पर्साको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो हिजोआज व्यस्त छिन्।
अध्यक्ष हरिनारायण चौधरीले उनलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएर विदेश भ्रमणमा गएपछि उनको व्यस्तता बढेको हो।
कार्यालयको दैनिक कामकाज र विभिन्न छलफलमा भाग लिन उपाध्यक्ष महतोलाई एक सातादेखि भ्याइनभ्याइ छ।
गाउँपालिका कार्यालयमा मात्र होइन, यो समस्या वडाहरूमा पनि छ।
गत बुधबार गाउँपालिका अध्यक्ष चौधरी वडाध्यक्षलगायत १५ जना ‘जम्बो’ टोली लिएर विदेश भ्रमणमा गएपछि अरू दिनभन्दा व्यस्तता बढेको हो।
‘अध्यक्षज्यू पाँच वटै वडाका वडाध्यक्षज्यू, दुई जना गाउँपालिका बोर्ड सदस्य, ७ जना कर्मचारी लिएर विदेश जानुभयो,’ उपाध्यक्ष महतोले सेतोपाटीसँग भनिन्, ‘कामकाज ठप्प त भएको छैन तर व्यस्तता बढेको छ। सेवा प्रवाह नरोकिओस् भनेर वडाध्यक्षहरूले पनि निमित्त तोक्नुभएको छ।’
उनीहरू थाइल्याण्ड, कम्बोडिया र सिंगापुर भ्रमणमा गएका हुन्। ती ठाउँ घुमेर उनीहरू पुस ११ गते नेपाल फर्कन्छन्।
उनीहरू घुम्नका लागि विदेश गए पनि खर्चको जोहो गाउँपालिका र वडाबाट लिन्छन् कि लिँदैनन् भन्ने अहिले नै खुलेको छैन।
गाउँपालिका प्रमुख चौधरी, प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र यादव, वडाध्यक्षहरु फरमान मियाँ, विजयश्री गैरे, माधव राउत थारु, राजेश्वर महतो थारु, मोतीलाल साह विदेश छन्।
कार्यपालिका सदस्य विपिन मुखिया विन र दीपक रसैली, शिक्षा शाखाका शम्भु साह, सामाजिक विकास शाखाका राजकुमार महतो, राजश्व तथा योजना फाँटका विरेन्द्र चौधरी, लेखापाल विरेन्द्र साह तेली, इन्जिनियरहरु निर्मल सिंह र प्रदीप चौरसिया पनि उक्त टोलीमा छन्।
‘जनप्रतिनिधिहरू विदेश जाँदा काममा थोरबहुत प्रभाव त परिहाल्छ नि,’ महतोले भनिन्, ‘यतिबेला गर्नुपर्ने कार्यालयका कामहरू अघि बढ्न भने सकेको छैन। उहाँहरू १० दिन विदामा बस्नुभएको हो।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक पत्राचार गर्दै स्थानीय तहका जनप्रतिनिधिलाई विदेश भ्रमणमा कडाइ गरिराखेको छ।
विदेश भ्रमणमा जाँदा सम्बन्धित स्थानीय तहले खर्च गर्ने हो भने पहिले नै मन्त्रालयमा जानकारी पठाउनुपर्ने हुन्छ। जथाभावी जनप्रतिनिधि भ्रमणमा जाँदा सेवाग्राहीका कामकाजदेखि विकास निर्माणमा पनि प्रभाव परेपछि सरकारले कडाइ गरे पनि घुम्नकै लागि विदेश जाने प्रवृत्ति घटेको छैन।