नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार सभापति शेरबहादुर देउवासँग हात मिलाएको फोटो सार्वजनिक गरे।
फोटोमा देखिएकोजस्तो मुस्कान अहिले देउवा-पौडेल सम्बन्धमा छैन। बरू उनीहरूबीचको सम्बन्ध गुटगत झगडाले ‘बोलचाल नै बन्द’ हुने अवस्थामा पुगेका छन्।
पौडेलले देउवासँग हात मिलाएको फोटो सुझबुझपूर्ण तवरले राखेका छन्।
आज मेलमिलाप दिवस हो। उनले मिलेर जानुपर्छ भन्ने सन्देश फोटोबाट दिन खोजेका छन्।
४४ वर्षअघि पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, अर्का नेता गणेशमान सिंह र नेतृ शैलजा आचार्य सात वर्ष भारत बसेर राष्ट्रिय मेलमिलापको नीतिअनुसार नेपाल फर्केका थिए।
२०३३ पुस १६ गते आजैका दिन वीपीसहित नेताले मेलमिलाप सुरू गरे पनि कांग्रेसकै आन्तरिक जीवनमा यो नीति लागू हुन सकेको छैन। मेलमिलाप दिवसकै दिन कांग्रेस सभापति देउवाले वरिष्ठ नेता पौडेलसँग भेट्न चाहेका छन् तर पौडेलले मानिरहेका छैनन्। किन?
देउवा-पौडेलबीच सम्बन्ध पछिल्लो केन्द्रीय समिति बैठकदेखि चिसिएको हो।
गत शुक्रबार (पुस ११ गते) देउवा पक्षका केन्द्रीय सदस्य मात्रै उपस्थित बैठकले १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णय गर्यो।
यतिमात्र होइन, वरिष्ठ नेता पौडेल र छुट्टै गुट चलाउँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित उनीहरू पक्षका केन्द्रीय सदस्यले बहिष्कार गरेको बैठकबाट विधानका धारा निलम्बन गर्ने, २८ विभागबाट बढाएर ४७ विभाग बनाउने र देउवाको कार्यकाल एक वर्ष थप्ने निर्णय भयो।
यी निर्णयले पौडेल र सिटौला झसंग भए। देउवालाई दबाब दिने बेला प्राय: एकै ठाउँमा उभिने पौडेल र सिटौला पक्षले १४ औं महाधिवेशन ०७६ भित्रै गर्न चाहेका थिए।
त्यो सम्भव नभए उनीहरूले ०७७ मंसिरभित्रै महाधिवेशन सक्नुपर्ने अडान राखेका थिए।
तर देउवाले ०७७ को अन्तिममा महाधिवेशनको मिति तोकेपछि पौडेल र सिटौलालाई महाधिवेशन हुँदैन कि भन्ने आशंका छ।
पाँच वर्षभित्र महाधिवेशन गर्न नसके संविधानले दलहरूलाई छ महिना समय थप्न सक्ने अधिकार दिएको छ।
देउवाले विधानअनुसार एक वर्ष कार्यकाल थप गरेका छन्।
उनले थप छ महिना पनि कार्यकाल थप्ने र महाधिवेशन नै नगराउनेतिर लगे भने के गर्ने भन्ने चिन्ता पौडेल र सिटौलालाई छ।
समय छँदै महाधिवेशन गर्नु पर्ने मागसहित उनीहरू कार्यतालिका सच्याउन देउवालाई दबाब दिँदैछन्।
०७७ मंसिरभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका नल्याउने भए महाधिवेशनमा मात्रै देउवासँग भेट हुने अडान पौडेल पक्षका नेताहरूले दोहोर्याउँदै आएका छन्।
विवाद बढेपछि देउवाले बुधबार अपरान्ह बुढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक राखेका छन्।
बैठकमा वरिष्ठ नेता पौडेललाई निम्ता गरिएको छ तर उनी जाने मनस्थितिमा छैनन्।
कांग्रेसले बिहीबार दिउँसो केन्द्रीय समिति बैठक पनि राखेको छ।
तर पौडेल र सिटौला पक्षका नेता उपस्थित नहुने भनिरहेका छन्। जबसम्म महाधिवेशन कार्यतालिका हेरफेर हुँदैन तबसम्म बैठकमा उपस्थित नहुने पक्षमा आफूहरू रहेको पूर्वमहामन्त्री प्रकाशमान सिंहले बताए।
‘पार्टीभित्रको विवाद हल गर्ने जिम्मेवारी सभापतिको हो। उहाँले नै पहल गर्नुपर्छ,’ उनले भने, ‘महाधिवेशन कार्यतालिका सच्याउने प्रतिवद्धता नआएसम्म केन्द्रीय समिति बैठकमा सहभागी हुँदैनौं।’
पौडेल पक्षकाले आफ्ना केन्द्रीय सदस्यसँग मंगलबार पार्टी कार्यालयमै छलफल गरेको थियो।
सिंह निवास चाक्सीबारी, महामन्त्री शशांक निवास महाराजगञ्जमा बस्दै आएको गुट भेला मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सरेको हो।
‘नेतृत्वको अक्षमता पार्टीभित्रमात्र होइन, सदनमा पनि देखिएको छ,’ देउवाइतर समूह एक हुँदै गएको प्रसंगमा सिंहले भने, ‘सदनमा हामी बोलिरहेकै हुन्छौं तर प्रतिपक्षी दह्रो भएन। प्रभावकारी भएन भन्ने बाहिर गुनासो सुनिन्छ। किनभने संसदीय दलको नेता देउवाजी नै समय दिन भ्याउनुहुन्न। दह्रोसँग सदनमा कुरा राख्नुहुन्न।’
प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी बहुमतमा छ। देउवा-पौडेल सम्बन्ध गत वर्ष महासमिति बैठकपछि सुध्रिएको थियो। पुस ८ गते महासमिति बैठक समापन गर्दै उनीहरूले आफूहरूबीच इमोसन्सनल एट्याचमेन्ट र ‘डिप लभ’ रहेको बताएपछि आन्तरिक विवाद हल भएको भन्दै महासमिति सदस्य घर फर्किए।
तर सभापति देउवाले महासमिति बैठकले नै बनाएका विधानका केही धारा पछिल्लो केन्द्रीय समिति बैठकबाट निलम्बन गरिदिएको पौडेल पक्षको आरोप छ।
‘आज क्रियाशील सदस्यता दिने भोलि भोट हाल्न पाउने यस्तो आनन्दको व्यवस्था गरिदिने? आनन्दले विधानका धाराहरू निलम्बन गरिदिने?,’ सिंह भन्छन्, ‘यो त फेरि देउवाजी सभापति बन्न सजिलो बन्ने उपाय हो। पार्टी कब्जा गर्ने रणनीति। यही पाराले कांग्रेस प्रजा परिषद हुन के बेर?’
कांग्रेसमा महाधिवेशन हुनु छ महिना पहिले नै क्रियाशील सदस्यता वितरण गरिसक्नुपर्छ।
अहिले चार लाख ७० हजार क्रियाशील सदस्य छन्। देउवाले विधानको धारा निलम्बन गरेर जुनसुकै बेला पनि क्रियाशील सदस्यता दिन सकिने ढोका खोलेपछि पौडेल पक्ष सशंकित छ।
सभापति देउवाले महाधिवेशन कार्यतालिका नसच्याए देशैभरका कार्यकर्तामाझ जाने पौडेल बताउँछन्।
निर्णय सच्याउन दबाब दिन सभापति देउवासँग वार्ता गर्ने मंगलबारको भेलामा पौडेल पक्षका केन्द्रीय सदस्यले सुझाव दिएका थिए।
उनीहरूले आफू पक्षका जिल्ला सभापति र महासमिति सदस्यको भेला गर्ने पनि बताएका छन्।
‘महाधिवेशन घोषणा इतिहासमै पहिलोपटक बहुमतबाट गरिएको छ। निर्वाचन आयोगले त सबै दलसँग छलफल गरेर मिति तोक्छ, हाम्रो आफ्नै पार्टीभित्र कुनै छलफलबिना एकलौटी महाधिवेशन घोषणा गरियो,’ पौडेलले भनेका छन्, ‘०७७ को पल्लोछेउमा लगेर महाधिवेशन किन तोकियो? हामीले मंसिरभित्रै होस् भन्ने चाहेका थियौं। फागुनमा केही घटना घट्यो भने के गर्ने? महाधिवेशन सार्ने? समस्या हुन्छ त्यसैले मंसिरमा महाधिवेशन उपर्युक्त हुन्छ, निर्णय सच्याउनुपर्छ।’
देउवा-पौडेल पक्षबीचको विवादमा सिटौला पनि जोडिएका छन्।
सुरूमा विवाद हल गर्न मध्यस्थकर्ताको भूमिका खेलेका सिटौला अहिले पौडेलसँगै बोली मिसाउँदै महाधिवेशन कार्यतालिका सहमतिमै ल्याउन आग्रह गरिराखेका छन्।
सिटौलाले मंगलबार सभापति देउवालाई दुई पन्ने चार बुँदे ध्यानाकर्षण पत्र पनि बुझाए।
‘१३ औं महाधिवेशनबाट सभापति निर्वाचित तपाईंको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने हो,’ सिटौलाले देउवालाई भनेका छन्, ‘यो जिम्मेवारी तपाईंले कुनै गुटको मात्र सभापति भएर होइन, सिंगो कांग्रेसको सभापति हो भन्ने स्मरण साथ पूर्वाग्रहबाट मुक्त भएर उदार र कुशलतापूर्वक गर्नुपर्छ।’
सिटौलाले पछिल्लो केन्द्रीय समिति बैठकका निर्णय पार्टी परम्पराविपरीत भन्दै विरोध गरेका छन्।
‘पुस ११ को केन्द्रीय समिति बैठकका निर्णय पार्टी परम्पराविपरीत छ। महाधिवेशनको कार्यतालिका बहुमत-अल्पमतबाट निर्णय गर्ने कुरा कुनै पनि तर्क, बहाना वा परिस्थितिले औचित्य पुष्टि गर्न सक्दैन।’
तर देउवाले आफूले सहमतिमै पार्टी सञ्चालन गर्न खोजिरहेको दाबी गर्दै आएका छन्।
बुधबार विराटनगरमा पत्रकारहरूसँग उनले १३ औं महाधिवेशनपछिका तीन वर्ष सहमतिमै पार्टी चलाउन खोज्दा काम नभएकोले अब बहुमतबाट नै अघि बढ्ने निर्णयमा पुगेको उल्लेख गरे। देउवाले दुई महिनाभित्र गठन गर्नुपर्ने विभाग चार वर्षसम्म गठन गर्न सकेका थिएनन्। ‘सहमतिमै पार्टी सञ्चालन गर्न खोजेको हुँ। सहमतिकै लागि तीन वर्ष कुरेँ,’ सभापति देउवाले भने, ‘सहमति नै जुट्न नसकेपछि बहुमतका आधारमा निर्णय गर्न बाध्य भएँ।’
सभापति देउवाले वरिष्ठ नेता पौडेललाई घरमै गएर पनि सहमतिमा अघि बढ्न आग्रह गरेका थिए। तर मंसिर २६ पछि बसेका पाँच वटा केन्द्रीय समिति बैठकमा लगातार पौडेल उपस्थित भएनन्।
पौडेल र सिटौला पक्षका नेता अनुपस्थित गत शुक्रबारको केन्द्रीय समितिबाट उनले महाधिवेशन कार्यतालिका घोषणादेखि तरूण दलको म्याद छ महिना थपिदिएपछि सभापतिले एकलौटी निर्णय गरेको भन्दै संस्थापनइतर रूष्ट छ।
देउवाले आफूसँग छलफल गर्न जुनसुकै नेताले जतिबेला पनि भेट्न सक्ने पनि बताएका छन्।
मंगलबार पौडेल पक्षले अब वार्ता सभापतिसँग मात्रै हुने बताएपछि देउवाले यस्तो जवाफ दिएका हुन्।
उनले तोकिएकै समयमा महाधिवेशन हुने पनि बताए।
अरूले आशंका गरे जस्तो आफू संविधानले दिएको छ महिना समयावधि थप्ने पक्षमा नरहेको देउवाको भनाइ छ।
यो पनि :
देउवा-पौडेल 'प्रीति भोज'मा