प्रतिनिधिसभा सदस्यका लागि शनिबार कास्की -२ मा मतदान शुरु भइरहँदा तीन ठाउँमा बम बिष्फोट भएको छ।
पोखरा ९ नयाँबजारस्थित नवप्रभात मावि मतदान केन्द्रभित्रै बम बिष्फोट भएको हो। बिष्फोट हुँदा केही बेर मतदान रोकिए पनि अहिले सुरू भइसकेको छ।
पोखरा १६ अर्मला र वडा नं. ३३ को सरस्वती मावि मतदान केन्द्र नजिकै बम विष्फोट भएको प्रहरीले जनाएको छ।
बम विष्फोट भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
बम बिष्फोट भएको स्थानमा पनि अहिले भने मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ। मतदान केन्द्रमा मतदाताको भीड बढ्ने क्रम बढेको छ।
विहान ७ बजेदेखि शुरु भएको मतदान हुने क्षेत्रभरी सवारी साधन आवत– जावतमा रोक लगाइएको छ । पोखरा महानगरको ११ वटा वडा कास्की २ मा पर्छ।
यो क्षेत्रका ७१ हजार ८ सय ७१ जना मतदाता छन्।
पोखरा महानगरको ११ वटा वडा रहेको यो क्षेत्रबाट ११ वटा दलीय उम्मेदवार र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
जसमा नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी, विवेकशील नेपाली दलबाट जमुना शर्मा उम्मेदवार छन् ।
विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता नभएका कारण उम्मेदवार शर्माले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । अन्य उम्मेदवारहरुमा नेकपा (माले) बाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बिपी)बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ उम्मेदवार छन् ।
स्वतन्त्रबाट उमानाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला तथा सुनील भुसाल चुनावी मैदानमा छन् ।
साँझ ५ बजे मतदान सकिए लगत्तै मतपेटिका जिल्ला समन्वय समितिको कार्यालय पोखरा ल्याउने र राति ८ बजे सर्वदलीय बैठक बसेर मतगणना थाल्ने निर्वाचन कार्यालयको तयारी छ।