पोखरा महानगरपालिका वडा नं. २० मौजामा सडक खन्ने क्रममा ढिस्कोले पुरिएर ५ जना मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा चोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जितबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकी रहेका छन्। उनीहरु पाँचै जना सल्यानबाट काम गर्न पोखरा आएका थिए।
सडकको नाली बनाउन ढिस्को काट्दै गर्दा उनीहरु ढिस्कोले पुरिएको एसपी कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए। ‘सडकको रिटेनिङ वाल काट्दै गर्दा अचानक ढिस्को खसेछ उनले भने, सेकेण्डभरमै ५ जना पुरिएछन्।’ उनका अनुसार २ जना भने भागेर बाँच्न सफल भएका छन्।