नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विद्यार्थीहरू प्ले कार्ड बोकेर नाराबाजी गर्न थालेको ९ महिना बित्यो।
अरूबेला पार्टी कार्यालय खासै नदेखिने विद्यार्थी केन्द्रीय कार्यसमिति बैठक बस्ने दिन भने सबेरै कार्यालय पुग्छन्।
नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी संघले ११ औं महाधिवेशन गर्न नसकेर विघटन भएपछि बसेका प्रत्येक केन्द्रीय समिति बैठकमा पुग्दा कांग्रेस सभापति शेरबहादुर देउवालाई कार्यालय छिर्न र बाहिरिन हम्मेहम्मे पर्छ।
बुधबार पनि कांग्रेस बैठक छ।
दिउँसो १ बजेका लागि बैठक डाकिए पनि बैठक सुरू हुनु भन्दा दुई घन्टाअघि नै पार्टी कार्यालयमा विद्यार्थीको ठेलमठेल छ। नेविसंघमा ३२ वर्षे उमेर हद कार्यावन्यन गर्न दबाब दिन विद्यार्थीहरू ढोकामै रिले अनसन बसेका छन्।
आफूहरू विधान कार्यान्वयन पक्षधर भएको बताउने नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी नेतृत्वको समूहले पार्टी कार्यालय मूल ढोकामै रिले अनसन सुरू गरेको हो।
विधानसम्मत महाधिवेशन सुनिश्चितताका लागि रिले अनसन सुरू गरेको त्रिपाठीले बताए। नेविसंघको विधान २०२७ को सातौं संशोधन २०७५ को धारा ५ को बुँदा ५ बमोजिम ३२ वर्ष उमेरमूनिकाले मात्रै सदस्यता पाउँछन्।
बुधबार रिले अनसनमा नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्ले पनि उपस्थित छन्।
सभापति शेरबहादुर देउवाले गत बिहीबार प्रस्ताव गरेका ९ एजेन्डामध्ये नेविसंघ पनि एक छ। देउवाले केही समय पहिले ५० वर्ष नाघेका सुनसरीका राजिव ढुंगानालाई नेविसंघको नेतृत्वमा ल्याउन बरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गरेपछि विरोधमा यो समूह आन्दोलनमा छ।
सभापति देउवाको विरासतमध्ये एक नेविसंघ नै हो। उनी २०२७ सालमा नेविसंघ सभापति भएका थिए। तर देउवा नै पार्टी सभापति भएका बेला नेविसंघ गत माघदेखि नेतृत्वविहीन छ।
‘३२ वर्षे उमेरहदअनुसार विधान कार्यान्वयन गर्दै ७० प्रतिशत जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले विधान मिचेर ३२ वर्ष उमेर कटेकालाई नेतृत्वमा ल्याउने चलखेल गरेपछि विरोध गर्नुपरेको हो,’ त्रिपाठीले सेतोपाटीसँग भने, ‘नेविसंघको गर्विलो इतिहासकै उपहास नगरिओस्।’
नेताहरूले विधान मिचेर नेविसंघ नेतृत्व ल्याए आफूहरू आमरण अनसन बस्ने उनको भनाइ छ।
‘जसरी पनि विधान कार्यान्वयन गर्नुपर्छ भनेर नेविसंघ विघटन भएदेखि नै बसेका सबै केन्द्रीय समिति बैठकमा हामीले विरोध प्रदर्शन गरिआएका छौं,’ उनले भने।
बुधबार पार्टी कार्यालयमा रूपा पोखरेल, पद्मा भुसाल, मनिता सिटौला, विन्दा बोगटी, रोस्मिता कार्कीलगायत रिले अनसनमा बसेका छन्।
‘विधान मिचेर समिति घोषणा गरिए आमरण अनसन बस्छौं,’ नेविसंघ नेता मनिष सिंखडाले भने, ‘विधानअनुसार छुट्टै समिति गठन गरेर जान पनि सकिन्छ।’
गत सोमबार पार्टी कार्यालयमा अझै रोचक दृश्य देखिएको थियो।
त्यो दिन केन्द्रीय समिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेका थिए। पौडेल पक्षका केन्द्रीय समिति सदस्यको बहिष्कारपछि बैठक बुधबारसम्म स्थगित गरेर देउवा कार्यालयबाट बाहिरिए।
देउवा कार्यालयको मूल ढोकामा के आइपुगेका थिए, विद्यार्थीले दुईथरि नारा लगाए। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला खेमाका नेविसंघले ३२ वर्षे उमेरहद कार्यान्वयन गर्न दबाब दिन प्लेकार्ड बोकेर प्रदर्शन गरे। अर्कोपट्टी देउवा खेमाकाले देउवा जिन्दावाद भन्दै नारा लगाए।
दुई पक्षका विद्यार्थीको नाराबाजी भइराखेका ठाउँबाट सभापति देउवालाई गाडीसम्म ल्याउन सुरक्षाकर्मीलाई हम्मेहम्मे पर्यो। विद्यार्थीले सधैंजसो ढोकामै छेकेपछि गत कात्तिक १५ गते देउवा रिसाएका थिए।
‘विधान मिच्न पाइँदैन, टिके प्रथा खारेज गर’ भन्दै नाराबाजी गर्ने विद्यार्थीलाई देउवाले ‘एकेक कारबाही गर्ने’ चेतावनी दिएका थिए। तैपनि विद्यार्थीले आन्दोलन छाडेका छैनन्, देउवालाई अझै ढोका छेक्ने गरी विरोध प्रदर्शन जारी राखेका छन्।
नेविसंघ नेतृत्वविहीन मात्र छैन यहाँ गुट र उपगुट छ।
नेतैपिच्छे गुट छ। देउवा पक्षका नैनसिंह महर राजीनामा दिएपछि खासै कार्यक्रम गरेका छैनन्। अहिले पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह देउवा खेमामा नेविसंघको नेतृत्व गर्छन्।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा पनि गुट र उपगुट छ। पौडेल पक्षको नेतृत्व पूर्वकेन्द्रीय सदस्य एलिजा ढकालले गर्छिन्। महामन्त्री शशांक कोइराला पक्षबाट सागर परियार, पूर्वमहामन्त्री प्रकाशमान सिंह पक्षबाट मनोज वैद्य र अर्का पूर्वमहामन्त्री पक्षबाट कुन्दनराज काफ्ले गरी पाँच गुटमा नेविसंघ छ।
यी गुटमध्ये काफ्ले गुटले विधान कार्यान्वयन गर्न दबाब दिन निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ।