नेपाली कांग्रेसको आन्तरिक कलह पछिल्लो समय गहिरिँदै गएको छ। सभापति शेरबहादुर देउवाले गरेका निर्णयको प्रतिरोध गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबारदेखि जिल्ला सभापतिहरूको भेला गरेका छन्।
पार्टी कार्यालय सानेपामा ४५ जिल्लाका कांग्रेस सभापतिहरू देउवाले पछिल्लो समय गरेका निर्णयबारे छलफल गर्दैछन्।
महामन्त्री शशांक कोइराला पनि सहभागी भएको छलफलमा सभापतिहरूले पार्टी विधानअनुसार नचलेको बताएका छन्।
पुस ११ गते सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू मात्रै उपस्थित केन्द्रीय समिति बैठकले कार्यकाल एक वर्ष थप गर्ने, ०७७ फागुन ७ देखि १० सम्म १४ औं महाधिवेशन गर्ने, विभाग संख्या ४७ बनाउने र सदस्यतासम्बन्धी धारा १४ औं महाधिवेशनका निम्ति मात्रै निलम्बन गर्ने निर्णय गरेपछि कांग्रेसभित्र विवाद छ।
साधारण सदस्य पाएको एक वर्षपछि मात्रै उपर्युक्त भएमा क्रियाशील सदस्यता दिन सकिने विधानको धारा निलम्बन गरेर पुस ११ मा जुनसुकै बेला पनि केन्द्रीय समितिले क्रियाशील सदस्यता वितरण गर्न सक्ने बनाइदिएपछि कांग्रेसमा विवाद उत्कर्षमा पुगेको हो।
एक वर्षअघि (पुस ८ गते) सकिएको महासमिति बैठकले बनाएका विधान कार्यान्वयन नगर्दै सभापति देउवाले बहुमतका आधारमा धारा निलम्बन गरेपछि देउवाइतर समूह रूष्ट छन्।
महासमितिले बनाएको विधान केन्द्रीय समितिले निलम्बन गरेकोमा जिल्ला सभापतिहरूले पनि विरोध गरेका छन्। पार्टी विधानअनुसार सञ्चालन नभएको चिन्ता जिल्ला सभापतिहरूमा छ।
बैठकमा सहभागी पौडेल र सिटौला पक्षका जिल्ला सभापतिलाई सेतोपाटीले किन गुटगत भेलामा आउनुभएको? धारा निलम्बनले के असर पार्छजस्ता प्रश्न गर्दा उनीहरूले यस्तो जवाफ दिए।
अमरसिंह पुन, सभापति रोल्पा
बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले अहिलेको परिस्थितिबारे कुराकानी गर्न बोलाएपछि काठमाडौं आएको हो। पार्टी सभापति विधि र सिद्धान्तअनुसार हिड्नुभएन सुझाव दिनुपर्यो भनेपछि जिल्ला सभापति भेलामा आएको हुँ।
पार्टीलाई विधि र सिद्धान्तअनुसार चलोस् भन्ने दवाव र सुझाव दिन हामी परामर्श बैठकमा छौं।
महासमिति बैठकले पास गरेका विधानलाई केन्द्रीय समितिले चलाएको छ। यो विधिअनुसार भएन। गत वर्ष मात्रै महासमिति बैठकले बनाएको विधान मसी नसुक्दै धारा निलम्बन गर्ने काम भएको छ।
अहिलेसम्मका महाधिवेशनहरू कांग्रेसजनका लागि उत्सव जस्तै थियो। अहिले बहुमतका आधारमा कार्यतालिका ल्याइएको छ। पार्टीमा एकता र सहकार्यको सिद्धान्त हटाएर बेथितीतर्फ जान खोजेको छ।
पार्टी नेतृत्व विधिअनुसार चल्नुपर्छ। क्रियाशील सदस्यताको धारा निलम्बन गरिएको छ। हाम्रो पार्टीमा दुई प्रकारका सदस्यता हुने विधानमा प्रष्टै छ।
नेपाली कांग्रेसको सदस्यता त्यो साधारण सदस्यता हो। अर्को क्रियाशील सदस्यता हो। एक वर्ष साधारण सदस्यता लिएको व्यक्ति योग्य भएमा मात्रै उसले क्रियाशील सदस्यता पाउने हो।
तर केन्द्रीय समितिले विधानको सदस्यता सम्बन्धी धारा निलम्बन गरेर जसलाई जुन बेला पनि क्रियाशील सदस्यता दिए पठाउन सक्ने बनाएको छ यो विधिअनुसार भएन।
साधारण सदस्यता लिएको एक वर्ष पार्टीमा काम गरेर, समय दिएर सिद्धान्त बुझेकोलाई सम्बन्धित वडाबाट क्रियाशील सदस्यता दिने विधानअनुसार नियम हो।
महाअधिवेशन हुने वर्ष छ महिना अघि नै क्रियाशिल सदस्यता वितरण गरिसक्नुपर्छ। छ महिना अघि क्रियाशील सदस्यता लिएको व्यक्तिले मात्रै अधिवेशनमा मतदाता नामावलीमा नाम हुन्छ भने उम्मेदवार पनि बन्न पाउँछ।
तर पुस ११ गतेदेखि त्यो नियम निलम्बन गरिएको छ। अहिले सडकमा हिडिरहेको छ उसलाई अहिले नै क्रियाशील सदस्य दिन सक्ने गरी धारा निलम्बन गरियो।
आज कांग्रेस प्रवेश गर्यो आजै अधिवेशनमा भाग लिन पाउने व्यवस्था गर्दा पुराना साथीलाई आँच पुग्ने काम भएको छ यो निर्णय सच्याउनुपर्छ। हामी गुटको भेलामा आएको होइन, अधिवेशनको तयारीका लागि पनि यो बैठक गरेको होइन। हामी त बलियो कांग्रेस बनोस्, पार्टी विधि र विधानअनुसार चलोस् भन्ने चाहन्छौं।
भुवन श्रेष्ठ, सभापति गुल्मी
पार्टीमा देखिएको विवाद हल गर्न परामर्शका लागि आएको हुँ। पार्टी विधानलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरियो कि भन्ने छ। पार्टी विधिसम्मत रूपमा संस्थागत रूपमा चलेन भन्ने हाम्रो चिन्ता हो।
महाधिवेशनको कार्यतालिकाबारे त्यति ठूलो विमति छैन जस्तो मलाई लाग्छ। अनावश्यक अडान कसैले पनि लिनु हुन्न। एक दुई महिना छिटो ढिलो हुँदा केही फरक पर्दैन।
विधानका धारा निलम्बन आफैंमा असंवैधानिक छ।
पार्टी विधिसम्मत ढंगले चलाउनुपर्छ। जिल्ला सभापतिको चिन्ता त्यही हो। यो गुट त्यो गुट होइन मध्यमार्गीबाटो हिड्ने र संवादहिनताको बाटो चिरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ छ।
महासमितिको निर्णअनुसार अघि बढ्न नसक्दा विवादहरू भइरहेका छन्। केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि बन्न दिन हुन्न र आरक्षको सिट तथा समानुपातिक सिट दोहोर्उन हुन्न भन्ने महासमिति बैठकमा कुरा उठाएका थियौं त्यो बेला लागू गरिएन।
महासमितिका कुरा नमानेकोले एकपछि अर्को गरी विधान मिच्ने काम भइरहेका छन्। क्रियाशील सदस्यता धारा निलम्बन गर्न हुँदैन। हिँड्दै गरेकालाई क्रियाशील सदस्यता बाँड्ने र व्यक्ति अघि बढ्ने जस्तो देखिएको छ।
पार्टीको सिद्धान्त बुझ्न समय लाग्छ जसलाई पनि क्रियाशील सदस्यता दिन हुँदैन। केन्द्रीय समितिले चाहेमा जसलाई पनि जुनबेला पनि क्रियाशील सदस्यता वितरण गर्ने कुरा मान्य हुँदैन।
पार्टीमा त्याग गरेका इतिहास बोकेका मान्छे चिन्ने खालका क्रियाशील सदस्य हुनुपर्छ भन्ने हो। जसलाई पनि क्रियाशील दिँदा त्यसले सवल र सक्षम नेतृत्व चिन्न सक्दैन।
सभापतिलाई भन्दा पनि पार्टीलाई फाइदा हुने गरी अघि बढौं भन्ने मेरो भनाइ छ। भर्खरै प्रवेश गर्नेलाई कसरी क्रियाशील दिन सकिन्छ? यस्तो निर्णयले त संस्थापन र इतरलाई भन्दा पनि कांग्रेसलाई फाइदा पुग्दैन। कामको मूल्यांकन नगरी क्रियाशील सदस्यता दिन सकिँदैन।
कांग्रेस विधानलाई मान्ने पार्टी हो। व्यक्तिलाई भन्दा विधिलाई महत्व दिनुपर्छ। विधि मानेन भने पार्टी भद्रगोल हुन्छ। भागबन्डाको स्थितिमा दुवै पक्षले विगतमा विधान मिच्दा अहिले यस्तो अवस्था सिर्जना भएको हो। विधान मिच्ने परिपाटी नै बस्यो।
जगदीश्वरनरसिंह केसी, सभापति नुवाकोट
हिजोदेखि परामर्श बैठकमा सहभागी छौं। भेलामा सभापतिहरूले विचार राख्दै हुनुहुन्छ। परिस्थितिलाई कसरी समाधान गरी जाने विकल्प खोज्नुपर्यो भनेर भेला गरिएको हो।
चार वर्षे कार्यकाल समाप्त हुँदा नहुँदै एकतर्फी ढंगले बहुमतका आधारमा कार्यतालिका आएको छ।
विधानका संवेदनशील धारा निलम्बन गर्ने गलत नजिर बहुमतका बलमा गरिएको छ त्यो पनि महाधिवेशनको संघारमा। सहमति नगरी कार्यतालिका ल्याइनु नै महाधिवेशनका दृष्टिले कताकता नेता पारदर्शी भएनन् कि भन्ने आशंका गर्ने ठाउँ बन्यो।
हामी पार्टी सभापतिलाई पनि भेटेर पनि निचोड सुनाउँछौं। सदस्यता धारा निलम्बन गर्नु हुँदैनथ्यो। यो सच्याउनुपर्छ।
महाधिवेशन हुनु छ महिनाअघि क्रियाशील सदस्य लिनेले मात्रै मतदाता नामावलीमा नाम हुने र उम्मेदवार हुन पाउने विधानमा व्यवस्था थियो। त्यो व्यवस्था अहिले निलम्बन गरिएको छ।
एकछिन मानौं, कुनै ठाउँमा मतदान भइरहेको छ। २० भोट पुगेन भने केन्द्रीय समितिले अहिले क्रियाशीलको नाम पठाइदियो भने उसले उत्निखेरै मतदान गर्न पाउने भयो। यस्तो व्यवस्थाले त पार्टीमा विवाद ल्याउँछ।
जसलाई जतिबेला आवश्यक पर्छ त्यतिबेला क्रियाशील सदस्यता पठाउन सक्ने गरी धारा निलम्बन गर्दा चरम विवाद हुन्छ। साधारण सदस्यता लिएको वर्षदिनपछि छानविन भएर छ मात्रै क्रियाशील सदस्य दिने विधानमा व्यवस्था थियो। त्यो बहुमतका आधारमा अहिले किन उल्टाउने खेल भयो? यसले महाधिवेशन निष्पक्ष, पारदर्शी र विश्वासिलो हुन्छ भन्नेमा आशंका उत्पन्न गराएको छ।
सुशील कोइराला सभापति हुँदा शेरबहादुर दाइले ९ महिना बैठक बहिष्कार गर्नुभयो। उहाँ फलेको बृक्ष हो। झुक्नुपर्छ। पार्टीको ठूलो मान्छे भएर त सबैलाई मिलाएर लैजानुपर्ने हो।
हामी गुट भेलामा आएको होइन। सभापति र बरिष्ठ नेताका गल्ती कमजोरीबारे पनि छलफल गरेर सच्चिन सुझाव दिन्छौं। पार्टीमा देखिएको विवाद चाँडै हल हुनुपर्छ भन्ने जिल्ला सभापतिको चाहना हो।
विष्णु मुस्कान, सभापति अर्घाखाँची
सभापतिले विधान विपरीत काम गर्नुभयो। पार्टी एकतालाई कमजोर पार्ने काम गर्नुभयो भनेपछि परामर्श बैठकमा सहभागी हुन आएको हुँ।
महासमिति बैठकले पास गरेको विधान केन्द्रीय कार्यसमितिले निलम्बन गर्न पाइँदैन भन्ने इस्यु उठेको छ। त्यो जायज छ।
पार्टीमा विधान मिच्दै जाने हो भने मनपरी चल्छ। भद्रगोल हुन्छ। हामीले अधिवेशनको कुरा गर्नु स्वभाविक हो। आफ्ना पक्षमा पार्ने कुरालाई पनि स्वभाविक रूपमा नै लिनुपर्छ।
हामी यो बैठकपछि शेरबहादुर देउवा र महामन्त्री पूर्णबहादुर खड्कालाई पनि भेट्छौं। विधिसम्मत तवरले पार्टी चल्नुपर्यो भन्ने सुझाव दिन्छौं।
पार्टी साठी/चालिस भागबन्डाले होइन सक्षमले अघि बढाउनुपर्छ। केही साथीहरूले हामीलाई पार्टी फुट्ने हो कि विभाजन हुने हो कि भन्ने चिन्ता पनि गर्नुभएको छ। हामी त्यसो हुन दिँदैनौं। पार्टीलाई झन् बलियो बनाउन सुझाव दिने जिल्ला सभापतिको काम हो।
सभापति बलियो बन्नुपर्छ भन्दैमा जे मनलाग्यो त्यही गर्न हुँदैन। लोकतान्त्रिक पार्टीले विधि विधान उलंघन गर्नु स्वभाविक हुन्न।
किरण कोइराला, सभापति बाँके
बरिष्ठ नेता र महामन्त्रीले बोलाएपछि भेलामा आएको हुँ। विधानको धारा निलम्बन गरिएको रहेछ त्यो राम्रो होइन। महासमिति बैठकका बेला सबै मिलेर विधान बनाएका हुन्। अहिले बहुमतका आधारमा त्यसलाई चलाउन मिल्दैन।
जहिले पनि विधानको धारा निलम्बन गर्ने परिपाटी छ। यसले पार्टी संस्थागत हुँदैन। जीवन्त पार्टीमा यस्ता कमीकमजोरी भइराखेका त हुन्छन् तर त्यसलाई छलफल गरेर सच्याउन तयार हुनुपर्छ।
सबैभन्दा ठूलो कुरा क्रियाशील सदस्यता सम्वन्धी छ। साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशीद्य पाउने भन्ने धारा नै निलम्बन गरिएछ।
पार्टीमा काम गरेको समय दिएको व्यक्तिलाई पो क्रियाशील सदस्यता दिन सकिन्छ। जसलाई पनि क्रियाशील सदस्यता दिँदा त पार्टी बिग्रन्छ।
हाम्रो पार्टीमा गुट उपगुट छ। विधिअनुसार पार्टी चलेन। गुट उपगुटमा पार्टी फसेको छ। पार्टीलाई बलियो बनाउनेभन्दा कसरी कुर्सी बलियो बनाउने खेल भइरहेको छ।
वीपीले सुरूवात गरेको यो पार्टी लोकतान्त्रिक पार्टी हो। सबैले न्याय पाउनुपर्छ। सशक्त हुनुपर्छ।
कम्युनिष्टको दुई तिहाइकै दम्भ भएकै बेला हाम्रो पार्टी पनि दुई गुटमा बाँडिएको छ। कसरी पार्टी बलियो बनाउने भन्दा कुर्सी बलियो बनाउनेतिर लाग्नु राम्रो होइन।
विधान निलम्बन गरेर होइन कार्यकर्ता र जनता रिझाएर पो व्यक्ति बलियो हुने हो त। कसैको विरोध कसैको समर्थनका लागि भन्दा पनि पार्टीलाई विधिअनुसार हिँडाउनुपर्छ।