नेपाली कांग्रेसमा अब विभागको संख्या ४७ पुगेको छ।
बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्य उपस्थित नभएको शुक्रबारको केन्द्रीय समितिबाट सभापति शेरबहादुर देउवाले २८ विभाग बढाएर ४७ पुर्याएका हुन्।
कांग्रेस विधानअनुसार विभाग २८ छ। सभापति देउवाले मंसिर २६ गते नै विभाग बढाएर ४१ पुर्याउने प्रस्ताव केन्द्रीय समितिमा पेश गरेका थिए। उक्त प्रस्तावमा पनि शुक्रबार छ विभाग थपेर पारित गरिएको हो।
सभापति देउवाले आफूपक्षिय केन्द्रीय समिति सदस्यलाई राखेर बहुमतको बलमा विधान मिचेर विभाग बढाएकोमा पौडेल र सिटौला समूह रूष्ट छ। उक्त निर्णय फिर्ता लिनुपर्ने उनीहरूले अडान राखेका छन्।
विभाग थप्ने निर्णयलाई आगामी महाधिवेशन वा महासमिति बैठकबाट अनुमोदन गराउने पक्षमा सभापति देउवा छन्। केन्द्रीय विभाग परिमार्जन र पुनर्गठन विधानअनुसार नै भएको देउवा पक्षको भनाइ छ।
विधानको धारा ५० (५) अनुसार विभाग थप गर्दै काम, कर्तव्य र अधिकार तोक्ने निर्णय भएको हो। देउवा पक्षका केन्द्रीय सदस्यतले बहुमतबाट थप गर्ने निर्णय गरेका विभाग यस्ता छन्:
- संगठन विभाग
- सूचना, संचार तथा प्रचार विभाग
- अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
- राज्य प्रशासन विभाग
- स्थानीय तह समन्वय विभाग
- अभिलेख, अनुगमन तथा मूल्यांकन विभाग
- संघीय मामिला तथा प्रदेश समन्वय विभाग
- संसदीय मामिला विभाग
- संवैधानिक तथा कानुन विभाग
- पर्यटन विभाग
- महिला विभाग
- तरुण विभाग
- विद्यार्थी विभाग
- पेशागत तथा बुद्धिजीवि विभाग
- शिक्षा विभाग
- स्वास्थ्य विभाग
- गैरसरकारी संस्था एवं सामाजिक सेवा विभाग
- उद्योग तथा व्यापार विभाग
- निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
- कृषि तथा किसान विभाग
- आदिवासी जनजाती विभाग
- खेलकुद विभाग
- प्राकृतिक श्रोत विभाग
- साहित्य, कला तथा संस्कृति विभाग
- नेपाली जनसम्पर्क समिति समन्वय विभाग
- बैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
- अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग
- दलित विभाग
- द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
- मुस्लिम विभाग
- वन तथा वातावरण विभाग
- तराई मधेश विभाग
- वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
- पिछडिएको क्षेत्र समन्वय विभाग
- विज्ञान तथा सूचना प्रविधि विभाग
- भू.पू. सैनिक विभाग
- जिल्ला सम्पर्क समिति समन्वय विभाग
- अन्य पार्टी सम्पर्क विभाग
- आर्थिक नीति तथा योजना विभाग
- शुभेच्छुक संस्था समन्वय विभाग
- अन्य भ्रातृ संघ समन्वय विभाग
- थारु विभाग
- आपूर्ति तथा उपभोक्ता विभाग
- श्रम विभाग
- भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबास एवं मुक्त कमैया समन्वय विभाग
- गैर आवासीय नेपाली समन्वय विभाग
- पूर्वराष्ट्रसेवक समन्वय विभाग
देउवाले चार वर्षे कार्यकाल सकिने बेला विभाग थपेर आगामी महाधिवेशन आफ्नो पक्षमा पार्न चलखेल गरेको पौडेल र सिटौला पक्षले आरोप लगाउँदै आएका छन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार गठन भएका विभागका प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरू नियुक्ति विधान बमोजिम छिटै हुनेछ।
साथै देउवाले आफू नेतृत्वको कार्यसमितिको म्याद एक वर्ष थपेका छन्। २०७७ फागुन १९ गतेसम्म म्याद थप भएको हो। सभापति देउवाले ०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गराउने गरी कार्यतालिका पनि सार्वजनिक गरेका छन्।
‘विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी र सदस्यको पदावधि २०७६ फागुन २० गतेदेखि लागु हुने गरी २०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप्ने निर्णय गरिन्छ,’ शुक्रबारको केन्द्रीय समिति बैठकले गरेको निर्णयमा भनिएको छ, ‘निर्वाचन आयोगमा यो निर्णय जानकारी दिइनेछ।’
बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाले एक वर्ष कार्यकाल थप गर्ने हो भने ०७७ मंसिर पहिलो साता महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए। तर देउवाले फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएका छन्।
यस्तो छ १४ औं महाधिवेशनको कार्यतालिका:
१. गाउँ/नगर वडा अधिवेशन: २०७७ मंसिर ९ गते
२. गाउँ/नगरपालिका अधिवेशन: २०७७ मंसिर ११ गते
३. प्रदेशसभा क्षेत्रीय अधिवेशन: २०७७ मंसिर १५ गते
४. प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन: २०७७ मंसिर १७ गते
५. जिल्ला अधिवेशन: २०७७ मंसिर २५ गते
६. प्रदेश अधिवेशन: २०७७ पुस १५ गते
७. केन्द्रीय महाधिवेशन: २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा।
यो पनि:
देउवाले थपे एक वर्ष कार्यकाल, १४ औं महाधिवेशन अर्को वर्ष फागुन ७ देखि १० सम्म