उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षसहितका नेताहरूसँग छलफल गरेपछि आज डाकिएको संसद बैठक सूचना टाँसेर स्थगित भएको छ।
यसअघि बैठक चलाउने तयारीमा रहेकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान छलफलका लागि बालुवाटार बोलाएका थिए।
उक्त छलफलमा महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी थिए।
स्रोतका अनुसार छलफलमा तुम्बाहाङ्फेले शनिबार बसेको नेकपा सचिवालय बैठकले आफूलाई राजीनामा दिन लगाउने निर्णयबारे जिज्ञासा राखेकी थिइन्।
‘त्यो निर्णय कसले लेखेको हो? भनेर उहाँले सोध्नुभयो,’ बैठकमा सहभागी एक नेताले सेतोपाटीसँग भने,‘महासचिव कमरेडले मैले लेखेको हो भनेपछि तपाईंको निर्णय तपाईंसँगै राख्नुस् भन्ने जवाफ दिनुभयो।’
वातावरण असहज भएपछि अध्यक्ष प्रचण्डले तुम्बाहाङ्फेलाई नेकपाले सभामुखमा दाबी गरेकाले त्यसका लागि पनि उपसभामुख खाली गर्नुपर्ने भएकाले राजीनामाको कुरा आएको बताएका थिए।
जवाफमा तुम्बाहाङ्फेले संविधानको त्यो व्यवस्था आफूलाई पनि राम्ररी थाहा भएको बताइन्।
उनले संसद सार्वभौमसत्ता सम्पन्न भएको र त्यसको प्रमुखलाई पार्टीले राजीनामा देऊ भन्न नमिल्ने धारणा राखेकी थिइन्।
‘संसद सार्वभौम संस्था हो। अहिले म त्यसको प्रमुख हुँ। त्यसैले निर्देशन दिन मिल्दैन,’ शिवमायालाई उद्धृत गर्दै ती नेताले भने,‘शक्ति सन्तुलनका हिसाबले पनि गलत हो।’
त्यसपछि नेताहरूले उनलाई आजको बैठक स्थगित गर्न सुझाव दिएका थिए।
‘उहाँहरूको सुझावअनुसार आजको बैठक स्थगित भएको हो,’ सेतोपाटीसँग कुरा गर्दै तुम्बाहाङ्फेले भनिन्।
आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ।