प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा दिन गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहङफेले अस्वीकार गरेकी छन्।
शुक्रबार दिउँसो नेकपाका दुई अध्यक्षले उपसभामुख तुम्बाहाङफेसँग प्रधानमन्त्री निवास बालुवाटार छलफल गरेका थिए।
सो क्रममा दुबै जनाले पदबाट राजीनामा दिएर सभामुख निर्वाचनको बाटो खोलिदिन तुम्बाहाङफेलाई आग्रह गरेका थिए।
जवाफमा तुम्बाहाङफेले आफू सभामुखका लागि अयोग्य हुनुको कारण खोजेकी थिइन्।
'म विद्यार्थीकालदेखि राजनीतिमै सक्रिय छु। अध्ययन-अध्यापन पनि गरेकी छु। मेरो कमजोरी के छ,' उपसभामुखको भनाइ उद्धृत गर्दै उच्च स्रोतले सेतोपाटीसँग भन्यो, 'सभामुखले गरेको गल्तीको दोष मैले पाउनु पर्ने कारण के छ?'
उनले आफू २०३५/०३६ को विद्यार्थी आन्दोलनमा लागेको, अनेरास्ववियुको उपाध्यक्ष भएको, युवासंघ र महिला संघमा रहेर काम गरेको, कानुन व्यवसायी बनेको, उपप्रध्यापक रहेको, पिएचडी गरेको, उपसभामुख भएर सफलतापूर्वक काम गरेकोलगायतका १२ क्षमता पेस गरेको स्रोतले बतायो।
उपसभामुख तुम्बाहङफेले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र संसदीय दलका प्रमुख सचेतक देव गुरूङको अभिव्यक्तिप्रति समेत आपत्ति जनाएको स्रोतले बतायो।
श्रेष्ठ र गुरूङले तुम्बाहङफेले राजीनामा नदिएका कारण सभामुख चयनको प्रक्रिया अगाडि बढ्न नसकेको बताएका थिए।
पार्टीको औपचारिक पदमा रहेका नेताले प्रक्रियागत रूपमा कुरै नगरी आफूलाई आरोप लगाएको भन्दै तुम्बाहाङफेले दुई अध्यक्षसँग असन्तुष्टि जनाएकी हुन्।
केही दिनअघि सचिवालय सदस्य वामदेव गौतमको निवास भैंसेपाटी बैठकमा उपसभामुखको कारण सभामुख प्रक्रिया प्रभावित भएको भनेर नेताहरूले आरोप लगाएको भन्दै तुम्बाहाङफेले त्यसमा आपत्ति जनाएकी थिइन्।
बुधबार गौतमको भैंसेपाटी निवासमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भएका थिए।
सभामुखका लागि योग्य नठहर्याए आफूलाई उपसभामुखमै रहन दिनसमेत उनले दुई अध्यक्षलाई आग्रह गरेको स्रोतको भनाइ छ।
'म अब प्रक्रिया अगाडि बढाउँछु। उपसभामुखको हैसियतले मैले गर्ने काम गर्छु,' उपसभामुखको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'पुस २७ गते सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढ्छ। तपाईंहरू जे गर्नुहुन्छ गर्नुस्। मलाई हटाउने हो भने संविधानको व्यवस्थाअनुसार हटाउनुस्।'
संविधानमा उपसभामुखले आफैंले राजीनामा नदिएमा महाभियोग लगाएरमात्रै हटाउन सकिने व्यवस्था छ।
उपसभामुखले राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाए संविधानअनुसार नेकपाले सभामुखमा दाबी गर्न मिल्दैन।
एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नपाइने भएकाले नेकपाले सभामुखको दाबी गर्न तुम्बाहाङफेले राजीनामा दिनुपर्छ। त्यसपछि संसदका जेष्ठ सदस्यले सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउने बाटो खुल्छ।
अहिले एकातिर तुम्बाहाङफेले राजीनामा नगर्ने अडान लिइरहेकी छन् भने अर्कातिर नेकपाभित्र पनि सभामुखका लागि सहमति जुट्न सकेको छैन।
प्रधामन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने नेकपाका अर्का अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका छन्।
पूर्वमाओवादी पक्ष नेताहरूले सभामुख आफूहरूले नै पाउनु पर्ने दाबी गर्दै आएका छन्। उपसभामुखले आफ्नो दाबी छाडेकी छैनन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको स्रोतको दाबी छ।
सभामुख चयनकै विषयमा सहमति हुन नसक्दा प्रतिनिधि सभाको बैठक दुई पटकसम्म सूचना टाँसेर स्थगित भइसकेको छ।
पुस ४ गतेदेखि संसदको हिउँदे अधिवेशन सुरू भएको हो। त्यसपछि पुस ११ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर १६ गतेसम्मका लागि स्थगित गरियो। पुस १६ गते बस्ने भनिएको बैठक पुस २७ सम्मका लागि स्थगित गरिएको छ।
यसैबीच सभामुख निर्वचनकै विषयमा छलफल गर्न नेकपाले शनिबार ४ बजे सचिवालय बैठक बोलाएको छ।