प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी शनिबार धनुषामा भएको बम बिस्फोटनको छानबिन गर्न १२ सदस्यीय समिति गठन गरिएको छ।
प्रदेश नम्बर-२ प्रहरीले घटनाको अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीको नेतृत्वमा समिति गठन गरेको प्रदेश-२ का प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए।
कार्कीका अनुसार समितिमा प्रदेश २ को विशेष ब्युरो, बम बिस्फोटसम्बन्धी विज्ञ, अपराध अनुसन्धान दख्खल राख्ने अधिकृत संलग्न छन्। ‘टोलीले आजबाटै घटनास्थल पुगेर अनुसन्धान थालेको छ,’ कार्कीले भने।
बम बिस्फोटनको प्रमुख कारण आर्थिक लेनदेन भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
'मृतक राजेश साह औषधि व्यवसायी थिए। उनी ब्याजमा पैसा लगानी गर्थे। उनीसँग आर्थिक कारोबार गर्ने विभिन्न व्यक्तिहरूमाथि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ,' डिआइजी कार्कीले भने, ‘यो घटना विशुद्ध लेनदेनको कारणले भएको हो, यसमा आपराधिक समूहको हात छ।’
धनुषाको महेन्द्रनगरस्थित क्षीरेश्वरनाथ नगरपालिकामा भएको बिस्फोटमा शनिबार प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको मृत्यु भएको थियो। घटनामा पाँच जना घाइते भएका थिए।
प्रहरीका अनुसार राजेश साहको घरमा टाइम बम राखिएको थियो। उक्त बम राखिएको स्थानमा पुग्दा अचानक बिस्फोट भएर प्रहरी निरीक्षक दाहाल, साह र उनका छोरा अनन्त साहको मृत्यु भएको थियो।
‘घटनाको प्रकृति हेर्दा शक्तिशाली टाइम बम राखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ डिआइजी कार्कीले सेतोपाटीसँग भने।
घटनापछि शनिबार नै प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका धनुषा इन्चार्ज ललिता महरासहित तीन जनालाई पक्राउ गरिसकेको छ। बम बिस्फोटमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएका उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
व्यक्तिगत लेनदेन र रिसिइबीका कारण बम राखिएकाले उक्त घटनालाई राजनीतिसँग जोड्न नमिल्ने डिआइजी कार्कीले बताए।
मृतक घरधनी साहका परिवारका सदस्य घाइते छन्। उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। साहको कारोबारबारे जानकार आफन्त उपचारमा रहेकाले प्रहरीले राम्ररी सोधपुछ गर्न पाएको छैन। मृतक साहका बुबा भिखारी, छोरी अञ्जली, अर्का छोरा प्रकाशलगायत घाइते छन्।
पीडित परिवार र उनका आफन्तले झोलामा राखेको प्रेसर कुकर चलाउँदा बिस्फोट भएको बताए पनि यसको स्वतन्त्रण पुष्टि हुन नसकेको कार्कीले बताए। ‘बम शक्तिशाली देखिन्छ, कसैले छोएको भए शरीर नै टुक्रा-टुक्रा हुनुपर्ने खालको स्थिति देखिन्छ, त्यसकारण पहिचान गर्ने क्रममै बम बिस्फोट भएको हाम्रो अनुमान छ,’ उनले भने।
कार्कीका अनुसार यस घटनामा विप्लव समूहसहित तराईमा विगतमा आपराधिक गतिविधि गर्ने सशस्त्र समूहहरू शंकाको घेरामा छन्।
यो घटनाको अघिल्लो दिन शुक्रबार राति ११ बजे सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा पनि बम बिस्फोट भएको थियो। बम कसले राखेको हो भन्ने पत्ता लाग्न नसके पनि प्रहरीले धनगढीमाई नगरपालिका-७ का अजित पासवानलाई पक्राउ गरेको छ।
पासवान विप्लव माओवादीसँग संलग्न भएको अनुमान छ। ‘बम बिस्फोटमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ,’ सिरहा प्रहरी स्रोत भन्छ, ‘विप्लव समूह नै हो भन्ने हाम्रो अनुमान छ, तर अहिले नै निष्कर्षसहित हामी भन्न सक्दैनौं।’
त्यसअघि कात्तिकमा रौतहटको मठिया प्रहरी चौकीमा अज्ञात समूहले बम बिस्फोट गराउँदा एक जना प्रहरी जवान घाइते भएका थिए।
यही मंसिर २३ मा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकामा प्रेसर कुकर बम राखिएको थियो।
त्यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर-२ डिभिजन वन कार्यालयभित्र पार्किङमा रहेको गाडीमुनि झोलाभित्र प्रेसर कुकर बम फेला परेको थियो। बम सेनाको टोलीले निष्क्रिय पारेको थियो।
यी घटनामा कोही समातिएका छैनन्। महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार बम विप्लव माओवादीले राखेको शंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘बम राख्ने क्रम र गतिविधि हेरेका छौं, तराईमा सशस्त्र समूहको गतिविधि निकै कम भएको हुनाले यो राज्यसँग असहमति राख्ने र गतिविधि गर्ने समूहले गराएको हाम्रो बुझाइ हो,’ अधिकारीले भने।
त्यसअघि मंसिर १३ गते सिरहाको धनगढीमाई नगरपालिकाका मेयरको कार्यकक्ष अगाडि प्रेसर कुकर बम फेला परेको थियो।
तराईमा बम बिस्फोट गराउने समूह सक्रिय रहेको यी घटनाबाट पनि अनुमान गर्न सकिन्छ। तर, यी सबै घटनामा जुनसुकै समूह भए पनि त्यो आपराधिक रहेको प्रहरीको निष्कर्ष छ।
‘प्रहरीको गतिविधि बढ्दा पनि कहिलेकाहीँ काउन्टर दिन बम राख्ने गरेका उदाहरण हामीसँग छन्,’ डिआइजी कार्कीले भने, ‘रौतहटमा बम काण्डको अनुसन्धान भइरहँदा प्रहरी चौकीमै बिस्फोट गराइएको थियो, त्यसमा संलग्न व्यक्ति एक जना पक्राउ परिसकेको अवस्था छ। भागेका व्यक्तिलाई पक्रन भारतीय प्रहरीसँग समन्वय भइरहेको छ।’
नेपाल प्रहरीको केन्द्रीय निकायले पनि तराईमा राज्यसँग असहमति राखेर आन्दोलन गर्ने ‘समूह’ले आपराधिक गतिविधि गराइरहेको बतायो।
‘सामान्यतया सुरक्षा निकायले अनुसन्धान नगरी केही भन्दैन। प्रारम्भिक रूपमा समग्रमा हेर्दा तराईमा बम बिस्फोटलगायतका गतिविधि राज्यसँग असहमति राख्ने समूहले गराइरहेको हो भन्ने हाम्रो विश्लेषण छ,’ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सेतोपाटीसँग भने।