प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको लाचार छाया बनाउन खोज्नु लज्जास्पद भएको बताएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार निकालेको विज्ञप्तिमा सभामुख चयन प्रक्रिया अघि नबढाइनु र नेकपाभित्रको विवादको छायामा संसदलाई बनाउन खोज्नु आपत्तिजनक रहेको उल्लेख गरेका छन्।
‘नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायामा प्रतिनिधिसभालाई लाचार छाया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ,’ प्रवक्ता शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले संसद बैठक स्थगित हुनुलाई दु:खद भनेको छ। आइतबारका लागि डाकिएको बैठक सूचना टाँसेर माघ ६ गतेसम्म स्थगित गरिएको छ।
‘बैठक फेरिपनि स्थगित भएको बिषय दु:खद छ। कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ,’ शर्माले उल्लेख गरेका छन्।
असोज १३ गतेदेखि सभामुख रिक्त छ। सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा छन्।
‘स्वयं सत्तापक्षका कारण तीन महिनादेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिँदै कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिँदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गर्छ,’ शर्माले भनेका छन्।