बाराको एक नगरपालिकाकी उपप्रमुखले निर्वाचित भएको दुई वर्षपछि बल्ल आफूले पाउनुपर्ने सेवासुविधा पाएकी छन्।
पचरौता नगरपालिकाकी उपप्रमुख इन्दुकुमारीले गत शुक्रबारदेखि सेवासुविधा पाएकी हुन्।
‘बल्ल गाडी सुविधा पाएँ,’ उनले सेतोपाटीसँग भनिन्, ‘सेवासुविधा मेयरले मात्रै लिनुभएको थियो।’
सेवासुविधा नपाएपछि उपमेयर कुमारी र मेयर रमेशकुमार यादवबीच लामो समयदेखि सम्बन्ध चिसिएको थियो।
जिल्ला समन्वय समितिले छलफल गराएर गत शुक्रबार उनले गाडीसुविधा पाएकी हुन्।
‘अरू केही सेवासुविधा छैन। गाडी भने पाएकी छु,’ उनले भनिन्।
उनले पटक-पटक मेयरसरह आफू पनि जनप्रतिनिधि भएकोले सेवासुविधा पाउनुपर्ने बताउँदै आएकी थिइन्।
‘तर मेयरले मेरो कुरा सुन्दै सुन्नुभएको थिएन,’ उनले भनिन्।
उनले मेयरले आफूलाई असमान व्यवहार गरेको बताएपछि जिल्ला समन्वय समितिले छलफल गरी उनलाई सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको हो।
उपमेयर कुमारीले भोजपुरी भाषा बोल्छिन्।
सेवाग्राहीसँग नेपालीलगायत अन्य भाषामा पनि कुराकानी गर्नुपर्ने हुन्छ।
त्यसका लागि उनले स्वकीय सचिव राखेकी छन्।
‘नगरपालिकाको कामका लागि मात्र होइन। म गाउँतिर जाँदा पनि प्रष्ट रूपमा नेपालीलगायत भाषामा कुराकानी गर्न सक्दिनँ। त्यसैले सहयोगी चाहिन्छ,’ उनले भनिन्, ‘स्वकीय सचिव सुवासकुमार यादव राखेकी छु।’
सेतोपाटीसँग कुराकानीका क्रममा पनि नेपालीमा कुराकानी गर्न यादवले सघाएका थिए।
नगरपालिकाले स्वकीय सचिवलाई सेवा सुविधा नदिएको उनले गुनासो गरिन्।
‘स्वकीय सचिवको तलब खर्च मैले नै हेर्छु,’ उनले भनिन्।
गाडी सुविधा पनि उपप्रमुख कुमारीले त्यसै पाएकी होइनन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समितिलगायतमा उजुरी पनि दिएकी थिइन्।
‘म अख्तियारदेखि जिल्ला र उच्च अदालतसम्म पनि पुगें,’ उनले सेतोपाटीसँग भनिन्, ‘आर्थिक वर्षको बजेट नगरसभाबाट भएका निर्णय बदर गर्न माग गरेकी थिएँ। पछि रिट कानुनसम्वद्ध नभएकोमा खारेज भयो।’
कानुनले दिएको अधिकार मेयरले एकलौटी रूपमा हस्तक्षेप गरेको भन्दै उनले अदालतदेखि अख्तियारमा उजुरी दिएकी थिइन्। तत्कालै उपप्रमुखलाई स्वकीय सचिवदेखि गाडी सुविधा दिने तथा कानुनले दिएको अधिकार कार्यान्वयन गर्न दिने सहमति गरी विवाद भने समाधान गरिएको छ।
मेयर रमेशकुमार यादवले भने उपप्रमुखलाई पहिलेदेखि नै सेवासुविधा दिँदै आएको दाबी गरे।
‘कुनै विवाद छैन,’ उनले भने, ‘पहिलेदेखि नै उहाँले सेवासुविधा पाइराख्नु भएकै छ।’