संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकासका लक्ष्यहरुमा आधारित गण्डकी प्रदेशको आधार तथ्याङ्क प्रतिवेदन सार्वजनिक भएको छ। पोखरामा विहिबार शुरु भएको गण्डकी प्रदेश समन्वय परिषदको तेस्रो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिवेदन सार्वजनिक गरेका हुन्।
गण्डकी प्रदेशको नीति तथा योजना आयोगले बनाएको प्रतिवेदनमा गण्डकी प्रदेशमा उपलब्ध दिगो विकासका लक्ष्यमा आधारित तथ्याङ्कहरु समावेश गरिएको छ। प्रतिवेदनमा केन्द्रीय तथ्याङ्क विभागले गरेको जनगणना, कृषि गणना, विभिन्न सर्वेक्षण, राष्ट्रिय योजना आयोगका प्रतिवेदनहरुबाट सूचना संकलन गरिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी पौडेलले बताए।
प्रतिवेदन बनाउन आर्थिक तथा प्राविधिक सहयोग संयुक्त राष्ट्र संघीय नियोग, युएनडिपीले गरेको थियो। प्रतिवेदन सार्वजनिक पश्चात मुख्यमन्त्री गुरुङले दिगो विकासका लक्ष्यहरु हासिल गर्न गण्डकी प्रदेशले सोही अनुसार नीति, कार्यक्रम र बजेट ल्याएको बताए।
युएनडिपी नेपाल प्रमुख आइसानी लाबेले गण्डकी प्रदेशलाई वातावरणीय सवालमा सहयोग गर्न तयार रहेको बताइन्। ‘प्रदेशले तय गरेका योजनाहरुलाई वातावरणमैत्री बनाउन आगामी दिनमा सहयोग जारी राख्न हामी प्रतिवद्ध छौं’ उनले भनिन्, ‘सबै योजनाहरु वातावरणमैत्री बनाउन सकिन्छ।’
प्रदेश समन्वय परिषदको बैठकमा गण्डकी प्रदेशमा रहेका सबै ८५ वटै स्थानीय तहका प्रमुख र उपप्रुमख सहभागी छन्। बैठक भोली शुक्रबार सकिनेछ।