नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल स-परिवार दर्शनका लागि ताप्लेजुङस्थित पाथीभरा मन्दिर पुगेका छन्।
कांग्रेसले आइतबार डाकेको बैठक छाडेर उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार दर्शनका लागि पाथीभरा मन्दिर पुगेका हुन्। पौडेल धनकुटा भेडेटारदेखि हेलिकप्टर चढेर पाथीभरा पुगेका थिए।
कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक डाकेको थियो। बैठक अझै सुरू भएको छैन।
नेता पौडेल विराटनगर हुँदै पाथीभरा मन्दिर दर्शन गरेर फर्किएका छन्। उनी आजै काठमाडौं आउने कार्यक्रम छ।
पाथीभरा मन्दिर दर्शन गरेको फोटो पौडेलले फेसबुकबाट सार्वजनिक गर्दै ‘सुप्रसिद्ध तीर्थधाम पाथीभरादेवीको दर्शन गर्ने अवसर प्राप्त भयो, भगवानले सबैको कल्याण गरून्’ लेखेका छन्।
पौडेल पाथीभरा गएपछि उनीपक्षका केन्द्रीय सदस्य पनि आइतबार हुने केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित नहुने भएका छन्।
महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज बैठकमा उपस्थित नहुने निर्णय गरेका हुन्।
पौडेल गत बिहीबार पनि केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका थिएनन्। १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश नगरूञ्जेल बैठकमा उपस्थित नहुने उनले अडान राखेका छन्।
पौडेल पक्षलाई सहमतिमा ल्याउन सभापति शेरबहादुर देउवा र उनी पक्षका नेताहरू लागिपरे पनि सहमति हुन सकेको छैन। देउवाले शनिबार निवासमै पुगेर पौडेललाई सहमतिमा आउन आग्रह गरेका थिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अपरान्ह ३ बजेपछि केन्द्रीय कार्यसमिति बैठक सुरू हुने सेतोपाटीलाई जानकारी दिए।