प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख निर्वाचनमा पार्टीले भाग लिने संकेत गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसके कांग्रेसलाई उक्त पद छाड्न देउवाले चुनौतीसमेत दिइसकेका छन्।
‘नेकपाभित्र झगडा रहेछ। सभामुख टुंगो लगाउन नसक्ने हो भने हामीलाई छाडिदिनू, हामी चलाइदिन्छौं’ बुधबार मोरङमा देउवाले भनेका थिए।
कांग्रेसले सभामुख निर्वाचनबारे रणनीति बनाउन संसदीय दलको बैठक पनि डाकेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार दिउँसो १:३० बजे बैठक बस्नेछ।
कांग्रेसले सभामुख निर्वाचनमा पार्टीले भाग लिनेबारे आन्तरिक छलफल पनि सुरू गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सत्तारूढ नेकपा एउटा निर्णयमा पुगेपछि कांग्रेसले आफ्नो रणनीति बनाउँछ।
नेकपा सचिवालय बैठकले सभामुख पदमा पार्टीले उम्मेदवारी दिने र उपसभामुखको राजीनामा माग्ने निर्णय गरे पनि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पार्टी निर्णय आफूलाई नमान्ने अडान राखेकी छन्।
तुम्बाहाङ्फेले सभामुखमा आफू सक्षम रहेको पनि बताउँदै आएकी छन्।
‘नेकपाले के निर्णय गर्छ अनि हामी आफ्नो रणनीतिअनुसार अघि बढ्छौं,’ प्रवक्ता शर्माले सेतोपाटीसँग भने, ‘उपसभामुखले राजीनामा दिनुभएन भने अहिलेको अवस्थामा नेकपाले सभामुख पदमा उम्मेदवारी दिन मिल्दैन। सभामुख पदमा मात्रै निर्वाचन हुन्छ। उपसभामुखले राजीनामा दिनुभयो भने सभामुख र उपसभामुख दुबै पदका लागि निर्वाचन हुन्छ। पहिले कुन पदमा निर्वाचन हुन्छ भन्ने टुंगो लागेपछि हामी पार्टीबाट उम्मेदवार चयन गर्छौं।’
सभामुख पदका लागि मात्रै निर्वाचन हुने भएमा कांग्रेसभित्र दुई जना आकांक्षी छन्।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलकी सचेतक रहेकी पुष्पा भुसाल र सांसद चित्रलेखा यादवमध्ये एक सभामुख पदका लागि उम्मेदवार हुनेछन्। भुसाल पहिले पनि उपसभामुख पदमा उम्मेदवारी दिएकी थिइन्।
सभामुख कृष्णबहादुर महरालाई कांग्रेसले समर्थन गर्दै उम्मेदवार उठाएको थिएन।
केन्द्रीय सदस्यसमेत रहेकी सांसद यादव पूर्वउपसभामुख हुन्। तर प्रवक्ता शर्माले अहिले नै कसलाई कुन पदमा उम्मेदवार बनाउने टुंगोमा पार्टी पुगिनसकेको बताए।
‘कुन-कुन पदमा निर्वाचन हुने पहिले टुंगो लाग्नुपर्यो। नेकपाले कुन पदमा उम्मेदवारी दिन्छ भन्ने पनि प्रष्ट भइसकेको छैन। हामीसँग पार्टीबाट उम्मेदवार चयन गर्न पर्याप्त समय छ,’ शर्माले भने।
तीन महिनादेखि सभामुख पद रिक्त छ।
सभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी अभियोग लागेपछि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।
संसदको हिउँदे अधिवेशन आब्हान भएको एक महिना हुँदा पनि सभामुख चयनको प्रक्रिया अघि बढेको छैन।
पुस ४ गतेपछि तीन पटक संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ। अर्को बैठक माघ ६ गते दिउँसो १ बजे बोलाइएको छ।
उपसभामुख तुम्बाहाङ्फेले पहिले सभामुख उम्मेदवार चयन गर्न आग्रह गरिरहेकी छन्। उनले आफूलाई दलको कुनै निर्णय लागू नहुने बताएकी उनले माघ ६ को बैठक पनि आफूले सञ्चालन गर्ने बताउँदै आएकी छन्।
संदमा बहुमत भएको सत्तारूढ नेकपाभित्र सर्वसम्त रूपमा सभामुख उम्मेदवार चयन हुन सकेको छैन। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्।
तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पहिले पनि आफूहरूले सभामुख लिएको उल्लेख गर्दै पूर्वमाओवादीबाट नै सभामुख हुनुपर्ने अडानमा छन्। उनले अग्नी सापकोटालाई सभामुख बनाउनुपर्ने बताउँदै आएका छन्।