले खड्कालाई चाबहिल नजिकैको एक गल्लीमा लगे। जहाँ पार्वत गुरुङ पनि रहेको बुझिएको साक्षीहरूको ‘अस्पुष्ट’ बयान छ।
त्यसपछि खड्कालाई जथाभावी कुटपिट भयो। ‘हाम्रो मान्छे मार्ने यही हो, नौ जना त छुटे बाँकी सबैलाई सिध्याउने हाम्रो योजना छ, तँ माओवादीको काल आएछ’ भन्दै कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ। निर्घात कुटपिटपछि सविन तामाङले खुकुरी प्रहार गर्न खोज्दा स्थानीयले ‘मान्छे मार्न पाइँदैन’ भनी प्रतिवाद गरेको उनले जाहेरीमा उल्लेख गरेका छन्।
स्थानीयले रोकेपछि टाइगर समूह पछि हट्यो। खड्काको ज्यान जोगियो।
अनुसन्धान प्रतिवेदनमा साक्षीको रुपमा शिवराज महर्जन र शर्मिला मोक्तानले कागज गरेका छन्। उनीहरूले पार्वत गुरुङ घटनामा संलग्नता रहेको बुझेको भनी दाबी गरेका छन्।
तर, प्रहरी प्रतिवेदनले गुरुङ रहे नरहेको निर्क्यौल गरेको छैन। पीडितको जाहेरी र साक्षीको बयानलाई नै प्रहरीले आधार मानी गुरुङलाई प्रतिवादी कायम गरेको छ। गुरुङले भने आफू सो घटना घटेको बेला त्यहाँ नभएको दावी गरेका छन्।
प्रहरीले भने सांसद गुरुङसमेतका व्यक्तिलाई सो कसुरमा पाँच वर्षदेखि १२ वर्षसम्म कैद र जरिवाना गर्नुपर्ने प्रतिवेदन तयार पारेको थियो। सोही प्रतिवेदनको आधारमा सरकारी वकिलले गुरुङ समेत बिरुद्द मुद्दा अदालतमा मुद्दा दायर गरेका थिए।
गुरूङ दोलखा जिल्ला हाल गौरीशंकर गाउँपालिका-५ का का हुन्। उनी साबिक सुरी गाविस-२ का हुन्।
दोलखाको उत्तरी भू-भागका गुरुङ तत्कालीन एमालेमा जिल्ला इञ्चार्ज हुँदै केन्द्रीय सदस्य थिए।
२०२५ सालमा जन्मिएका गुरुङ अनेरास्ववियुको राजनीतिबाट वाम राजनीतिमा आवद्ध भएका हुन्। एमाले जिल्ला अध्यक्ष हुँदै उनी केन्द्रीय सदस्य बनेका थिए। स्नातकसम्म अध्ययन गरेका गुरुङ २०७० मा दोलखा १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
२०४९ सालमा बाबु मकध्वज जिल्ला विकास समितिको क्षेत्रीय सदस्य हुँदा पार्वत सामान्य राजनीतिक कार्यकर्ता भनेर गाउँमा चिनिन्थे।
कम्युनिस्ट राजनीतिमै सक्रिय मानिने उनका बाबु पञ्चायतकालमा प्रधानपञ्च बनेका थिए। पछि एमालेबाट जिविसको सदस्य बनेपछि पार्वत बाबुसँगै राजनीतिमा देखिन थाले।