नेपाल कम्युनिष्ट पार्टी, नेकपाका नेता वामदेव गौतमले राष्ट्रियसभाको उम्मेदवार बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गौतम र अर्का नेता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभाको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए।
शुक्रबार बिहान सबेको सचिवालय बैठकमा श्रेष्ठले पार्टीको निर्णय आफूले मान्ने बताएका थिए। 'पार्टीले राष्ट्रियसभामा भूमिका निर्वाह गर्न गरेको प्रस्तावलाई मैले स्वीकार गरेको हुँ', श्रेष्ठले सेतोपाटीसँग भने, 'मेरो व्यक्तिगत महत्वकांक्षा हैन। पार्टीले उपयुक्त ठहर्याएको भूमिका निर्वाह गर्न लागेको हुँ।’
श्रेष्ठका अनुसार नेता गौतमलाई पनि राष्ट्रियसभा सदस्य बन्न अध्यक्षद्वयले प्रस्ताव गरेका थिए। तर गौतमले समय मागेरै आफ्ना केही पूर्व सर्त रहेको बताएका थिए।
'उहाँले राष्ट्रियसभामा गएर आफू प्रधानमन्त्री बन्न नमिल्ने भएकाले त्यसका लागि संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गर्नुभयो', श्रेष्ठले भने, 'उहाँले प्रधानमन्त्री पद र संविधान संशोधनको ग्यारेण्टी माग गर्नुभयो।'
गौतमले धारणा राखेलगत्तै अध्यक्षद्वयले तत्काल संविधान संशोधन गर्न नसकिने बताएका थिए।
नेपालको संविधानमा प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ।
संघीय संसद(प्रतिनिधि सभा/राष्ट्रिय सभा)का सदस्यहरू मन्त्री बन्न पाए पनि प्रधानमन्त्री हुन पाउँदैनन्। नेता गौतमले भने आफूले नेकपाका अधिकाशं नेताहरूलाई प्रधानमन्त्री बन्न सघाएको तर्क गर्दै आफूले पनि प्रधानमन्त्री हुन पाउनुपर्ने अडान सार्वजनिक रूपमै राख्दै आएका छन्।
नेता श्रेष्ठले भने आफू अहिलेका लागि राष्ट्रिय सभा सदस्यको उम्मेदवार मात्र भएकाले आगामी जिम्मेवारीबारे कुनै छलफल नगरेको बताए। 'पार्टीले दिएको जिम्मेवारी निभाउछु, मेरो महत्वकांक्षा छैन', श्रेष्ठले भने, 'तर कार्यकारी बाहेकको भूमिका निभाउँदिनँ।’