कालो दौरा-सुरूवाल। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका। हातमा तरबार र शिरमा श्रीपेच।
पृथ्वीनारायण शाहको भेषभूषा पहिरिएर आइतबार गोरखामा झुल्किएका यिनी हुन्, ६२ वर्षीय ओमबहादुर श्रेष्ठ।
विभिन्न साना राज्य गाभेर आधुनिक नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा गोरखा नगरपालिकाले आइतबार पृथ्वीजयन्ती मनाउने कार्यक्रम राखेको थियो। गोरखा संग्रहालयभित्र उनको पूर्णकदको शालिकछेउ मानिस भेला हुँदै थिए। टोलटोलबाट झाँकीसहित र्याली कार्यक्रम स्थलतर्फ बढ्दै थियो।
एक्कासि औंला ठड्याउँदै पृथ्वीनारायणको भेषमा देखापरे, ओमबहादुर। उनी कसैसँग बोल्दैनथ्ये। बरू बेलाबेला तरबार चलाउँथे। पृथ्वीनारायणकै झल्को दिने गरी औंला ठड्याइरहन्थे।
उनी पृथ्वीनारायण जन्मेको गोरखा दरबारनजिकै पदेँलीका स्थानीय हुन्। उनलाई पृथ्वीनारायणको भेषमा देखेपछि र्यालीका सहभागी उनीसँग सेल्फी खिच्न थाले।
ओमबहादुरले यसरी भेष बदलेको पहिलोपटक होइन।
श्रेष्ठ पहिलोपटक नवौं गोरखा महोत्सवमा यस्तै भेषभूषामा देखिएका थिए। त्यसपछि मेला महोत्सव तथा मानिसहरू भिड हुने कार्यक्रममा उनी यही पहिरनमा देखिन्छन्।
‘तीन वर्ष भयो मैले बडामहाराजाधिराजको भेषभूषा लगाउन थालेको,’ सेतोपाटीसँगको कुराकानीमा श्रेष्ठले भने, ‘बाइसे-चौबिसे राज्य एकीकरण गरी सिंगो नेपाल बनाउनुभएका पृथ्वीनारायण शाहको योगदान भावी पुस्ताले नभुलून् भनेर मैले यसो गरेको हुँ।’
उनलाई पृथ्वीनारायणको योगदान भावी पुस्ताले बिर्सन्छ कि भन्ने चिन्ता छ। ‘पृथ्वीनारायणप्रति हामीले सम्मान दिन सकेनौं कि भन्ने लागेको छ,’ उनले भने, ‘एकता दिवसमा सरकारले विदा दिएन। हुन त स्थानीय सरकार (गोरखा नगरपालिका) ले बिदा दिएको छ।’
उनले यो पहिरन गोरखामै सिलाएका हुन्।
‘यो लुगा सिलाउँदा १०/१२ हजार रूपैयाँ खर्च लाग्यो,’ श्रेष्ठले भने, ‘व्यक्तिगत खर्चमै लुगा सिलाएको हुँ।’
‘तपाईंले लगाएको सुहाएको छ भन्छन्, फोटो खिचुँ खिचुँ भन्छन्,’ उनले खुसी हुँदै भने, ‘सेल्फी पनि खिच्छन्।’ उनलाई गोरखामा हुने विभिन्न कार्यक्रममा सहभागी भइदिन निम्तो पनि आउने गरेको छ।
‘यो लुगा लगाएर हाम्रो कार्यक्रममा आइदिनुपर्यो भन्छन्,’ उनले भने, ‘भ्याएसम्म गइदिने गरेको छु।’
उनी अहिले घरका काममा मात्रै व्यस्त रहन्छन्। केही वर्षअघिसम्म गोरखा नगरपालिकाका कर्मचारी थिए।
उनले यो पहिरन किन लगाएको भनेर ठट्यौली गर्नेलाई पृथ्वीनारायण मेरा हजुरबा हुन् भन्ने गरेका छन्। उनले काठको तरबार, नाङ्लोलाई काँटछाँट गरेर ढाल पनि बनाएका छन्। बाबियो र बिजुलीको चिमले श्रीपेच सजाएका छन्। ‘रङ लगाएपछि श्रीपेचजस्तै देखिएको छ,’ उनले भने।