स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेश आफ्नो र संघीय सरकारको पहिलो प्राथमिकतामा रहने बताएका छन्।
शनिबार गृह जिल्ला सुर्खेत आइपुगेका मन्त्री रावतले पत्रकारहरूसँग कुरा गर्दै विकास र समृद्धिका लागि कर्णाली पहिलो प्राथमिकतामा पर्ने बताए।
उनले प्राकृतिक रूपमा कर्णाली सम्पन्न भए पनि विकासका दृष्टिकोणबाट पछि परेकोले यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
‘हाम्रो पहिला निर्णयमा कर्णालीको अस्पताल समावेश गरेका छौं,’ मन्त्री रावतले भने, ‘अब पनि हाम्रो पहिलो प्राथमिकता कर्णाली नै रहन्छ।’
संघीयताअघि र संघीयतापछि पनि सुर्खेत केन्द्रको रूपमा हुँदा समेत यहाँको विकास हुन नसकेको मन्त्री रावतले बताए।
आफूले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने क्रममा कर्णालीको विकासका बारेमा बारम्बार कुरा उठाउने गरेको बताउँदै उनले अबका दिनमा पनि यो क्रम निरन्तर चल्ने आश्वासन दिए।
कर्णाली प्रदेशको जलस्रोत, जडीबुटी जस्ता कुरामा लगानी गर्न सकेमा अबको १० वर्षभित्रमा कर्णाली सम्पन्न हुने दाबी मन्त्री रावतले गरेका छन्।
‘जलस्रोत जडीबुटीका हिसाबले कर्णाली सम्पन्न प्रदेश हुँदाहुँदै पनि विकासका हिसाबले सम्पन्न छैन,’ उनले भने, ‘यहाँ भएको जलस्रोत, जडिबुटी, पर्यटन उद्योग जस्ता कुरामा लगानी गर्न सकिए १० वर्षभित्र कर्णाली समृद्ध बन्छ।’
राज्यमन्त्री रावतले स्वास्थ्यका क्षेत्रमा देशभर समस्या भएको बताउँदै यसको समाधानका लागि मन्त्रालय निरन्तर लाग्ने प्रतिबद्धता समेत जनाए।
कर्णाली प्रदेश अस्पताललाई व्यवस्थित गरेर मेडिकल कलेजका रूपमा विस्तार गर्न सकिने भन्दै उनले यसका लागि मन्त्रालयको सहयोग रहने बताए।
स्वास्थ्य संस्थामा पाइने निःशुल्क औषधि अझ पनि नपाइने भएकाले यसमा सुधारका लागि स्थानीय तहले अनुगमनको पाटोलाई बलियो बनाउन मन्त्री रावतले आग्रह गरेका छन्।
उनले मदन भण्डारी राजमार्ग, कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत लाइन, कोहलपुर–सुर्खेत सडक खण्ड विस्तारको कार्य छिट्टै हुने बताएका छन्।
सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गरिरहेको रावतले मन्त्रीमण्डल फेरबदल गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन्।
मन्त्री बनेपछि उनी पहिलोपटक गृह जिल्ला सुर्खेत आएका हुन्।