नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले शनिबार भएको उपचुनावमा आफ्नो पार्टीले ल्याएको नतिजाबारे फरक-फरक धारणा व्यक्त गरेका छन्।
सेतोपाटीसँग सोमबार गरेको कुराकानीका क्रममा उनीहरूले फरक फरक धारणा राखेका हुन्।
शनिबार देशका ५२ ठाउँमा भएको चुनावको अन्तिम नतिजा आइसकेको छ।
शनिबार भएको उपनिर्वाचनमा नेकपाले २४ वडा, गाउँपालिकाको अध्यक्ष- ३, उपाध्यक्ष- १, प्रदेश सभासदस्य- १, प्रतिनिधिसभा सदस्य- १ गरी ३० स्थानमा जित हात पार्यो।
नेपाली कांग्रेसले भने एक प्रदेशसभा सदस्य, एक उपमहानगरको मेयरसहित १३ ठाउँमा जितेको छ।
नेकपाले यसअघिको स्थानीय चुनावमा जितेका पाँच वडा यसपालि हारेको छ। त्यस्तै, ६० वर्षदेखि पूर्व एमालेको पकड रहेको धरान उपमहानगरपालिकामा पनि हार व्यहोर्यो।
भक्तपुरको पकड क्षेत्र रहेको प्रदेशसभा २ नेकपाले गुमायो। लोकप्रिय मतमा पनि कांग्रेसले ७ प्रतिशत हाराहारी बढाउँदा नेकपाले बढाउन सकेको छैन।
चुनावी परिणामबारे सेतोपाटीले स्थायी समिति सदस्य पम्फा भुषाल, प्रचार विभागका उपप्रमुख सूर्य थापा, विदेश विभागका उपप्रमुख विष्णु रिजालसँग कुरा गरेको थियो।
स्थायी समिति सदस्य पम्फा भुषाल अहिलेको चुनावी नतिजा सन्तोषजनक भएको बताउँछिन्।
'जनताले दिने भोट बढो वस्तुवादी हुन्छ। नेकपाले उपनिर्वाचनमा ल्याएको नतिजा नराम्रो छैन। अझै राम्रो गर्ने ठाउँ थियो भन्ने चाहिँ सधैं लागिरहन्छ,' उनले सेतोपाटीसँग भनिन्,'हुन त प्राय: जनताको मनोविज्ञान सत्ता विरोधी हुन्छ त्यसैले सत्तामा हुने दलले राम्रो मत ल्याउन गाह्रो हुन्छ। अहिलेका कतिपय हारहरू तिनका परिणाम हुन्।'
उनका अनुसार, कांग्रेसले पहिले जितेका ठाउँमा अहिले नेकपाले जितेको भने पार्टी एकीकरणका कारण हो।
नेपाल कम्युनिष्ट पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले भने चुनावी परिणाम समग्रमा राम्रो भए पनि कतिपय ठाउँमा हार्नुको कारण एकीकरण तल्लो तहसम्म अन्तरघुलन हुन नसक्नु, उम्मेदवारी चयनमा ध्यान नपुग्नु लगायतका कारण देखाउँछन्। 'समग्र नतिजा हेर्ने हो भने हाम्रो पार्टीले राम्रो नतिजा ल्याएको छ,' उनले भने, 'संख्यात्मक हिसाबले धेरै वडा, गाविस अध्यक्ष र प्रदेश हामीले नै जितेका छौं। पपुलर मत पनि हाम्रो गएको चुनावमा भन्दा घटेको छैन त्यो सन्तोषजनक हो।'
अनेक समस्या हुँदाहुँदै पनि नेकपाले राम्रो मत ल्याएको उनको हिसाब छ।
'सबैतिर राम्रो हुँदाहुँदै पनि धरानमा हार्नु हाम्रो पार्टीका लागि अकल्पनीय छ,' थापाले भने, 'त्यस्तै भरतपुरमा हार्दा पनि हामीलाई आश्चर्य लागेको छ। भक्तपुरमा त जितिन्छ भन्ने पक्का थिएन। यो चुनावमा धरान हाम्रा लागि अकल्पनीय हो, भरतपुर आश्चर्यजनक र भक्तपुर कागती फलाएर सुन्तला उमार्न खोजेको कागती नै फल्यो भन्या जस्तो हो।'
नेकपाका अर्का नेता विष्णु रिजाल भने उपनिर्वाचनको नतिजा नेकपाका लागि सुखद नरहेको बताउँछन्।
जितेका ठाउँमा राम्रो भएको पनि सहानुभूतिको भोट भएको उनको ठम्याइ छ।
'नेकपाका लागि उपनिर्वाचन सुखद् रहेन। दाड र कास्कीमा भावना र सहानुभूतिले पनि काम गरेको छ,' उनले भने, 'भक्तपुर र धरान फुत्किएका छन्। एकताको संक्रमण, विभिन्न तहका सरकारहरूका काम, उम्मेदवार चयन जस्ता कारण छन्।'
उनका अनुसार उपनिर्वाचनको नतिजा वितेका २ वर्षमा नेकपाले नेतृत्व गरेको स्थानीयदेखि केन्द्र सरकारसम्मको काम गर्ने शैलीबारे जनताले दिएको प्रतिक्रिया हो। जो सुखद छैन।
थापाले भने रिजालको भन्दा फरक प्रतिक्रिया दिएका छन्। सरकारलाई जनताले अनुमोदन गरेको उनले बताए। 'उपनिर्वाचनमार्फत् नेकपाले नेतृत्व गरेका स्थानीय र प्रदेश सरकार अनि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको केन्द्र सरकारलाई जनताले अनुमोदन गरेका छन्,' उनले भने।