नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसाल राजनीतिक विश्लेषक र मार्क्सवादी चिन्तकका रूपमा परिचित छन्।
सार्वजनिक कार्यक्रमहरूमा भुसाल वर्तमान समाजको मूल समस्या नै दलाल पुँजीवाद भएको निष्कर्ष सुनाउँछन्।
अर्थ राजनीतिमा चासो राख्ने भुसालले दुई पुस्तक पनि लेखेका छन्- 'नेपालको अर्थ राजनीति' र 'मार्क्सवाद र आजको क्रान्ति'।
उनै भुसाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्।
बिहीबार मन्त्री पदको सपथ लिएलगत्तै सिंहदरबारस्थित कृषि मन्त्रालय पुगेका भुसालले त्यहाँ पनि दलाल पुँजीवादको व्याख्या सुनाए। तर यसपटक भुसाललाई दलाल पुँजीवादको व्याख्यामात्र गर्ने छुट हुने छैन। मन्त्रीका रूपमा उनले समस्याको समाधान खोज्नुपर्नेछ।
मन्त्रालयमा कर्मचारीसँग भुसालले आफूले दलाल पुँजीवादी अर्थ प्रणालीमा 'ब्रेक' लगाउने प्रयास गर्ने बताए।
'उत्पादन नबढाउने, रोजगारी नबढाउने तर रेन्ट (भाडा) खाएर बस्ने अर्थतन्त्रले हाम्रा जस्ता मुलुक थलिएका हुन्', भुसालले भने, 'त्यो कुत खाने समाजको प्रबुद्ध भनिएको तप्कालाई त्यसबाट मुक्त नगरेसम्म विकास हुँदैन भन्ने मलाई लाग्छ। राजनीतिक अर्थशास्त्रमा दलाल पुँजीवाद भनेको त्यही कुत खाने वर्ग हो।’
कुत खाने अर्थ प्रणालीलाई ‘ब्रेक’ लगाउने अठोट गरेका भुसालको मुख्य जिम्मेवारी भने थलिएको कृषि क्षेत्रमा क्रान्तिको हो- उत्पादन र उत्पादकत्व बढाउने क्रान्तिको!
'कृषिमा रहेको गुजारा श्रमलाई मुक्त नगर्ने हो भने विकासको जतिसुकै कुरा गरे पनि अर्थ छैन। मैले भन्दै आएको, बोल्दै आएको, लेख्दै आएको कुरा हो। यो मेरो पूर्वाग्रहको तहसम्म छ', भुसालले मन्त्रालयमा भने, 'परम्परागत कृषिमा अल्झेको गुजारा श्रमलाई उन्मुलन नगरेसम्म केही हुँदैन। तर मैले मन्त्रालयको राजनीतिक नेतृत्वका हिसाबले कति गर्न सक्छु, सक्दिनँ पछि हेरौंला।’
उनले प्रधानमन्त्रीसँग आफूले कृषि मन्त्रालय नै रोजेको पनि खुलाए।
उनले इमान्दारीसाथ नडराई काम गर्ने बताए। उनले भने, ‘ म ठान्छु ममा लोभ र डर छैन।’
उनले आफ्नो जोड सुशासनमा पनि रहने बताए।
भुसालले भने, 'सुशासन कायम गर्दागर्दै पनि आर्थिक वृद्धि भएन भने अर्को बाटो अपनाउन सक्छौं। हामी सुशासित भयौं भने गल्ती गरेर धेरै गुमाउँदैनौं। तर गल्ती गरिरहने प्रणालीमा फस्यौं भने समस्या हुन्छ।’
उनले सुशासन कायम राख्न आफूले कुनै पनि व्यक्तिमाथि राजनीतिक कारणले सरूवा बढुवाको हस्तक्षेप नगर्ने बताए।
उनले आफू खुला व्यक्ति भएको उल्लेख गरे।
'मेरो ड्युटी म गर्छु। मेरो अपेक्षा तपाईंहरूले आफ्नो ड्युटी गर्नुहोस्। मेरो विषयमा प्रश्न उठ्यो भने मलाई भन्नु भए हुन्छ। म खुला व्यक्ति छु', भुसालले भने, 'म हरेक कुरा सुन्न तयार छु।’
भुसाललाई ब्रिफिङ गर्ने क्रममा कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले नेपालको कृषि सुधारको बाटोमा रहेको उल्लेख गरे।
उनले नेपालमा अहिले एक व्यक्तिले दुई वटा बराबर अण्डा खाए पनि पुग्ने उत्पादन भैरहेको बताए।
मासु र फलफूलमा आत्मनिर्भर भएको उल्लेख गरे।
तर तीस अर्बको चामल आयातले मन्त्रालयको साखमा प्रश्न उठेको ब्रिफिङ गरे।
'खल्ती तातो छ भने मोटो खस्रो खाउ भन्न सकिएन', जिसीले भने, 'पापी जिब्रोलाई मसिनो र बास्नादार चामल खाने बानी परेकाले चामल आयात भइरहेको छ।’
उनले मन्त्री भुसाललाई कृषि क्षेत्रको विकास झट्ट देखिने खालको नहुने भन्दै सचेत गराए।
'कृषिमा बिजुली बत्ती बालेजस्तो, सडक खनेजस्तो देखिँदैन', जिसीले भने,‘ कृषिको बजारका लागि सडक आवश्यक हुन्छ। सिँचाइ नभइकन उत्पादन हुँदैन। भण्डारणका लागि ऊर्जा चाहिन्छ। अन्य मन्त्रालयका कामसँग यसको विकास जोडिएको छ।’
प्रधानमन्त्रीले मन्त्रालयबाट प्रत्येक दुई महिनामा रिपोर्ट माग्ने गरेको तर प्रदेश र स्थानीय तहसँग समन्वय र सूचना संकलनमा समस्या रहेकाले रिपोर्टिङमा चुनौती रहेको उनले बताए।
'सूचना अभावमा हामीलाई कति मल र बिऊ आवश्यक छ भन्ने रिपोर्ट समेत तयार गर्न समस्या भएको छ', जिसीले भने, 'स्ट्रक्चर मिलाउन समस्या भएको छ। संघीय निजामती ऐन नबनेका कारण प्रदेशबाट कतिपय कर्मचारी रिटायर्ड हुँदा समेत राख्न सकिएको छैन। गाउँपालिका गएका अधिकृत स्तरका कर्मचारीलाई बस्ने कुर्सी दिएको छैन।’
सचिव जिसीले कूल बजेको केबल २.५ प्रतिशत मात्र बजेट कृषिमा रहेको उल्लेख गरे।
विकसित मुलुकमा ८ देखि १० प्रतिशतसम्म बजेट कृषिमा हुने उनले बताए।
'अहिले मन्त्रालयको जम्मा बजेट २८ अर्ब रुपैयाँ छ। त्यसमध्ये २५ अर्ब रुपैयाँ चालू बजेट छ भने कृषिमा विकासका काम गर्न २ अर्ब ८७ करोड रुपैयाँमात्र पुँजीगत बजेट छ।’
कृषि सचिवले अर्थतन्त्रमा कृषि क्षेत्रको ठूलो योगदान रहे पनि राज्यले यो क्षेत्रमा खर्च भने कम गर्ने गरेको गुनासो गरे।
‘नेपालको जिडिपीको २७ देखि २८ प्रतिशत धान उत्पादनले धानेको छ। जब पानी पर्छ अर्थतन्त्र बलियो हुन्छ। तर बजेट २ दशमलव ५ प्रतिशत मात्र छ', जिसीले भने, 'कमाउने छोरालाई त माया गर्नुपर्छ भनेर हामीले प्रधानमन्त्रीलाई भन्दै आएका छौं।’
जिसीले छोराको कुरा गर्ने बित्तिकै नवनियुक्त मन्त्री भुसालले हस्तक्षेप गरे।
'छोरीको पनि कुरा गर्नुपर्छ', भुसालले सुझाए।
लगत्तै जिसीले सच्याउँदै भने, 'छोरा छोरीलाई नै हो।’
सचिवका कुरा सुनिसकेपछि मन्त्री भुसालले मन्त्रालयमा कुनै समस्या भए त्योसँग आफू जुध्ने र प्रधानमन्त्रीलाई समस्या समाधान गर्न कन्भिन्स गर्ने बताए।
‘प्रधानमन्त्रीले शासकीय हिसाबले सबभन्दा प्राथमिकताको क्षेत्र कृषि हो भन्नु भएको छ। मैले पनि त्यसैगरी बुझैको छु', भुसालले भने।
२०६७ सालमा बिनाविभागीय मन्त्री भने पनि झण्डै ४० वर्षे राजनीतिक जीवनमा उनी पहिलो पटक कुनै मन्त्रालय सम्हाल्दै छन्।
विद्यार्थी राजनीति हुँदै २०६५ सालमा तत्कालीन एमालेको केन्द्रीय सदस्य बनेका भुसाल नेकपा बन्नुअघि तत्कालीन एमालेको उपमहासचिव थिए।
मार्क्सवादी अध्ययन केन्द्र खोलेर प्रशिक्षणमा व्यस्त हुने गरेका भुसाल नेतृत्वको मीठो शैलीमा आलोचना गर्छन्।
आलोचनात्मक चेत भएका यी मार्क्सवादी चिन्तक नेतालाई यसपटक आफूसँग काम गर्ने दक्षता र क्षमता पनि छ भन्ने देखाउनु पर्ने चुनौती छ।
त्यो पनि सानो काम हैन- परम्परागत कृषि क्षेत्रमा परिवर्तन ल्याउनु पर्ने, एक किसिमको क्रान्ति नै ल्याउनुपर्ने चुनौती छ।
के यी मार्क्सवादी चिन्तकले कृषिमा कम्तीमा पनि क्रान्तिकारी सुधार गरेर आफूमा चिन्तन र व्यवस्थापकीय क्षमताको बलियो समिश्रण रहेको प्रमाणित गर्नेछन्? प्रधानमन्त्री ओलीले सुरू गरेको कडा कार्यसम्पादन मूल्यांकनमा उनी पास हुनेछन्?