जति बेला शिवमाया तुम्बाहाङ्फे स्कुल पढ्थिन्, केटाहरू फुटबल खेलेको देख्दा उनलाई पनि खेल्न मन लाग्थ्यो।
उनले आफ्ना केटी साथीहरूलाई उक्साइन्। कोही नमानेपछि एक्लै गइन्। केटाहरू उनलाई खेलाउन तयार भएनन्। शिवमायाले नखेली नछाड्ने जिद्दी गरेपछि बल्ल माने।
त्यसपछिका दिनमा उनले केटाहरूसँगै थुप्रै प्रतिस्पर्धा खेलिन्। कहिले हारिन्, कहिले जितिन्।
चालीस वर्षपछि आज उनी राजनीतिको त्यस्तै मैदानमा छिन्, जहाँ उनको प्रतिस्पर्धा केटाहरूसँगै छ। सभामुखको दाबेदारका रूपमा अडेर बसेकी शिवमायालाई अन्तत: नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष मिलेर 'रेड कार्ड' देखाइदिए।
शिवमायाले जति बेला राजनीति सुरू गरिन्, फुटबलजस्तै यहाँ पनि केटीहरू विरलै देखिन्थे।
उनी आमाबाकी एक्ली छोरी। चार दाजुभाइ छन्। उनले घरमा छोरा र छोरीबीच कुनै अन्तर महशुस गरिनन्, 'मेरा चार दाजुभाइ जसरी हुर्के, म पनि त्यसैगरी हुर्किएँ।'
तेह्रथुमको पहाडी गाउँबाट झापा झरेपछि ब्राह्मण-क्षत्रीहरूसँग उनको संगत भयो। ती साथीहरूका घरमा छोरीमाथि हुने विभेद देखेर शिवमाया छक्कै पर्थिन्।
'हुन त म सानै थिएँ। तर पनि साथीहरूमाथि भएको विभेदले मलाई बिझाउँथ्यो,' उनले भनिन्।
उनको लिम्बू परिवारमा महिलाहरूको स्थान अरू समुदायमा भन्दा माथि हुन्छ। त्यहाँ समानताको अंश बढी हुन्छ। त्यसमाथि उनको परिवार शिक्षित र राजनीतिक रूपमा चेतनशील।
झापाको गौरादह गाउँमा जुन विभेद देखेर उनी छक्क पर्थिन्, आज त्यही विभेद देशको शासनकेन्द्र सिंहदरबारमा आफैंले भोग्नुपर्दा विरक्त छिन्। त्यो पनि त्यस्तो पार्टीमा, जसको समानताको सिद्धान्तबाट प्रेरित भएर उनी ४० वर्ष राजनीतिमा होमिइन्।
उनको राजनीतिक यात्रा स्कुले जीवनबाटै सुरू भएको हो।
उनको स्कुलमा साथीहरूले अध्ययन दल बनाएका थिए, जसले पैसा उठाएर किताब किन्थ्यो र बाँडीचुँडी पढ्न दिन्थ्यो। शिवमाया उक्त अध्ययन दलकी सक्रिय सदस्य थिइन्।
समूह बनाउने, अध्ययन गर्ने र सामूहिक गतिविधि लाग्ने अनुभव उनलाई यसैले दियो।
यो ०३५/३६ सालतिरको कुरा हो, जति बेला विद्यार्थी आन्दोलनले स्कुल-कलेजमा स्वतन्त्र विद्यार्थी युनियन खोल्न पाउने अधिकार स्थापित गरेको थियो। शिवमाया पनि स्कुलमै विद्यार्थी युनियनमा आबद्ध भइन्। संगठनका काममा सक्रिय भएर लागिन्।
आठ कक्षापछि उनी गौरादह माध्यमिक विद्यालयमा पढ्न थालिन्। त्यहाँ उनको राजनीतिक गतिविधि बढ्यो। राजनीतिक विषयवस्तुका किताब पनि पढ्न थालिन्।
'हामीले गौरादह आएपछि चिनियाँ कथाहरू पढ्न थाल्यौं। ती चिनियाँ कम्युनिस्ट पार्टीबारे लेखिएका चित्रकथा हुन्थे,' उनले भनिन्, 'यसरी संगठनमा लागिसकेपछि बल्ल मैले राजनीतिका भित्री कुरा बुझ्दै गएँ।'
विस्तारै उनी स्कुल र गाउँमा हुने भूमिगत राजनीतिक कार्यक्रममा सरिक हुन थालिन्। पर्चा बोकेर राति-राति हिँड्थिन्। राजनीतिक दलमाथि प्रतिबन्ध भएको त्यो बेला यस्ता गतिविधि धेरैजसो विद्यार्थीले नै गर्थे।
२०३९ सालमा उनी पक्राउ परिन्। त्यति बेला उनी जम्मा १८ वर्षकी थिइन्।
रातभरि संगठनको काम सकेर झिसमिसेमा घर फर्किएकी थिइन्। उनको पछिपछि प्रहरी आयो। आफू पक्राउ पर्ने थाहा पाएपछि उनी झोलामा कपडा र सामान राखेर बाहिर निस्किइन्। प्रहरीले उनलाई लिएर हिँडे।
उनका बुबा पछिपछि आएर भने, 'छोरी नडराउनू। देशको निम्ति काम गर्ने मान्छेहरू डराउने होइन। यिनीहरूले तिमीलाई केही गर्न सक्दैनन्। तिम्रो पछि हामी छौं नि।'
'बाले त्यसो नभनेको भए डराउँथे कि, मलाई थाहा भएन,' शिवमायाले भनिन्, 'त्यसपछि भने मलाई कहिल्यै डर लागेन।'
उनका बुबा ललितबहादुर सुब्बा सात सालको क्रान्ति बेला कांग्रेसमा लागेका थिए। कांग्रेसले तत्कालीन धनकुटा क्षेत्र कब्जा गरेर जनसरकार बनाएको थियो, जसमा उनी गभर्नर थिए।
उनले परिवारमै राजनीतिक वातावरण पाइन्। बुबा कांग्रेस भए पनि शिवमाया र उनका दाजुहरूले कम्युनिस्ट आन्दोलन रोजेका थिए।
पञ्चायतविरूद्ध लागेको भन्दै उनी केही दिन थुनामा बसिन्। छुटेपछि पनि संगठनको कामलाई निरन्तरता दिन छाडिनन्। गाउँमा जुनसुकै गतिविधि हुँदा पनि प्रहरी उनलाई समात्न आइहाल्थ्यो।
यही क्रममा २०४२ सालको शिक्षक आन्दोलन बेला काठमाडौंमा भएका उनका दाजु अभय सुब्बा पक्राउ परे। उनलाई प्रहरीले ठाउँ सारेर झापा पठायो। त्यसपछि शिवमायाको काम थपियो- दाजुलाई भेट्न जेल जाने।
एकदिन त्यसै गरी दाजु भेट्न जाँदा प्रहरीले उनलाई पनि भित्र हुलेर ढोका थुनिदियो। थाहै नपाई उनी पनि दाजुसँगै पक्राउ परिछन्।
त्यसै वर्ष एसएलसी पास गरेपछि उनी क्याम्पस पढ्न काठमाडौं आइन्। अर्का दाजु विजय सुब्बाले उनलाई ल क्याम्पस भर्ना गरिदिए।
क्याम्पसमा विद्यार्थीहरूबीच चर्को राजनीतिक बहस हुन्थ्यो। कांग्रेस र कम्युनिस्टनिकट विद्यार्थीहरू आ-आफ्ना गतिविधि र राजनीतिक सिद्धान्तका गफ गर्थे। विवाद गर्थे, झगडा गर्थे। क्याम्पस भन्नु नै राजनीतिक चेतनाको केन्द्र थियो।
२०४६ को जनआन्दोलनले बहुदलीय व्यवस्था पुनर्स्थापना गरेपछि शिवमाया तत्कालीन एमालेको भ्रातृ संगठन अनेरास्ववियुको राजनीतिमा अघि बढ्दै गइन्।
'पञ्चायत सकिएपछि पार्टीभित्र प्रतिस्पर्धा छिर्यो, तर खोइ कसरी हो महिलाहरू राजनीतिमा सधैं पछि परे,' शिवमायाले भनिन्, 'पुरूषहरू भने राजा फालेर सत्तामा पुगे।'
उनले राजनीतिक रूपमा पहिलो विभेद बेहोर्नु परेको अनेरास्ववियुको उपाध्यक्ष हुँदा हो। सभामुखको निम्ति जे भयो, शिवमायालाई यो घटना त्यसैको पुनरावृत्तिझैं लाग्छ।
२०५० सालको महाधिवेशनबाट उनी उपाध्यक्ष भएकी थिइन्। रामनाथ ढकाल अध्यक्ष थिए, योगेश भट्टराई महासचिव।
२०५१ सालको मध्यावधि चुनावमा ढकाल सांसदका उम्मेदवार भए। रिक्त अध्यक्ष पदमा उनको दाबी स्वाभाविक थियो।
'सबै केटाहरू मिलेर योगेश भट्टराईलाई अध्यक्ष बनाउने भए,' उनले भनिन्।
अनेरास्ववियुको सचिवालय बैठक बस्यो। उनले त्यहाँ अध्यक्षको दाबी गरिन्। एक जना 'कमरेड' ले भने, 'केटी मान्छे अध्यक्ष भएको समितिमा म बस्दिनँ भन्न त पाइन्छ नि हैन?'
त्यसो भन्ने व्यक्ति अहिले मन्त्री छन्।
'त्यसो भनेको सुन्दा उठेको रिस अहिलेसम्म थामिएको छैन,' उनले भनिन्।
त्यति बेला पनि शिवमायाको पक्षमा बोल्ने कोही थिएनन्। न माउ पार्टीका नेता, न आफ्नै संगठनका साथी।
'मैले त्यो घटना कहिल्यै बिर्सिन सकिनँ। राजनीतिमा पुरूषहरू मिलेर कसरी महिलालाई पछि पारे भन्ने एउटा सानो उदाहरण हो त्यो,' उनले भनिन्, 'बहुमतले चल्ने राजनीतिमा उनीहरू सधैं एकजुट हुन्छन्।'
२०५२ सालमा उपाध्यक्षको कार्यकाल सकियो। उनले विद्यार्थी राजनीति छाडिन् र पार्टी राजनीतिमा लागिन्। यसबीच उनले बिहे पनि गरिन्। बच्चा जन्मिए। तिनलाई हुर्काउँदा-बढाउँदा उनको राजनीतिको गति केही सुस्त भयो।
पढ्ने हुटहुटी चाहिँ मरेन। उनले कानुनमा स्नातक र राजनीतिशास्त्रमा पिएचडीसम्म गरिन्।
'मलाई सानैदेखि नेपालमा पढाइ हुने सबभन्दा उपल्लो तहसम्म पढ्छु भन्ने थियो। सबभन्दा माथिल्लो पढाइ त पिएचडी रैछ,' उनले भनिन्।
विद्यार्थी राजनीति छाडेपछि उनी विराटनगरमा क्याम्पस पढाउन थालिन्। सँगसँगै, विभिन्न सामाजिक संस्थामा सक्रिय भइन्। राजनीतिमा भने अञ्चल र प्रदेश कमिटीसम्म पुगेकी थिइन्।
शिवमायालाई एकपटक सांसद बन्ने रहर थियो। गएको चुनावमा पार्टीले उनलाई समानुपातिकबाट सांसद बनायो र उपसभामुखका रूपमा नाम प्रस्ताव गर्यो।
सुरूमा उनी अनकनाइन्।
'कानुनको विद्यार्थी भएर होला, म कानुन बनाउने छलफलमा भाग लिन सांसद हुन चाहन्थेँ। उपसभामुख बन्नु भनेको यस्ता छलफलबाट टाढै बस्नु थियो,' उनले भनिन्, 'जब चुनावको नोमिनेसन हुने अन्तिम समय आयो, मैले पार्टी र नेताहरूको आग्रह टार्न सकिनँ।'
२०७४ सालको आमनिर्वाचनमा तत्कालीन एमाले र माओवादी गठबन्धनले बहुमत ल्याएपछि सभामुख माओवादीले लियो, उपसभामुख एमालेको भागमा पर्यो।
सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल गएपछि संसदको नेतृत्व गर्दै आएकी शिवमायाले सभामुखमा आफ्नो दाबेदारी पेस गरेकी हुन्।
यो दाबेदारी उनले सोचेजस्तो सहज भएन। तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका आ-आफ्नै उम्मेदवार थिए।
दाहाल पक्षधरले शिवमायाले राजीनामा दिनुपर्ने निर्णय गर्दा बालुवाटारमै पुगेर शिवमायाले प्रश्न गरिन्, 'त्यो निर्णय लेख्ने को हो?'
नेपाली राजनीतिमा महिलाले पार्टी अध्यक्षहरूलाई यति बलियो गरी प्रश्न सोधेका घटना विरलै छन्। यो घटनापछि शिवमायाको चर्चा झन् चुलिएको छ।
पार्टीभित्र दाहाल पक्षधरहरू शिवमायाको प्रश्न र उनको अडानलाई गलत मान्छन्। उनले प्रधानमन्त्री ओलीको इशारामा राजीनामा दिन आनाकानी गरेको दाहाल पक्षधरको आरोप छ। पार्टीभित्र ओली खेमाकै मानिने शिवमायालाई राष्ट्रपतिको पनि साथ छ भनिन्छ।
नेकपा नेता देव गुरूङले त 'शिवमायाले बार्गेनिङ गरेको' आरोपसमेत लगाए।
उनका अनुसार, यस्तो काम गर्नु नैतिकताविपरीत हो।
'संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई छैन। कम्युनिस्ट पार्टीमा त झन् यो स्वीकार्य हुँदैन,' उनले पुस २८ गते एक कार्यक्रममा भनेका थिए।
अर्का एक नेताले शिवमायाको अडान राजनीतिक नभएको तर्क गरे।
'उहाँ अलि बेसी नै एरोगेन्ट हुनुभयो। राजनीति यसरी चल्दैन। उहाँमा अरूले भनेको सुन्ने र आफ्नो आलोचना पचाउने खुबी छैन। पार्टी निर्णय पनि मान्दिनँ भन्नु राजनीतिक कुरा होइन,' उनले भने।
धेरैले उनीसँग सभामुख हुन चाहिने लचकता नभएको भन्दै आलोचना पनि गरेका छन्। यसरी आलोचना गर्नेहरू उनलाई पूर्वसभामुख सुवास नेम्वाङसँग तुलना गर्छन् र भन्छन्, 'नेम्वाङजस्तै हुनुपर्छ तर यिनी त्यसको विपरीत छिन्।'
अर्कातिर, सभामुख भनेको सत्ताको आवाज होइन, प्रतिपक्षको आवाज सुन्न सक्ने हुनुपर्छ तर शिवमायाको अर्काको कुरा सुन्न नसक्ने बानी छ भन्नेहरू पनि कम थिएनन्।
यस बेला कतिपयले पूर्व सभामुख दमननाथ ढुंगानाको उदाहरण दिन्छन्। उनी यस्ता सभामुख हुन्, जसले 'संसद भनेको प्रतिपक्षको हो' भन्दै आफ्नै पार्टी कांग्रेसभन्दा तत्कालीन प्रतिपक्षी एमालेलाई बढी बोल्न दिन्थे, उनीहरूका कुरा सुन्थे भनेर स्वयं नेकपाकै नेताहरू बताउँछन्।
शिवमाया सभामुख हुन पाएकी भए सुवास नेम्वाङको पदचिह्न पछ्याउँथिन् कि दमननाथ ढुंगानाको भन्ने हामीले हेर्न पाएनौं। तर, उनले जसरी आफ्नो पक्षमा आवाज उठाइन् र सभामुख वा उपसभामुख भनेको दल-विशेषको निर्देशनमा चल्ने पद होइन भनेर स्थापित गरिन्।
'कतिलाई म अहिले पार्टीविरूद्ध बोलिरहेको छु भन्ने लाग्ला तर म संस्थाका लागि बोलिरहेकी हुँ,' उनले भनिन्, 'संसदको नेतृत्वमा छु। यसका आफ्नै मर्यादा छन्। संसदको नेतृत्वलाई पार्टीले निर्देशन दिन सक्दैन भन्नु त स्वाभाविक कुरा होइन र?'
यति मात्र होइन, उनले केही दिनअघि राजसंस्थाभन्दा पितृसत्ता बलियो भएको भाषण गरिन्। पितृसत्ता राजतन्त्रझैं संस्थातगत रूपले बलियो भएको र आफू त्यही पितृसत्तासँग लडिरहेको उनको भनाइ छ। यसरी लड्ने हिम्मत आफ्नै स्वभाव र मेहनतबाट कमाएको उनी बताउँछिन्।
'सभामुखको लोभ गरेको होइन, म त्यसको हकदार हो। महिला भएको कारणले मात्र मागेको होइन, म त्यसका लागि योग्य छु। ममाथि अन्याय गर्ने कि न्याय, त्यो पार्टीको कुरा,' उनले भनिन्।