यो आर्थिक वर्षभित्रै कर्णाली प्रदेशलाई छाउगोठ मुक्त गर्ने प्रतिबद्धता तीनै तहका सरकारले जनाएका छन्।
बुधबार वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा तीनै तहका सरकारले ‘असारभित्र कर्णाली प्रदेशमा छाउ प्रथालाई अन्त्य गर्ने साझा प्रतिवद्धता–पत्र’मा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष राजकुमार शर्मा, नगरपालिका महासंघका संयोजक रत्न खड्का र गाउँपालिका महासंघका अध्यक्ष भिमबहादुर सेनले छाउगोठ अन्त्यका लागि राष्ट्रिय कार्ययोजना तर्जुमा गरेर संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो क्षेत्रमा कार्यान्वयन गर्ने प्रण गरे।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले छाउपडी कुप्रथा अन्त्यका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताए। उनले कर्णाली प्रदेशका सबै स्थानीय तहले छाउ गोठ मुक्त घोषणा गर्दै असारभित्र प्रदेशलाई छाउ गोठ मुक्त बनाइनुपर्ने बताए।
महान्यायाधीवक्ता अग्नी खरेलले छाउ गोठमा बस्ने र बसाल्नेलाई सरकारी सेवा–सुविधा रोक्ने निर्णय भइसकेकाले त्यसको कार्यान्वयन स्थानीय तहले गर्नुपर्नेमा जोड दिए। ‘यदी स्थानीय तहले कारवाहीको सट्टा प्रोत्साहन गरेको पाइए संघीय अनुदान कटौती हुन्छ, ‘यसतर्फ सचेत रहन पनि स्थानीय तहलाई अनुरोध गर्छु’ उनले भने।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालसम्म मध्य र सुदूरपश्चिमका ४ हजार ६०० छाउगोठ भत्काइएको बताए। उनले महिलामाथि हुने अमानवीय व्यवहारको अन्त्यका लागि सुरु गरिएको अभियानमा स्थानीय सरकारको साथ आवश्यक रहेको बताए। ‘सरकारले निर्माण गरेको छाउप्रथा अन्त्यसम्बन्धी कानून कार्यान्वयनका लागि म र मेरो संगठन प्रतिबद्ध छ’ उनले भने।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले छाउ गोठमा बस्न बाध्यपर्नेहरुलाई सामाजिक बहिस्कार गर्नुपर्ने बताइन्। उनले सरकारी सेवा–सुविधा रोक्नुका साथै कानुनले दिएको अधिकारको पनि प्रयोग गर्नुपर्ने बेला आएको बताइन्।
उनले प्रदेश समन्वय परिषद्को बैठकबाटै कर्णालीलाई छाउगोठमुक्त बनाउने सामुहिक प्रतिवद्धता जनाइसकेकाले सो अनुसार जिम्मेवारी पूरा गर्न स्थानीय सरकारलाई आग्रह गरिन्।
बन्दुक देखाएर गोठ भत्काउँदैमा कुप्रथा भत्किँदैन
कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बन्दूक देखाएर छाउगोठ भत्काइँदैमा मनभित्रको छाउगोठ नभत्किने बताए। उनले छाउप्रथा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए।
‘अहिलेको छाउगोठ भत्काउने अभियान विद्यार्थीलाई कुटेर विद्यार्थी पास गराउने जस्तै भएको छ,’ उनले भने, ‘मनभित्रका गोठहरु भत्काउनेतर्फ लागौं, देखिने छाउगोठ आफै भत्किन्छन्।’ उनले गरिबी र अशिक्षा छाउको मुख्य कारण भएको बताउँदै राज्यलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे।