नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक ठीक एक वर्षपछि सुरू भएको छ।
गत वर्ष पनि मंसिर २९ देखि नै स्थायी कमिटीको बैठक बसेको थियो।
बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले गत वर्ष बैठक बसेको मितिमै आज पनि बैठक बस्नु संयोग नै भएको बताए।
'पार्टीको बैठक एक वर्षमा बस्नु संयोग नै हो। पार्टीको बैठक ढिलो हुनु त्रुटीपूर्ण छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य भीम रावलले भने,'उहाँले अब यो गल्तीलाई दोहोरिन नदिने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ।'
एक वर्षसम्म बैठक नबस्दा सरकारले गरेका राम्रा कामको प्राचारप्रसार हुन नसकेको तथा सरकारलाई सच्याउने ठाउँमा पनि कमी हुन गएको धारणा प्रचण्डले राखेका अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताए।
'यो बैठकसँगै अब पार्टीका नियमित बैठकहरू बस्नेछन्,'पोखरेलले भने,'पार्टीलाई व्यवस्थित गर्न र पार्टीले चलाएको सरकारलाई निर्देशित गर्न पनि सहज होला भन्ने लागेको छ।'
स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने मिति पनि तय हुने प्रचण्डले बैठकमा बताए।
बैठकको सुरूमै भीम रावल लगायतका स्थायी समिति सदस्यहरूले ठीक एक वर्षपछि मात्रै बैठक बोलाउनुको कारण मागेका थिए। 'मैले बैठकको आरम्भमै यो बैठक एक वर्ष ढिलो हुनुको कारण के हो भनेर सोधेको थिए,'रावलले भने,'के त्यस्तो असाधारण स्थिति परेर ढिलो भयो?,यो बैठक ढिलो कसको कारणले भयो त्यसको समेत समीक्षा हुनुपर्छ भनेर मैले भनेपछि उहाँले छलफलकै क्रममा यसको जवाफ आउने बताउनुभयो।'
कतिपय स्थायी समिति सदस्यहरूले एक वर्षमा बैठक बोलाइएकाले यसलाई उत्सवको रूपमा मनाउनुपर्ने धारणा राखेका थिए।
'स्ट्याण्डिङ कमिटी भनेकै जतिबेला पनि स्ट्याण्डमा बस्ने भन्ने हो। तर यहाँ त सचिवालय अनि त्यसमा पनि केन्द्रिकृत ढंगले पार्टी चलाइयो,' एक स्थायी समिति सदस्यले भने,'बैठकमा पनि नेतृत्वलाई व्यंग्य गरेर उत्सव नै मनाउनुपर्ने भनेर भनिएको हो।'
विधान अनुसार स्थायी कमिटी बैठक हरेक तीन महिनामा बस्नुपर्छ। आजको बैठकमा महासचिव विष्णु पौडेलले पार्टीको विधान संशोधन प्रस्ताव पेश गरेका छन्।
पार्टीको विधानमा उपाध्यक्ष राख्ने गरी विधान तयार पारिएको छ। यसअघि गत साउनमा सचिवालय बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको थियो। सचिवालयको प्रस्तावलाई स्थायी समिति बैठकले अनुमोदन गर्नुपर्छ।
स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली भने उपस्थित भएका थिएनन्।
स्थायी समिति बैठक बस्नुभन्दा पहिला बालुवाटारमा सचिवालय बैठक बसेको थियो।