चार दिनदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तता बढेको छ। मंसिर १४ मा हुने उपनिर्वाचनमा आफ्ना प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका उम्मेदवार लागि भोट माग्न उनी जिल्ला धाइरहेका छन्। शनिबार पोखरा गएका देउवा आइतबार बाग्लुङ गए।
सोमबार दाङ पुगेर चुनावी सभालाई सम्बोधन गरेका उनी मंगलबार केन्द्रीय सदस्य गगन थापालाई छेउकाे सिटमा राखेर धरानतर्फ उडेका छन्। धरान उपमहानगरपालिकामा पनि मेयरको चुनाव हुँदैछ।
देउवा चुनावी सभामा सहभागी मात्र हुँदैनन्, लामो भाषण पनि गर्छन्। प्राय: २/३ मिनेटभन्दा बढी भाषण नगर्ने देउवाले यसपालिका सबै सम्बोधनमा औसतमा १० मिनेट समय खर्चिएका छन्।
नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि यो विषय अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा छ। देउवाले सोही विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनाको माध्यम बनाएका छन्।
गत शनिबार पोखरामा देउवाले भने, ‘भारतले ओलीसँग सल्लाह गरेरै नक्सा जारी गरेको हो।’
चार पटक प्रधानमन्त्री भएका देउवाले ‘गैरजिम्मेवार’ अभिव्यक्ति दिएको भन्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरूले आलोचना गरे।
सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ठूल्ठूलो ढाडे बनेर कुर्लने? भनेर जवाफ नै दिए।
अर्को दिन बाग्लुङ पुगेर देउवाले भने- कम्युनिष्ट नेताहरूको राष्ट्रवाद कालापानीमा पुगेर बिलय भएको छ।
मंगलबार दाङ पुगेका देउवाले प्रधानमन्त्री ओली राष्ट्रवादी नभएको बताए।
ओलीले दुई वर्षअघि राष्ट्रवादको नारा लगाएर भोट मागेको तर अहिले सीमा विवाद मिलाउन ठोस पहल नगरेको देउवाको आरोप छ।
‘ओली राष्ट्रवादी होइनन्, कालापानीमा उनको राष्ट्रवाद लम्पसारवादी भइराखेको छ,’ चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने।
चुनावी सभामा देउवाले उठाउने अर्को विषय हो- विकास निर्माण।
‘विकास निर्माणका हाम्रो सरकारले नै अघि बढाएको हो। ओलीले त उद्घाटन मात्रै गर्छन्,’ दाङमा देउवाले भने।
देउवा दिनहुँ प्रधानमन्त्री ओलीमाथि खनिएपछि नेकपा नेता/कार्यकर्तामात्र होइन अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रतिक्रिया जनाउन थालेका छन्।
सोमबार चितवन पुगेका प्रचण्डले राष्ट्रियताको मुद्दालाई चुनावी एजेन्डा नबनाउन देउवालाई आग्रह गरेका थिए।
‘देउवाजीजस्ता साथीहरू झुठो कुरा नगरौं, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकताजस्ता कुरा चुनावी एजेन्डा होइनन्,’ भरतपुर वडा नम्बर १६ मा चुनावी सभामा प्रचण्डले भने।
प्रचण्डले अतिक्रमित भूमि फिर्ता ल्याउन कुटनीतिक तवरबाट पहल भइराखेको पनि उल्लेख गर्दै थपे, ‘हाम्रो एक इन्च भूमि पनि दिँदैनौं, भारतको पनि चाहिएन।’ उनले सुगौधी सन्धिको धारा ५ मा कालीनदीभन्दा पूर्वतर्फ नेपाल भन्ने प्रष्ट लेखिएकोले विवाद गरिराख्नुको अर्थ नहुने बताए।
देउवाको अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीको प्रतिक्रिया आक्रोशपूर्ण छ। सोमबार राति कान्तिपुर टिभीको फायरसाइड कार्यक्रममा प्रसारण भएको अन्तर्वार्ता दिँदै ओलीले अहिले सीमा मिचिएको हो र भन्ने प्रश्न गरे।
‘अहिले कालापानीमा भारतीय फौज बसेको हो र? अहिले नेपालको सीमा मिचिएको हो र? अहिले म प्रधानमन्त्री हुँ त्यसकारण मलाई ब्लेम गर्ने विषय अथवा मसँगको भनाभनको, जुहारीको वा मलाई होच्याउने विषय हो र? यो राष्ट्रको भूमि सम्बन्धी गम्भीर बिषय हो,’ प्रधानमन्त्रीले देउवालाई लक्षित गर्दै भने, ‘यो गम्भीर बिषय हो भने गम्भीर्यताका साथ नेताहरूले बोल्ने गर्नुपर्छ। शेरबहादुरजी अथवा बाबुराम भट्टराईजी उहाँहरूले जसरी बोल्दै हुनुहुन्छ नि, अलिकति म आग्रह गर्न चाहन्छु तौलका साथ बोल्नु बाञ्छनिय हुन्छ।’
भट्टराईले पनि समाजवादी पार्टीको पोखरामा चुनावी सभामा बोल्दै प्रधानमन्त्री ओलीले सीमा विवाद हल गर्न पहल गर्न नसकेको उल्लेख गरेका थिए। ‘प्रधानमन्त्रीले बाहिर तीघ्रा ठटाउँदै राष्ट्रियताको दंगा पिट्ने, भित्र आन्तरिक रूपमा लत्रने?,’ भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।