नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सहमतिमै पार्टी अघि बढ्नु पर्ने बताएका छन्।
बुधबार केन्द्रीय समिति बैठकमा उपस्थित नभएका सिटौलाले बहुमत, अल्पमत र बहिष्कारले पार्टीलाई अझै क्षति पुग्ने पनि बताए।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक सिटौला र बरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नभएपछि शुक्रबारसम्म स्थगित गरिएको छ।
पार्टी कार्यालयमा हुने केन्द्रीय समिति बैठकमा सहभागी हुनुपर्ने बेला सिटौला बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका थिए।
सिटौलाले सेतोपाटीसँगको कुराकानीमा नेताहरूबीच सहमति प्रयास जारी नै रहेकोले बुधबार बैठक स्थगित भएको बताए।
‘नेताहरूबीच कुराकानी बाँकी नै छन् त्यसकारण बैठक स्थगित नै भइसक्यो,’ उनले भने, ‘आज केही सहमति भएन। पर्सिसम्म केही न केही सहमतिमा पुगिएला।’
सभापति शेरबहादुर देउवा पक्ष पेलेरै अघि बढ्ने सोचमा छ। पौडेल र सिटौला अनुपस्थित गत बिहीबारको बैठकमा सभापति देउवाले विभाग बढाउनेदेखि भातृ संस्थालाई नेतृत्व दिने प्रस्ताव पेश गरेका थिए।
पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक नभएसम्म आफू बैठकमा सहभागी नहुने अडान राखेका छन्। पछिल्लो साता बोलाइएका चार बैठक पौडेल अनुपस्थित छन्। विवाद बढ्दै गएपछि शनिबार पौडेललाई फकाउन सभापति देउवा उनकै निवास पुगेका थिए। तर पौडेलले आफ्नो अडान छाडेनन्।
देउवा र पौडेल पक्षलाई सहमतिमा ल्याउन मध्यमार्गी भूमिका खेलिरहेका सिटौलाले भने, ‘आजको परिस्थितिमा बहुमत, अल्पमत र बहिष्कारले कांग्रेसलाई अझै बढी क्षति गर्छ।’
उनले सहमतिमै सबै विषयहरू हल गरिनुपर्ने बताए।
‘सहमतिमै सबै विषय हल गर्नुपर्छ,’ उनले भने, ‘मुख्य लक्ष्य छिटो महाधिवेशन गर्ने हो।’
सभापति देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिँदैछ।
सिटौलाले सहमतिमा अघि बढ्न मंगलबार पनि पौडेलसँग भेट गरेका थिए।
देउवाले पौडेल पक्षसँग वार्ता गर्ने जिम्मेवारी दिएका उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षका वार्ता समिति संयोजक प्रकाशमान सिंहसँग पनि सिटौलाले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
सिटौला सक्रिय र पौडेलले बैठक बहिष्कार गरेपछि आफ्नो पक्षको रणनीति तय गर्न बुधबार बिहान आफ्नो भावी रणनीति बनाउन देउवा पक्षका केन्द्रीय सदस्यले बुढानिलकण्ठमा छलफल गरेका थिए। पौडेल पक्ष समय घर्काउने खेलमा लागेको भन्दै सहमति नगरे पेलेरै अघि बढ्न उनीहरूले देउवालाई सुझाव दिएका थिए।
विवाद हल गर्न दुबै पक्षले विभिन्न चरणमा बैठक गरे पनि महाधिवेशन कहिले गर्ने भन्नेमा सहमति जुटेको छैन। देउवाको कार्यकाल एक वर्ष लम्ब्याउनेमा दुबै पक्ष सहमत भए पनि आउँदो महाधिवेशन २०७७ मंसिरमा गर्ने कि फागुनमा भन्नेबारे विवाद छ।
विवादको अर्को विषय भातृ संस्थाको हो। एक महिनाअघि तरूण दलको कार्यसमितिको म्याद सकिएको छ। देउवाले अझ ६ महिना यही समितिको म्याद थप्ने प्रस्ताव गरेका छन्।
नेपाल विद्यार्थी संघमा तदर्थ समिति बनाउने कि महाधिवेशन तयारी समिति बनाउने भन्नेमा विवाद छ। पौडेल पक्षले यी दुई भातृसंस्थामध्ये एकमा आफूले नेतृत्व पाउनु पर्ने दाबी गरेको छ भने देउवाले दुबैको नेतृत्व आफूलाई राखेर अन्य पद पौडेल पक्षलाई दिन सकिने बताएका छन्।