उपनिर्वाचनका क्रममा कास्की-२ को क्षेत्रीय सभामा नेकपा नेता बामदेव गौतमले भनेका थिए, ‘मैले विद्यालाई राजनीतिमा ल्याउन चाहन्थें, उहाँसहित परिवारसँग मैले नै कुरा गरेर विद्यालाई पार्टीले उम्मेदवार बनाएको हो।’
विद्याको जीवनमा बामदेव गौतम निर्वाचनमा उम्मेदवार बनाउनमा मात्र सीमित छैनन्। राजनीतिक पृष्ठभूमिको परिवारमा जन्मिएकी विद्या कलिलैदेखि राजनीति सक्रिय हुन थालेकी थिइन्। राजनीतिक उतारचढाबका बीच निरन्तर उकालो लागेकी विद्याले त्यतिबेला सक्रिय राजनीतिबाट विश्राम लिइन्, जतिबेला उनी तत्कालीन विद्यार्थी नेता रविन्द्र अधिकारीसँग विवाह गर्न पुगिन्।
पार्टीको भ्रातृसंस्था अनेरास्ववियुको केन्द्रीय सचिव, महिला संघ र पार्टी राजनीतिमा राम्रैसँग भिजेकी विद्याको जीवन २६ असार २०५६ बाट मोडियो। उनै नेता बामदेव गौतमको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवाह दर्ता गरेकी विद्या सक्रिय राजनीति छाड्ने र प्राज्ञिक कर्ममा लाग्ने निर्णयमा पुगिन्। उनले जीवनमा लिएको यो मोडलाई रविन्द्र अधिकारीलाई राजनीतिमा अघि बढाउन लिएको बताउँदै आएकी थिइन्।
उनका श्रीमान् रविन्द्र अधिकारी पर्यटन, संकृति तथा नागरिक उड्ययन मन्त्री १५ फागुन २०७५ मा ताप्लेजुङमा निधन भएपछि परिस्थितिले उनलाई फेरि राजनीतिको बाटोमा अघि बढायो।
सक्रिय राजनीतिबाट प्राज्ञिक क्षेत्रमा मोडिएकी विद्यालाई यही दुर्घटनाले फेरि राजनीतिको बाँङ्गो-टिङ्गो रेखामा पुनर्जन्म गराइदिएको छ। १४ मंसिरमा भएको उपनिर्वाचनमा विजयी भएसँगै उनको जिम्मेवार त बढेको छ नै, मतदातासँग गरेका प्रतिवद्धता पूरा गर्ने अवसर र चुनौती थपिएका छन्।
२९ कात्तिक २०२९ मा काठमाडौंमा जन्मिएकी विद्या १२ वर्षको कलिलो उमेरमै अनेरास्ववियुमा आवद्ध भइन्।
सानै उमेरमा सक्रिय राजनीतिक कार्यक्रम र आन्दोलनमा सहभागी भएकी विद्या २०४२ सालमा काठमाडौंमा-७ स्थित पशुपति मित्र मा.वि. चावहिलमा अध्ययनरत् रहँदा अनेरास्ववियुले आयोजना गरेको सरसफाइ कार्यक्रमदेखि हाजिरीजवाफ, वक्तृत्वकला र वृक्षरोपणलगायत कार्यक्रममा सहभागी हुन्थिन्।
जब २०४५ सालमा भारतले नाकाबन्दी लगायो, यसका विरुद्ध अनेरास्ववियुले आयोजना गरेको आन्दोलनका कार्यक्रमहरूमा सहभागी हुन थालिन्। विभिन्न विद्यालय पुगेर विद्यार्थीलाई संगठित गर्न थालिन्। त्यसपछि उनी २०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आवद्ध भएर सक्रियता बढाइन्।
२०४७ सालमै अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उनले काठमाडौंका विभिन्न ठाउँमा महिलालाई संगठित गरिन्। त्यही बेला जनसांस्कृतिक परिवारको सदस्य हुँदै नेकपा (एमाले)को संगठित सदस्य बनिन्।
२०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघारौं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित विद्या २०४८ मा १८ वर्षकै उमेरमा नेकपा (एमाले) वडा कमिटी सदस्य बनिन्। २०४९ मा पद्मकन्या क्याम्पस स्ववियुमा सभापतिमा उम्मेदवारी दिएकी उनी २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुख भइन्।
महिला र विद्यार्थी संगठनमा सक्रिय रहँदाकै अवस्थामा उनी २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बनिन्। त्यतिबेला अनेरास्ववियुको अध्यक्ष अहिलेका पर्यटनमन्त्री योगेश भट्टराई थिए। २०५६ मा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य र कार्यालय सचिव बनेकी थिइन्।
यसरी निरन्तर राजनीतिक यात्रामा उकालो लागेकी विद्याको राजनीतिक यात्रा मोडियो। तत्कालीन विद्यार्थी नेता रविन्द्र अधिकारीसँग २६ असार २०५६ मा विवाह भएपछि उनी २०५७ सालमा पार्टीनिकट बुद्धिजीवी परिषदको सदस्य बनिन्। यसपछि उनी पार्टी र संगठनका सक्रिय कामबाट पछाडि हटिन्।
विवाह गरेर पोखरा झरेकी विद्या २०५८ मा पृथ्वीनारायण क्याम्पस, पोखराबाट प्राध्यापन गर्न थालिन्। २०५९ सालदेखि आंशिक शिक्षकका रुपमा प्राध्यापनमा अघि बढेकी उनी अब भने राजनीतिक भन्दा प्राज्ञिक कर्ममा देखिन थालिन्।
प्राध्यापनका क्रममा विभिन्न अध्ययन र अनुसन्धानका कामहरूमा सहभागी भएर उनले महिलाविरुद्ध हुने घरेलु हिंसा, सुरक्षित मातृत्व, महिला नेतृत्व र विकास, महिशलासँग सम्बन्धित अन्तर्राष्ट्रिय महासन्धि र नेपालको अवस्थाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यशालाहरूमा कार्यपत्र पेश गर्न थालिन्।
प्राज्ञिक कर्ममा पोख्त हुँदै गएकी विद्याले प्राध्यापन पेशामै रहँदा २०६२/०६३ को जनआन्दोलनमा सहभागिता जनाइन्। उनी २०६४ मा तत्कालिन नेकपा (एमाले)को संघीय मामला विभाग सदस्य भएर काम गरिन्।
प्राज्ञिक कर्मकै क्रममा २०६२ देखि २०६४ सम्म उच्च शिक्षा पाठ्यक्रम निर्माण समितिको सदस्य तथा २०६६ मा नेकपा (एमाले) प्राध्यापक इलाका कमिटीमा सामुदायिक क्याम्पसका तर्फबाट प्रतिनिधित्व गर्दै उनी उपाध्यक्ष भएकी थिइन्।
२०६७ देखि २०७० सम्म सार्कस्तरीय महिला सञ्जालमा वकालत गर्ने सामाजिक संस्था ‘बियोण्ड बेइजिङ कमिटी’मा कार्यक्रम संयोजकको रुपमा रहेकी उले २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गरिन्। त्यसपछि त्रिविको खुल्ला सेवा आयोग परीक्षा पास गरेर स्थायी उप–प्राध्यापक पदमा उत्तीर्ण भइन्।
उपनिर्वाचनमा नेकपाले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गर्न भनेको थियो। तर, नेकपा कास्कीले भने उनै विद्या भट्टराईको मात्र नाम सिफारिस गरेको थियो। यतिबेलासम्म उम्मेदवार बन्ने निर्णय नगरेकी विद्याले जहिल्यै ‘पार्टीले गर्ने निर्णय मान्छु’ भन्दै आएकी थिइन्।
किशोरावस्थादेखि राजनीतिमा होमिएकी विद्या राजनीतिबाट केही समय बाहिर रहेर पुनः राजनीतिमा फर्किएकी छिन्।
निर्वाचन जितेसँगै उनले चुनावी अभियानमा जनाएका प्रतिवद्धता पूरा गर्ने अठोट गरेकी छिन्। राजनीतिका बांगो रेखामा हिँड्दा आइपर्ने चुनौतीका बारेमा राम्रै जानकार रहेकी उनी यो बाटोमा कसरी अघि बढ्छिन्, यसैले उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ।