बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको दोहोर्याएका छन्। प्रसाईंले यसको प्रमाण आफैं भएको भन्दै गिरीलाई आफूसँग ‘आमने-सामेन’ हुन चुनौती दिए।
सेतोपाटीसँग कुरा गर्दै बिहीबार प्रसाईंले गिरीले आफूसँग बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा २० करोड रुपैयाँ मागेको बताए।
‘२० करोड दिन नसके आफ्ना सम्धीको नाममा कलेजको दस प्रतिशत सेयर दिन गिरीले प्रस्ताव राख्नुभयो,’ प्रसाईंले भने।
तपाईं कलेजको अनुमति लिन आयोगको कार्यालयको सट्टा किन होटलमा जानुभयो? भन्ने प्रश्नमा प्रसाईंले आफू सुरूमा आयोगमै गएको दाबी गरे।
‘म धेरै अघिदेखि आयोगमा गएको थिएँ। मंसिर १५ गते बिहान ११ बजे पनि आयोगमै गएको थिएँ, गिरी सरलाई भेटेँ, उहाँले साँझ साढे पाँच बजे बत्तीसपुतलीको द्वारिकाज होटलमा भेट्न भन्नुभयो,’ उनले भने, ‘सम्बन्धनका लागि धाइरहेको म किन नभेट्ने भनेर गएँ।’
प्रसाईंका अनुसार गिरी सवा ६ होटलमा आइपुगे।
‘म अगाडि नै गएर कुरिरहेको थिएँ,’ प्रसाईंले भने, ‘उहाँ केही ढिलो आउनुभयो।’
भेटमा गिरीसँग आधा घन्टा कुरा भएको प्रसाईंले बताए।
कुराकानीको सुरूमा गिरीले नेकपा नेता नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम लिएको प्रसाईंले दाबी गरे।
‘हेर्नुस्, म कसरी यहाँसम्म आएँ भन्ने तपाईंलाई थाहा छँदैछ, मैले नि नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्रीज्यूलाई मिलाउनुपर्छ,’ गिरीको भनाइ उल्लेख गर्दै प्रसाईंले भने।
गिरीले त्यसो भनेपछि आफूले ‘के कति मिलाउनुपर्ने हो?’ भनी सोधेको प्रसाईंले बताए।
‘उहाँले २० करोड भन्नुभयो,’ प्रसाईंले भने, ‘म त छाँगाबाट खसेजस्तै भएँ।’
एक दुई करोडसम्म त मिलाउन सकिएला भन्दै त्यत्रो रकम निकाल्न नसक्ने आफूले गिरीलाई भनेको उनले बताए।
‘अहिले अख्तियार, सम्पत्ति शुद्धीकरण सबै सक्रिय भएका बेला मैले २०-२० करोड रुपैयाँ घुस कसरी दिन सक्छु र, हिसाब कसरी मिलाउन सक्छु?,’ प्रसाईंले भने, ‘एक दुई करोड त मिलाउन सकिन्छ भनेँ।’
गिरीले दोस्रो विकल्पबारे पनि आफूसँग कुरा गरेको प्रसाईंले दाबी गरे।
‘विर्तामोडमा सम्धी हुनुहुन्छ, गिरीबन्धुहरू उहाँको नाममा १० प्रतिशत सेयर मिलाइदिनुस्,’ गिरीको प्रस्ताव उल्लेख गर्दै उनले भने।
यति कुरापछि गिरीसँग आफू छुट्टिएको प्रसाईंले बताए।
आफूले गिरीका सम्धीलाई चिनेको तर प्रेसमा अहिले उनको नाम नबताउने उनले उल्लेख गरे।
सो घटना भएकै दिन आफूले नेकपाका नेता तथा पर्यटन मन्त्री योगेश भट्टराईलाई बताएको उनले दाबी गरे।
‘बेलुका साढे ९ बजे म योगेश दाइकहाँ गएँ, चिकित्सा शिक्षा ऐन ल्याउँदा उहाँले भूमिका खेल्नुभएको थियो,’ प्रसाईंले भने, ‘उहाँलाई गिरी सरले राखेको प्रस्ताव सुनाएँ।’
भट्टराईले ‘दुर्गाजी, यो कुरा त बाहिर ल्याउनुपर्छ’ भनी सुझाएको प्रसाईंले बताए।
‘यो कुरा पत्याउनुहुन्न भने योगेश दाइलाई सोध्नुस् न,’ प्रसाईंले भने।
भोलिपल्ट मंसिर १६ गते बिहान साढे छ बजे आफू नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार गएको पनि उनले बताए।
‘मैले गिरी सरको प्रस्ताव प्रचण्डलाई पनि सुनाएँ,’ प्रसाईंले भने,‘उफ्, यस्तो पनि गर्ने! भनेर उहाँ दु:खी हुनुभयो।’
मंसिर १५ गतेको घटनापछि आफूले उच्च नेता, शुभचिन्तकसँग राय-सल्लाह लिएको र त्यसपछि मात्र पत्रकार सम्मेलन गरेर कुरा बाहिर ल्याएको उनले बताए।
चिकित्सा शिक्षा ऐन आफ्नै लागि आएको तर अहिले आफूमाथि नै अन्याय गरिएको उनले जिकिर गरे।
‘यो (चिकित्सा शिक्षा ऐन देखाउँदै) कसका लागि ल्याइएको हो? मैले भनिरहनुपर्छ र यो मेरै (बिएण्डसी) का लागि ल्याएको हो भनेर?,’ प्रसाईंले प्रश्न गरे, ‘ऐनले नदिनू भनेको छ र गिरीले निवेदन रोक्नलाई?’
आफूलाई निवेदन दिन ‘कसैले’ सुझाव दिएपछि नै आयोग गएको दाबी उनले गरे।
तर, गिरीले रोकेपछि आफ्नो कलेजले सम्बन्धनको प्रक्रियाको पहिलो चरण नै पूरा गर्न नपाएको उनले बताए।
‘उहाँ (गिरी) को हो? सरकारले नियुक्ति गरेको मान्छे हैन? प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसदले ल्याएको कानुन उहाँले मान्नुपर्दैन?,’ प्रसाईंले भने, ‘घुसको कुरा लिएर अब म राज्यका निकाय जान्छु।’
प्रसाईंले गिरीविरूद्ध अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन लिएर जाने चेतावनी दिए।
‘घुस लिनेलाई मात्र हैन, घुस माग्नेलाई पनि कारबाही हुन्छ होला नै,’ प्रसाईंले बताए।
सम्बन्धनको विषयमा नेकपा अध्यक्ष प्रचण्डसँग कुराकानी भइरहेको उनले बताए।
उनले घुस र सम्बन्धनको प्रक्रिया कसरी अगाडि बढाउनेबारेमा कुरा गर्न प्रचण्डसँग शुक्रबार भेट्न लागेको प्रसाईंले खुलाए।
प्रसाईंले ऐन देखाएर सम्बन्धनका लागि सर्वोच्च अदालत जाने बताए।
‘यो कानुनमा आशयपत्र पाउने मेडिकल कलेजलाई सम्बन्धन रोकिने छैन भनिएको छ,’ उनले भने, ‘कानुनले दिएको सुविधा मैले कसरी नपाउने? यत्रो अर्बौं खर्च गरेर पूर्वाधार बनाउन दिइयो, कानुन बन्यो, मैले एमबिबिएस अध्यापनको तयारी थालेँ। यतिबेला सम्बन्धनको निवेदन नै दर्ता नगर्ने?’
प्रसाईंले अब कानुनी लडाइँबाट सम्बन्धनको प्रक्रिया टुंग्याउने दाबी गरे।
यता, गिरीले प्रसाईंले लगाएका सबै आरोप ‘मिथ्या’ रहेको बताए।
उनले व्यक्तिगत रूपमा प्रसाईंसँग कहिल्यै भेट नभएको दाबी गरे। ‘सामूहिक रूपमा उहाँलाई भेटेको छु,’ उनले भने, ‘व्यक्तिगत रूपमा अहिलेसम्म भेटेको छैन।’
गिरीले आफू द्वारिकाज होटलमा पाइला नटेकेको २० वर्ष भएको दाबी गरे।
‘द्वारिकाज होटलमा नगएको २० वर्ष भयो,’ उनले भने।
‘भेट नै नभएकाले घुस र सम्धीको नाममा सेयरको कुरा कसरी आउँछ?,’ गिरीले भने।
उनले प्रसाईंले लगाएको आरोपबारे कानुनी उपचारमा जानका लागि परामर्श गरिरहेको बताए।
उनले कागजात पूरा गरेर आए सम्बन्धनको निवेदन दर्ता हुने बताए। ‘ऐनमा जे छ, ती कागजात लिएर आउनुस् भनेको हुँ, दर्ता गर्दिनँ भनेको छैन,’ गिरीले भने, ‘मैले ऐनले तोकेका कागजात लिएर आउनुस् भनेको हुँ। लिएर आए हुन्छ।’
आफू प्रसाईंसँग आमने-सामने नहुने गिरीले बताए।
‘यस्तो जथाभावी बोल्दै हिँड्ने, बोल्ने मान्छेसँग आमने-सामने भएर कुरा गर्नुको के अर्थ?,’ गिरीले भने।
यो पनि :
शिक्षा आयोग उपाध्यक्ष गिरीले होटलमा बोलाएर २० करोड घुस मागे: दुर्गा प्रसाईं