पार्टी तथा सामाजिक काममा रमाउने शोभा सापकोटाको व्यस्तता करिब दुई वर्षयता झनै बढेको छ। २०७४ को स्थानीय तह चुनावबाट काठमाडौं महानगरपालिका-१४ की वडाध्यक्ष चुनिएपछि उनको दैनिकी झन् व्यस्त भएको हो।
उनी महानगरका ३२ वडा मध्येबाट एक मात्रै महिला वडाध्यक्ष हुन्।
'सिंगो एकजना महिला वडाध्यक्ष छु। एक किसिमले रमाइलै भइरहेको छ,' उनले भनिन्, 'स्कुल, सहकारी लगायत संघ/संस्थामा प्रमुख अतिथिका रुपमा बोलाउनुहुन्छ। प्रायः म नै प्राथमिकतामा परेको हुन्छु।'
उनी महिला वडाध्यक्ष भएर यस्ता कार्यक्रममा जाँदा कहिलेकाहीँ सेलेब्रेटीजस्तो महशुस गर्छिन् रे।
'फोटो खिच्नेहरू धेरै हुनुहुन्छ,' उनले भनिन्, 'चिनेको-नचिनेको सबैले हजुरसँग त खिच्नुपर्छ भन्दै आउनुहुन्छ। खुसी लाग्छ।'
यो स्थानसम्म आइपुग्न उनको धेरै वर्षको लगन र मिहिनेत छ।
२०१९ सालमा पर्वतको फलेवासमा जन्मिएकी शोभा घरकी कान्छी छोरी। उनी जन्मिँदा उनका बाबु ७० वर्ष र आमा ५५ वर्षका थिए रे। सात दाजु र चार दिदीकी बहिनी उनी सबैको मायाले पुल्पुलिएकी। काम केही गर्नुपरेन। उनलाई आएन पनि।
उनका पालामा छोरीको चाँडै बिहे गरिदिने चलन थियो। १४ वर्षमै बागलुङमा बिहे भयो। बिहेपछि उनको राजनीतिक यात्राले पनि एक धार लियो।
उनी कांग्रेस पृष्ठभूमिको घरमा जन्मिएकी हुन्। उनका बाबु राजनीतिमा लागेका थिए। दाजु डिल्लीराज शर्मा पनि कांग्रेसका तर्फबाट २०५६ सालमा पर्वत-२ बाट टिकट जितेका र भूमिसुधार मन्त्रीसमेत भएका थिए।
शोभाको बिहे भने कट्टर बामपन्थी परिवारमा भयो। दुई फरक राजनीतिक पृष्ठभूमिका परिवारबीच मागी विवाह नै थियो। त्यसैले बिहे गरेर गएको घर उनका लागि नौलो मात्रै थिएन, फरक विचारधाराको ठाउँ पनि थियो।
'कांग्रेसी' घरमा जन्मेपछि उनी स्वतः कांग्रेसी भएकी थिइन्। फरक राजनीतिक परिवेशका कारण कहिलेकाहीँ श्रीमानसँग ठाकठुक पनि पर्थ्यो रे। तर विद्यार्थी जीवनमै राजनीतिमा लागेका उनका श्रीमानले बुझ्थे रे। त्यसैले दाम्पत्य जीवनमा खास प्रभाव नपरेको बताउँछिन्।
बिहेपछि उनको दैनिकी बदलिएको थियो। माइतमा केही नगरेकी उनी गाउँघरमा गर्ने सबै काम गर्न जान्ने भएकी थिइन्। सँगै राजनीतिबारे अझ दख्खल राख्ने भइन्। कम्युनिष्ट राजनीतिक प्रभाव उनलाई पनि पर्यो। आठ कक्षा पढेपछि बिहे भएको थियो। पछि पढ्ने मौका मिलेन। घरमा भएका कम्युनिष्ट किताब पढेर चित्त बुझाउँथिन्।
जति किताब पढ्दै गयो, त्यति नै उनलाई कम्युनिष्ट विचारधारा मनपर्दै गएको उनी बताउँछिन्।
'कम्युनिष्ट महिलाप्रति उदार भएको पाएँ र स्वेच्छाले पार्टी परिवर्तन गरेँ,' उनले भनिन्, 'त्यसपछि पार्टीका कार्यक्रममा सहभागी हुन थालेँ।'
उनका श्रीमान् त्यस बेला सरकारी जागिरे थिए। जागिरे जीवन, जिल्ला-जिल्ला जानुपर्थ्यो। बिहेको दुई वर्षसम्म उनी बागलुङ घर बसे पनि पछि श्रीमान जहाँ पुगे, सँगै गइन्। उनका दुई छोरा भए। सन्तानको पढाइबारे सोचेर ठाउँ परिवर्तन गरिरहनु उनीहरूलाई ठीक लागेन। २०४५ सालदेखि काठमाडौं बस्न थालिन्।
काठमाडौं आएसँगै सामाजिक काम र पार्टीको काममा लागिन्। घरको काम, बुढी सासूआमा र छोराहरूको हेरचाहसँगै पार्टीको काम गर्थिन्।शोभा आफ्नो सुरूको राजनीतिक जीवन नितान्त पार्टीका लागि भएको बताउँछिन्।
'२०५९ सालमा शाही कदमविरूद्धको आन्दोलनमा कलंकी चोकको नतृत्व लिएकी थिएँ,' उनले भनिन्।
दुई छोरा पनि पार्टीमै संगठित थिए। उनको राजनीतिक यात्रामा रोकावट भएन। शोभा ६२/६३ जनआन्दोलनको घाइते समेत हुन्। घरको साँचो ९० वर्षीया सासूलाई बुझाएर आन्दोलनमा गएको उनी बताउँछिन्।
'छोरा पनि आन्दोलनमा, आमा पनि,' उनले भनिन्, 'त्यसैले ज्यानको जोखिम भए पनि मलाई रोक्ने कोही भएनन्।'
त्यस बेला उनी पार्टीसँगै विभिन्न संघ/संस्थामा आवद्ध भइन्। महिला सहकारी खोलेर १० वर्ष त्यसको अध्यक्ष भइन्। काठमाडौं जिल्ला सहकारी संघको अहिले पनि वरिष्ठ उपाध्यक्ष छिन्। स्कुलको सञ्चालक समितिमा बसेर पनि काम गरिन्।
महिलाहरूलाई उद्यमी बनाउनेतिर लागिन्। उनीहरूलाई संगठित गर्न पनि। यसले गर्दा धेरैभन्दा धेरैसँग घुलमिल हुने मौका पाइन्। यो मौकासँगै २०७२ को भुइँचालोपछि नागरिक मञ्च गठन गरेर त्यसको संयोजकका रूपमा काम गरिन्।
'भुइँचालोका बेला घरदैलो जाने, दुःखसुखमा भाग लिने, आपत परेको समयमा कम्तिमा उहाँहरूलाई सहयोगका लागि सोध्ने काम गरेँ,' उनले भनिन्, 'सबैको मनमा छिर्न प्रयास गरेँ। त्यही भएर वडाध्यक्षको टिकट पाइसकेपछि जित्न गाह्रो भएन। उहाँहरूले मलाई बुझिसक्नुभएको थियो।'
उनी औपचारिक रूपमा भने २०५४ सालदेखि पार्टीमा लागेको बताउँछिन्। त्यसअघि भूमिगत भएको समयमा पनि पार्टीलाई आफूहरूले साथ दिँदै आएको बताइन्।
'पञ्चायती समयमा पार्टीमा देखिएर काम गर्न मिल्दैन थियो। २०४२ सालमा हामी नेपालगञ्जमा थियौं। त्यस समयमा भएको जनपक्षीय निर्वाचनका उम्मेदवारलाई पनि धेरै सहयोग गरेका थियौं,' उनले भनिन्।
यसबीच उनी सात वर्ष युवा संघको केन्द्रीय सदस्य बनिन्, ११ वर्ष १४ नम्बर वडामा पार्टीको महिला सचिवका रूपमा कार्यरत भइन्। धेरै टोल कमिटी गठन गरिन्- अखिल नेपाल महिला संघ, टोल युवा संघ, अनेरास्ववियू कमिटी, वडा कमिटी गठन गरिन्। र अहिले वडाध्यक्ष बनिन्।
पार्टीको सहयोग, जनताको विश्वास, राजनीतिक अनुभव र सक्रियताका कारण आफू वडाध्यक्ष बनेको उनी बताउँछिन्। वडाध्यक्षको काम सजिलो नभए पनि आफू महिला भएकै कारण गाह्रो पनि नलागेको उनको साढे दुई वर्षको अनुभव छ।
'देश संघीय संरचनामा गएपछि सिंहदरबार घरघर पुगेको छ। धेरै काम वडाबाट नै हुन्छ,' उनले भनिन्, 'धेरै कानुन बाझिएको छ। धेरै अधिकार दिएको छ र फेरि सबै अधिकार आइसकेको पनि छैन।'
यी खाडल पुर्न सहज नभएको उनको बुझाइ छ। यसकारण अहिलेको अवस्थामा महिला वा पुरुषलाई भन्दा पनि यसमा काम गर्ने सबैलाई गाह्रो हुने उनको भनाइ छ।
'पाँच वर्ष त सिस्टम कार्यान्वयन गर्दागर्दै बित्छ कि भन्ने म महिला भएर मात्रै होइन कि पुरुषलाई पनि लाग्छ। महिला भएकै कारण काम गर्न चाहिँ गाह्रो भएको छैन,' उनले भनिन्।
तै पनि बाधा नभएका होइनन्। आफ्नो क्षमताका कारण जिम्मेवार पदमा पुगे पनि महिलालाई हेप्ने र उनीहरूको क्षमतामाथि प्रश्न गर्ने मान्छे भेटिने उनी बताउँछिन्।
'प्रतिस्पर्धाबाट वडाध्यक्ष भएकी हुँ। तर पनि पितृसत्तात्मक चिन्तन अझै गएको छैन,' उनले प्रष्ट्याइन्, 'महिला हो अलिकति धम्काएर भए पनि पेल्न सकिन्छ कि, नहुने काम ल्यायो अनि धम्कायो भने डराएर गर्दिन्छे कि भन्नेहरू हुन्छन्। मलाई अनुभव छ। म त्यसको मजाले सामना गर्नसक्छु।'
आन्दोलन र सामाजिक काममा जहिल्यै अग्रपंक्तिमा बसेपछि निडर भएको उनले महशुस गरेकी छन्।
'म पहिला कडा थिइनँ। मरेको मान्छे देख्यो भने, एक महिना निद्रा लाग्दैनथ्यो। औषधी नै खानुपर्थ्यो,' उनले भनिन्, 'राजनीतिमा लागेपछि कुटाइ खान र मर्नै परे पनि नडराउने भएँ। भित्रैदेखि डर भाग्यो।'
आन्दोलनमा जे पनि हुन सक्थ्यो। कर्फ्यू थियो, गोली चल्थ्यो। तर आफू नडगमगाइ अगाडि बढेको अनुभव सुनाउँछिन्।
'आमा साँचो यहाँ छ, यो यहाँ छ भनेर हिँडेकी थिएँ। भाडामा बस्नेलाई म फर्केर आउँछु, आउँदिन, आमालाई खान दिनु भनेर गएकी थिएँ,' उनी सम्झिन्छिन्। यसरी हिँडेकी बुहारीलाई सासूले पनि कहिल्यै रोकिनन् रे। बरू हिम्मत र आर्शीवाद दिएर बिदा गरिन्।
आशीर्वाद लाग्यो कि लागेन, उनलाई थाहा छैन। तर सासूआमाको प्रेरणाले उनलाई यहाँसम्म पुर्याएको उनी मान्छिन्।
'मलाई आमाले कहिल्यै केही काम गर्न रोक्नुभएन। तँ गर, गर्न सक्छेस् भनेर हौसला दिनुहुन्थ्यो,' उनले भनिन्, 'मेरो आजको सफलतामा उहाँको ठूलो हात छ।'
उनकी सासूआमा बितेको पाँच वर्ष भयो। उनलाई सबभन्दा दुःख यही लाग्छ- आमाले आफू वडाध्यक्ष भएको देख्न पाउनुभएन।
'आमा ९९ वर्षमा बित्नुभयो। यति धेरै साथ र सहयोग गर्ने उहाँले म वडाध्यक्ष भएको देख्न नपाउँदा नरमाइलो लाग्छ,' भावुक हुँदै बताइन्।
राजनीतिक क्षेत्रमा पाइला टेकेदेखि नै आफू देखावटी नभएर सक्रिय भएर लागेको बताउँछिन् शोभा। महिलाहरू राजनीतिमा नलागेसम्म अधिकारका विषय नउठ्ने र नपाउने उनको बुझाइ छ।
'हाम्रा अग्रजहरू सहाना प्रधान, सहारा प्रधान, मंगलादेवी राजनीतिमा नलागेको भए आज हामीले अधिकार पाउने थियौं त? उहाँहरूले संघर्ष गर्नुभयो, बाटो देखाउनुभयो,' उनले भनिन्, 'विद्यादेवी भण्डारी राजनीतिमा नलागेको भए कहाँ राष्ट्रपति बन्नुहुन्थ्यो? ओन्सरी घर्तीमगर सभामुख कहाँ बन्नुहुन्थ्यो र?'
जुनसुकै संघसंस्थामा भए पनि महिलाहरू राजनीतिमा पनि सक्रिय हुनु पर्ने उनको सुझाव छ। जुन क्षेत्रमा महिला सहभागीता हुँदैन त्यो क्षेत्र कमजोर हुने उनी बताउँछिन्।
'महिला आमा हुन्, धर्ती हुन्। सहन क्षमता धेरै हुन्छ। एउटा घरमा त महिला तलमाथि भइन् भने घर नै तलमाथि हुन्छ,' उनले भनिन्, 'झन् देश के होला?'
महिलाहरूको राजनीतिमा चित्तबुझ्दो सहभागीता नभएको उनको ठम्याइ छ। ३२ वडामा आफैं एक मात्रै महिला वडाध्यक्ष भएकोले उनको भनाइ अझै बलियो गरी पुष्टि हुन्छ। यो संख्या कम्तिमा ३३ प्रतिशत हुनुपर्ने उनी बताउँछिन्।
'महानगरमा कम्तिमा चार/पाँच जना महिला वडाध्यक्ष भएको भए महिला विकासबारे धेरैभन्दा धेरै कुरा आउँथ्यो होला। मेरो वडामा यस्तो काम गरिरहेको छु, तपाईंकोमा के छ भनेर सल्लाह र प्रतिस्पर्धा हुन्थ्यो होला।'
'महिला भएको भए छुट्टै खालको 'एटेचमेन्ट' हुन्थ्यो होला। महिलाका मुद्दामा विचार साटासाट, भेला र बढी घुलमिल भइन्थ्यो। बल पुग्थ्यो,' उनले प्रष्टाइन्, 'यसो भन्दैमा पुरुष वडाध्यक्षसँग कुरा साटासाट नहुने होइन।'
सानैदेखि समाजसेवामा रूचि राख्ने वडाध्यक्ष शोभा राजनीतिक जीवनबाट खुसी छिन्। 'विकास हेर्न कलंकी जानु' भनेर प्रधानमन्त्रीले एक कार्यक्रममा भनेको कुराले उनलाई सकारात्मक ऊर्जा दिएको छ। वडा नम्बर-१४ लाई आफ्नो कार्यकालमै उत्कृष्ट वडा बनाउने उनको सबभन्दा ठूलो लक्ष्य हो।
शोभाले पढाइप्रतिको आफ्नो मोह पनि केही साकार गरेकी छिन्। करिब दस वर्षअघि सुटुक्क प्राइभेटबाट एसएलसी पास गरिन्। त्यसको २/३ वर्ष पछि प्रविणता तह पनि पूरा गरिन्।
'दुई छोराले इन्जिनियरिङ सकेपछि मैले एसएलसी पास गरेकी हुँ,' उनले खुसी बाँडिन्, 'पढ्ने रहर भएपछि जहिले पनि पूरा गर्न सकिने रहेछ।'
शोभाका दुवै इन्जिनियर छोरा विदेश छन्। जेठा अमेरिका र कान्छा अष्ट्रेलिया। जेठो छोराबाट हजुरआमा बनिसकेकी उनी बेलाबेला छोराबुहारीले दिने हौसलाबाट राजनीतिक क्षेत्रमा अझ अगाडि बढ्ने प्रेरणा मिल्ने बताउँछिन्।