नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा हिजोआज भिन्न माहौल छ।
नेपाल विद्यार्थी संघका नेता/कार्यकर्ता पार्टी कार्यालयको ढोकैमा दिनरात अनसन बसिरहेका छन्।
उनीहरू रिले अनसन बसेको आइतबार १९ औं दिन हो।
पार्टी नेतृत्वले विधान मिचेर ५० वर्ष नाघेका व्यक्तिलाई नेविसंघको नेतृत्वमा ल्याउन लागेको सुइँको पाएपछि विरोधमा विद्यार्थीले अनसन थालेका हुन्।
उनीहरूले ३२ वर्षमूनिका व्यक्तिलाई नेविसंघ केन्द्रीय कार्यसमितिमा ल्याउनुपर्ने माग गरेका छन्। कांग्रेसले नै गत वर्ष नेविसंघमा उमेरहद तोकेको थियो।
विधिमा चल्ने दाबी गर्ने कांग्रेस नेताहरूले त्यही ढोका भएर कार्यालयमा दर्जनौं पटक ओहोरदोहोर गरिसके पनि अनसनलाई चासो नदिएको गुनासो विद्यार्थीहरूको छ।
विद्यार्थीहरू दिनमा दुई सिफ्टमा अनसन बस्छन्। दिउँसो केटीहरू र बेलुकी केटाहरू।
‘विधान कार्यान्वयन हुनुपर्यो भनेर १९ दिनदेखि पार्टी कार्यालयको ढोकैअगाडि अनसन बसिरहेका छौं,’ आइतबार सेतोपाटीसँग अनसनरत विद्यार्थी सरोज थापाले भने, ‘नेतृत्वले हाम्रो माग सुन्नुभएन भने रिले अनसनलाई आमरण अनसनमा परिवर्तन गर्छौं तैपनि आन्दोलन छाड्दैनौं।’
उनले नेताहरू आफैंले बनाएको विधान अहिले मिच्ने चलखेल गरिराखेको पनि आरोप लगाए।
‘१९ दिनदेखि दिनरात पार्टी कार्यालय कुरिरहेका छौं। नेता भेटिनेबित्तिकै विधान मिच्न पाइँदैन। हामी गुटभन्दा भिन्न भएर विधान कार्यान्वयन गर्नुपर्यो भन्ने दबाब नेतृत्वलाई दिन चाहन्छौं,’ थापाले भने।
रिले अनसन बसेका विद्यार्थीको गलामा सयपत्रीको माला हुन्छ। सिफ्ट हस्तान्तरण गर्दा माला अर्को साथीलाई लगाइदिन्छन्।
‘हामी आफैंले खर्चको जोहो गरेर खाजा, खाना र मालाको व्यवस्थापन गरिएको छ,’ थापाले भने।
उनले विधान कार्यान्वयन नभएसम्म अनसन जारी राख्ने बताए।
‘जुन दिनसम्म विधान कार्यान्वयन हुँदैन त्यो दिनसम्म अनसन जारी रहन्छ। दुई महिना तीन महिना किन नहोस्,’ उनले भने।
केन्द्रीय समिति बैठकमा आउजाउ गर्दा सभापति शेरबहादुर देउवा अनसन छेउबाटै जान्छन्। तर अहिलेसम्म किन अनसन बसिराखेको भन्ने चासो दिएका छैनन्।
‘सभापतिले हामीसँग उभिएर वाचा/प्रतिवद्धता जनाउनुभएको छैन। नजिकबाट हाम्रो अनसन त नियालिरहनुभएकै छ। कुनै दिन ऐतिहासिक निर्णय लिनुहुनेछ भन्ने अपेक्षा छ,’ थापाले भने।
गत माघमा कार्यकाल सकेर विघटन भएको केन्द्रीय समितिका सदस्य नवराज त्रिपाठी पनि अनसन बस्छन्। उनले विधान कार्यान्वयन आफूहरूको प्रमुख माग रहेको सुनाए।
‘अनसन बसेकैले सभापतिज्यू नैतिक दबाबमा हुनुहुन्छ। नभए ५० वर्ष कटेकोलाई नै उहाँले नेविसंघको नेतृत्वमा ल्याइसक्नुहुन्थ्यो,’ त्रिपाठीले सेतोपाटीसँग भने, ‘बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अलि लचक भए पनि अझै सभापतिज्यू हाम्रो मागप्रति सकरात्मक भइसक्नुभएको छैन।’
उनले नयाँ विधानअनुसार नै धेरै जिल्लामा अधिवेशन गरिसकिएकोले पनि केन्द्रीय समिति उमेर हदभित्रैबाट आउनुपर्ने जिकीर गरे।
‘जिल्ला अधिवेशन गर्दा उमेर हद लागू गरिसकियो,’ उनले भने, ‘अब केन्द्रीय समितिमा पनि लागू हुनुपर्छ। यसको विकल्प छैन।’
नैनसिंह महर नेतृत्वको नेविसंघ गत माघमा विघटन भएपछि ११ महिनादेखि केन्द्रीय समिति छैन। पार्टी सभापति शेरबहादुर देउवाले सुनसरीका राजिव ढुंगानालाई नेविसंघ नेतृत्वमा ल्याउन बरिष्ठ नेता पौडेलसँग राय मागेपछि नेविसंघमा विरोध भइरहेको हो।
सभापति देउवाले २६ मंसिरमा केन्द्रीय समिति बैठकमा नेविसंघको एजेन्डा पेश गरे पनि कुनै निर्णय भएको छैन। गत कात्तिकमा कार्यकाल सकिएको तरूण दलको भने छ महिना म्याद थपिएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले छिट्टै नेविसंघले नेतृत्व पाउने बताए। ‘नेताहरूबीच छलफल गरेर आउँदो बुधबारसम्म नेविसंघले नेतृत्व पाउँछ,’ उनले सेतोपाटीसँग भने।
नेविसंघमा ११ औं महाधिवेशन गर्ने कार्यसमिति बनाउने कि दुई वर्ष नै कार्यकाल हुने समिति बनाउने भन्नेमा पनि विवाद छ। पार्टीको महाधिवेशन ०७७ फागुनमा तोकिएकोले त्यसअघि नेविसंघ महाधिवेशन गर्ने पक्षमा नेतृत्व छैन।
नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले पार्टी नेतृत्वले भातृ संस्थालाई अलपत्र पारेको बताउँछन्। ‘महाधिवेशन गर्न नदिने, नेतृत्वविहीन बनाएर संगठनलाई अलपत्र बनाउने काम पार्टी नेतृत्वबाटै हुनु दु:खद हो,’ उनले भने, ‘विधान कार्यान्वयन हुने गरी छिटो नेविसंघलाई नेतृत्व दिनुपर्छ।’