झापाको दमकमा ‘बालुवाटार’ नामाकरण गरिएको जग्गाको फाँट छ।
रतुवा खोलाले सधैं बगाउने र बालुवा थुपारिरहने भएकाले त्यो फाँटको नाम पञ्चायतकालतिरै ‘बालुवाटार’ राखिएको थियो।
करिब तीन महिनाअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालनिकट विवादास्पद व्यापारी अजयराज सुमार्गी ‘बालुवाटार’ पुगेका थिए। दमककै चिनजानका पूर्वमाओवादी नेता रेवतराज पुरी ‘गगन’ले सुमार्गीलाई त्यही ‘बालुवाटार’ फाँट देखाए।
दमक नगरपालिका-८ (साबिक-१३) को त्यो ठूलो फाँटको जग्गामा १६ अर्ब लगानी गरेर विश्वस्तरको पार्क बनाउने उनीहरूले प्रचार गरे।
पुरी र सुमार्गीको टोलीमा नेकपाका केही नेताहरू पनि थिए।
त्यो प्रचारको उद्देश्य थियो- जग्गाको मूल्य बढाउने। पार्क बन्ने हल्ला पिटाएर जग्गा महंगोमा बेच्ने।
त्यहाँ हेर्दा आँखाले नभ्याउने ५० बिघा जमिन छ। त्यो जमिनमध्ये पुरी एक्लैको नाममा १५ बिघा त अनुसन्धानबाटै देखिएको छ।
यो जग्गा अनुसन्धानमा तानिएपछि पार्क बन्नु त कता-कता, पार्क बनाउन हल्ला गर्नेहरूकै अहिले भागभाग छ।
यो ठाउँ कुनै बेला सरकारी जग्गा थियो। पुरीको नाममा कसरी आइपुग्यो भनी अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।
यो जग्गालाई ‘बालुवाटार घोटाला-२’ भन्न थालिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई महिना लगाएर गरेको अनुसन्धानमा दमकका नवधनाढ्य पुरीले सरकारी जग्गा कीर्ते गरेर आफ्नो नाममा ल्याएको पत्ता लागेको छ। ब्युरोले सो अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय झापालाई बुझाएसँगै अहिले पुरी परिवारको बास दमकबाट उठेको छ।
पुरीसहित उनका केही आफन्तविरूद्ध इलाका प्रहरी कार्यालय दमकले कीर्तेमा मुद्दामा अनुसन्धान गरिरहेको छ।
५०मध्ये १५ बिघा पुरी र उनका परिवारको नाममा देखिएपछि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
बाँकी जग्गा अन्य थुप्रै व्यक्तिको नाममा पुगेको प्रहरीको दाबी छ।
‘अनुसन्धानमा अन्य थुप्रै व्यक्ति पनि जोडिने भएकाले अहिले यसबारे बोल्न मिलेन,’ इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले सेतोपाटीसँग भने,‘केही व्यक्तिहरूमाथि कीर्ते मुद्दामा अनुसन्धान थालिएको छ। अनुसन्धानकै क्रममा रहेकाले व्यक्तिहरूको नाम भन्न मिल्दैन।’
यो जग्गा पूर्वपश्चिम राजमार्गबाट १ किलोमिटर दक्षिणमा पर्छ। त्यो सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
‘सरकारी जग्गा गगन पुरीको नाममा मिलेमतो गरेर पास गरिएको अनुसन्धानबाट खुलेपछि मुद्दा चलाउने प्रयोजनार्थ प्रतिवेदन जिल्ला प्रहरी कार्यालय झापालाई बुझाएका हौं,’ ब्युरोका एक अधिकारीले सेतोपाटीसँग भने।
ती अधिकारीका अनुसार अहिले स्पष्ट तरिकाले पुरीको नाममा मात्र भएको जग्गा १५ बिघा देखिएको छ। त्यो फाँटको सरकारी जग्गा पुरीले टुक्रा-टुक्रा पारेर विभिन्न व्यक्तिलाई बेचेको पत्ता लागेको छ। किन्ने व्यक्तिहरू सबै अनुसन्धानमा तानिएकाले जग्गा हत्याउने तानाबाना खुल्दै जाने उनले बताए।
काठमाडौंको बालुवाटार जग्गा घोटाला अनुसन्धान गरिरहेको ब्युरोले नै झापाको जग्गा अनुसन्धान थालेको थियो।
ती अधिकारीका अनुसार ब्युरोका दुई जना प्रहरी अधिकृत दुई महिना झापामा बसेर जग्गा अनुसन्धान गरेका थिए।
यसबीचमा उनीहरूले दमक मालपोतमा रहेका जग्गाका ढड्डा पल्टाए।
कागजात खोज्ने क्रममा २०६६ र २०६७ सालमा त्यो सरकारी जग्गा पुरीको नाममा पास भएको पेला पारेका थिए।
त्यतिबेला पुरी एक्लैको नाममा पास भएको जग्गा बिक्री वितरण भएर विभिन्न व्यक्तिको नाममा पुगेको हो। ब्युरोको अनुसन्धानले पुरीलाई दोषी देखाएपछि सो जग्गा अहिले कस-कसको नाममा पुगेको छ भन्ने दमक प्रहरीले खोजी गरिरहेको छ।
‘मालपोतका कर्मचारीहरूको मिलेमतोमा त्यो जग्गा पुरीको नाममा पास गराइएको खुलेको छ,’ ब्युरोका ती अधिकारीले भने। जग्गा पास गर्ने बेला को-को कर्मचारी थिए तिनीहरूको सूची बनाएर प्रहरीले खोजी गरिरहेको ती अधिकारीले बताए।
दमकका एक स्थानीयका अनुसार पुरीको नाममा पुगेको जग्गासँगै त्यहाँ नेकपाको पार्टी कार्यालय पनि छ। पहिले त्यहाँ माओवादीको पार्टी कार्यालय थियो। एमाले-माओवादी मिसिएर नेकपा भएपछि त्यहाँ जनवर्गीय संगठनहरूका गतिविधि बढी हुन्छन्।
२०६४ सालमा पुरीले माओवादी पार्टी कार्यालय बनाइदिए। जग्गा दिए। सरकारी जग्गासँगै जोडिएको जग्गामा करिब पाँच कठ्ठा क्षेत्रफलमा पार्टी कार्यालय खोलिदिएका थिए।
पार्टी कार्यालय नै खोलिदिएपछि पुरी नेताहरूको नजरमा ‘दाता’ र ‘समाजसेवी’ भनेर चिनिन थाले। नेताहरूसँग नजिक हुन पुगे। पुर्ख्यौली जग्गा पनि भएका पुरी विस्तारै पार्टी राजनीतिमा सक्रिय हुँदै गएपछि जग्गा हत्याउने ‘तानाबाना’ रच्न थाले।
यो जग्गा पुरीले आफ्नो नाममा ल्याउन प्रपञ्च जोडतोडले चलाएको पनि २०६४ सालपछि नै भएको ती स्थानीय बताउँछन्।
गत स्थानीय चुनावमा उनैलाई माओवादी पार्टीले दमक नगरपालिकाको मेयर उठायो। मेयरमा पराजित पुरी अहिले नेकपाको प्रदेश कमिटी सदस्य छन्।
रतुवा नदी पश्चिम र दिपेनी खोला उत्तरको उक्त जग्गा अहिले प्रतिकठ्ठा ५० लाखभन्दा धेरै पर्ने अनुमान गरिएको छ।
पुरीको नाममा आएको जग्गामा पहिले करिब ८८ परिवार सुकुम्बासी बस्थे। भूमिसुधार सक्रिय भएका बेला उनीहरूलाई जग्गा दिने प्रक्रिया थालिएको थियो। २०४० सालमा रतुवा खोलामा बाढी आउँदा बस्ती बगायो। सुकुम्बासीहरूको बास उठ्यो।
पछि त्यहाँ रतुवाको पाता कसियो। रतुवाको धार परिवर्तन गराएपछि जोगिएको त्यो जग्गा हत्याउन पुरीले तीन-चार वर्ष मिहेनत गरेको देखिएको ब्युरोको अनुसन्धानले देखाएको छ।
‘सुरूमा नापी गर्दा सुकुम्बासी परिवार उठिसकेका थिए। पुरीले एकलौटी नापी गराएका थिए,’ ती स्थानीयले भने, ‘पछि मालपोतका कर्मचारीसँग मिलेर जग्गा आफ्नो नाममा गराए।’
पुरीकै अनुसार त्यो जग्गा पहिले ऐलानी हो। उनको परिवारले भोगचलन गरिआएको थियो।
तत्कालीन पञ्चायतका वडाअध्यक्ष डम्बरबहादुर अधिकारीको रोहवरमा ८४ घरपरिवारलाई २०३६ सालमा त्यहाँ बसोबास गर्ने कार्य भएको पुरी बताउँछन्। २०३९ सालमा गठित सुकुम्बासी आयोगमार्फत उक्त जग्गालाई १२० कित्ता बनाएर ती परिवारको नाममा फिल्डबुक कायम गरिएको पुरीको दाबी छ।
त्यो जग्गा सुकुम्बासीले पछि बेच्दै गएको उनको दाबी छ। ‘हामीले उक्त जग्गा सम्बन्धित मान्छेबाट किनेका हौं, पहिले हामीले जोतभोग गरेको जग्गा पछि सुकुम्बासीबाट किन्दा कसरी त्यो सरकारी जग्गा भयो?,’ हाल फरार रहेका पुरीले फेसबुकमा लेखेका छन्, ‘निर्धक्कसाथ भन्नुपर्दा त्यो जग्गा हिजो पनि हाम्रै थियो। आज पनि हाम्रै छ।’
तर, उनले त्यहाँ दस बिगाहा जग्गा मात्र आफूले किनेको दाबी गरेका छन्। ५० बिगाहा जग्गाबारे बोलेका छैनन्। १० बिगाहा क्षेत्रभित्रै पनि अरू दुई बिगाहा जग्गा आफूले किनेको दाबी उनले गरेका छन्।
पुरीले सुकुम्बासीले बेच्दा त्यो जग्गा आफूले मात्र नभएर अन्य व्यक्तिहरूले पनि किनेको दाबी गरेका छन्।
उनले रोशन विष्ट, उमाकान्त आचार्य, युवराज थापा, मनोज घोर्षाई, असिम राई, बद्री राई, चन्द्रबहादुर कार्की, मणि तामाङ, नैनकला लुइँटेल, दीपेन्द्र रिमाल, निधि ढुंगेल, पवित्रा पौडेल, प्रेम कुँवर र प्रकाश विश्वकर्माको नाम लिएका छन्।
यीमध्ये विष्ट नेपाली कांग्रेस दमक नगरका सभापति हुन्। तर, सेतोपाटीसँग कुरा गर्दै विष्टले आफूले जग्गा खरिद नै नगरेको बताए। ‘त्यही वडामा मेरो बोर्डिङ छ, बोर्डिङका लागि त्यहाँ जग्गा किन्नुपर्छ भनेर मलाई कसैले प्रस्ताव गरेको हो। तर, मैले खरिद गरेको हैन,’ विष्टले भने, ‘गगनजीले किन मेरो नाम लिनुभयो आश्चर्य लागेको छ।’
पुरीले उक्त जग्गामा बंगुर फार्म चलाएका छन्।
यो जग्गामा पहिले बसेका सुकुम्बासीहरूले उक्त जग्गा आफूहरूले बिक्री नगरेको बताएका छन्। पुसमा दमकमा पत्रकार सम्मेलन गरी उनीहरूले आफूहरूको नाममा आउन लागेको जग्गा पुरीले कीर्ते गरेर हत्याएको आरोप लगाएका हुन्।
पीडित सञ्जीव मगरका अनुसार पुरीले आफूहरूले बारम्बार जग्गा फिर्ता मागेको बताए। ‘उनले दिन्छु पनि भने। तर, दिएनन्,’ उनले भने।
पीडित बुद्धिमान माझीले भने, ‘उसले मेरो जग्गा खायो। जग्गा माग्दा गगनले खोलाले छोडेको जग्गा मेरो हुन्छ, नछोडेको जग्गा तेरो हुन्छ भन्यो।’
६८ वर्षीय माझी दमकमा ठेला चलाउँछन्। आफ्नो साढे तीन कठ्ठामध्ये १२ धूर मात्र बाँकी रहेको, अरू जग्गा गगनले कब्जा गरेको उनले बताए।
पीडित मनप्रसाद लिम्बूले बालुवाटारमा आफ्नो परिवारको १३ कठ्ठा जग्गा भएको तर पुरीले सो जग्गा कीर्ते कागज बनाएर कब्जा गरी ग्यास उद्योग राख्न कम्पाउण्ड लगाएको बताए।
पक्राउ छ जना छुटे
सरकारी जमिन व्यक्तिको नाममा पार्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले छ जनालाई मंसिर र पुसमा पक्राउ गरेको थियो।
पक्राउ परेकालाई झापा जिल्ला अदालतले जनही तीन लाख ७५ हजार धरौटीमा रिहा गरेको छ।
पक्राउ पर्नेमा दमक नापीका कर्मचारी विनोद मण्डल, कृष्णप्रसाद भट्टराई, पथरीका ओमप्रकाश पौडेल, दमक-८ का वेदबहादुर पौडेल, दमक नगरपालिकाका कर्मचारी दलबहादुर खत्री र मोहन ओली थिए।
पुरीले आफ्नो नाममा ल्याएकोमध्ये ११ बिगाहा जग्गा पौडेलको नाममा पास गराएका छन्। तीन कित्तामा छुट्याइएको जग्गामध्ये कित्ता नम्बर ७४ को जग्गा पौडेलको नाममा देखिएको छ। पौडेललाई पुरीले दुई कठ्ठा दिने सर्तमा पास गराएको खुलेको प्रहरीले जनाएको छ।