धार्मिक ग्रन्थमा उल्लेख गरिएजस्तै भेषभूषा र ठाँटमा मञ्चमा उक्लिए एक हुल कलाकार। उनीहरूको बीचमा थिए, घाँटीमा सर्पको माला लगाएको, टाउकोमा गुजुल्टो पारी छोडिएको कपाल र खरानी धसेका पोष्टरमा देखिएजस्तै हिन्दु धर्मका शीर्ष देवता शिवजी।
बाघको छालाजस्तो देखिने कपडाले आङ छोपेका उनले शरीरमा रुद्राक्षको माला र हातमा डमरु पनि छुटाएका थिएनन्। धार्मिक मठमन्दिर वा पूजा कोठामा टाँसिएजस्तै देखिने गरी शिवजीको दाहिनेतर्फ पार्वती, देब्रेतर्फ भगवान कृष्णलगायत पनि साथै थिए।
मञ्चमा उक्लिएपछि एउटा समूह भजन गाउन र बजाउन सुरू गर्यो।
‘हरि!’
‘श्री गणेशाय नमः, सबै मिली गरौँ भजन।’
गायन टोलीले भजन गाउँदै गए। देवी–देवताको भेषमा मञ्चमा प्रकट भएका टोली नाच्न थाले। यो दृश्य कुनै पूजा–आजा वा महायज्ञलाई बिर्साउने खालका थिए।
तर, यहाँ कुनै महायज्ञ वा पूजा नभई चुनावी सभा चलिरहेको थियो। पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा नेकपाले क्षेत्रीयस्तरको चुनावी सभा आयोजना गरेको थियो।
सो सभामा पोखरा-१७ छोरेपाठनको बालन कला एवम् साँस्कृतिक प्रतिष्ठान नेपालले चुनावीसभामा जुलुससहित मञ्चमा ‘कृष्ण झलक’ भनेर यस्तो नृत्य प्रस्तुत गरेको थियो।
धर्मलाई ‘अफिमको नशा मान्ने’ कम्युनिष्ट पार्टीको आमसभामा धार्मिक भजन र नृत्य प्रस्तुत भइरहँदा केही दर्शक भने धार्मिक कार्यक्रममाझैं नाचेका थिए।
यो झलक प्रस्तुत हुनुपूर्व कास्की-२ का नेकपा उम्मेदवार विद्या भट्टराईले सम्वोधन गरेकी थिइन्। हेलिकप्टर दुर्घटनाबाट निधन भएका उनका श्रीमान्, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली सभा पनि यहीँ भएको थियो।
स्वर्गीय रविन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिएपछि पहिलोपटक फेरि यो मञ्चमा उभिँदा विद्याको गला अवरुद्ध भएको थियो। रुन्चे स्वरमा उनले विगतका प्रतिवद्धता पूरा गर्ने र रविन्द्र अधिकारीले छाडेका अधुरा योजना पूरा गर्न आफू चुनावमा होमिएको बताइन्।
यतिबेलासम्म नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ भाषण गरेर धरान हिँडिसकेका थिए।
अन्तिममा बोल्ने पालो थियो- नेकपा सचिवालय सदस्य बामदेव गौतमको।
स्वर्गीय अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिएर काठमाडौं फर्कंदा गौतमले आफूलाई यस निर्वाचन क्षेत्रमा लड्न आउन चाहेको भनेर केही अनलाइनले ‘कुत्सित मनसाय’ राखेर समाचार लेखेको आरोप लगाए।
उनले अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले समेत आफूलाई यो क्षेत्रमा चुनाव लड्न जानैपर्छ भनेको स्मरण गर्दै भने, ‘म विद्यालाई राजनीतिमा तान्न चाहन्थें, उहाँसहित परिवारसँग मैले नै कुरा गरेर हुन्छ भनेपछि नै हामीले उहाँले उम्मेदवारको निर्णय गरेका हौं।’
गौतमले आफूलाई यस क्षेत्रको चुनावी कमाण्डर बनिदिन प्रधानमन्त्री ओलीले आग्रह गरेको समेत सुनाए। ‘मलाई प्रधानमन्त्रीले चुनावी कमाण्डर भएर जानुस् भन्नुभएको थियो। म यसका लागि उपयुक्त थिइनँ,’ गौतमले भने, ‘म सोझो छु, हक्की छु, सत्य मात्र बोल्छु, जे बोल्छु त्यो पूरा गरेरै छाड्छु, तर म त्यसका लागि योग्य व्यक्ति होइनँ।’
प्रधानमन्त्रीले कर गरेर ‘तपाईं सबै काम गर्न सक्नुहुन्छ जानुस् भनेर कर गरेको भन्दै’ उनले प्रश्न गरे, ‘सबै कुरा गर्न सकेको भए म गत निर्वाचनमा हार्थें?’
गौतमले आफू जीवनमा छ पटक चुनाव लड्दा तीन पटक हारेको अनुभव सुनाए। निर्वाचन कमाण्डर हुँदा अनेक जालझेल र तिक्डम गर्नुपर्ने भएकाले आफूले त्यसो गर्न नसक्ने उनले दाबी गरे।
गौतमले राजा फाल्छु भनेर कम्युनिष्ट पार्टीमा लाग्दा बुवाले नपत्याएको प्रसंग पनि उप्काए। ‘मलाई बुवाले भन्नुभयो, हेर, राजा फाल्छु भन्छ, कस्ता-कस्ता नेता, बिपीले केही गर्न सकेनन् राजालाई, यो फिस्टोले कसरी फाल्छ?’
‘मैले बुवालाई भनें- हेर्दै जानुस्, यही फिस्टोले राजा फाल्छ।’
नेता गौतमले परिवारका सबै सदस्य कांग्रेस हुँदा आफू एक्लै कम्युनिस्ट बनेको पनि बताए। ‘मेरो परिवार सबै कांग्रेस छन्, बा पनि कांग्रेस आमा पनि कांग्रेस भएको घरभित्र म एउटा कम्युनिस्ट बनेर लागेको हुँ, कसरी कम्युनिस्ट भएँ त्यो थाहा छैन,’ उनले भने।
अहिले आफ्नो परिवार भने सबै कम्युनिस्ट रहेको उनले बताए।
प्रधानमन्त्रीले चुनावी कमाण्डर बन्ने प्रस्ताव गर्दा उनले अर्को प्रसंग कोट्याए। ‘मैले रुने गरी, हाँस्ने गरी, गम्भीर हुने भाषण गर्न जानेको छु, नाच्न र गाउन पनि जानेको छु, त्यसका लागि पठाउनुस्। तर, यो तीकडमका लागि मलाई नपठाउनुस्,’ गौतमले भने।
चुनावीसभामा कृष्ण झलक हेरेर मन्तव्य राख्न थालेका गौतमले आफ्नैबारे भने, ‘साँच्चिकै म सन्त हुनुपर्ने मान्छे कसरी राजनीतिमा आएँ? अरु पार्टीमा पनि जान सक्थें, कसरी कम्युनिस्ट भएँ त्यो पनि थाहा छैन।’