अचेल अनामनगरतिर नेपाली कांग्रेसका नेताहरूको आवातजावत बाक्लिन थालेको छ। बरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षका नेताहरू बेलाबेला अनामनगर जान्छन्, कुराकानी गर्छन् र फर्किन्छन्।
१४ औं महाधिवेशनको मिति अघि सार्नु पर्ने, बढाइएका विभागलगायत देउवाले एकपक्षीय रूपमा गरेका निर्णय फिर्ता गर्न माग गरिरहेको पौडेल पक्षले एकातिर सभापति शेरबहादुर देउवासँग वार्ता गरिरहेको छ भने अर्कातिर महाधिवेशनको तयारी पनि थालिसकेको छ।
पौडेलले अनामनगरको एक घरमा महाधिवेशन लक्षित रणनीतिक छलफल गर्न कार्यालय खोलेका छन्। उक्त कार्यालय महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि प्रयोग गर्नेछन्।
कांग्रेसनिकट सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नामक एक गैरसरकारी संस्थाको कार्यालयलाई पौडेल पक्षले महाधिवेशन रणनीतिक कार्यालय बनाएको हो।
१३ औं महाधिवेशन २०७२ फागुन २० अघि यही संस्थाको कार्यालय शेरबहादुर देउवाले अधिवेशनलक्षित रणनीतिक कार्यालयका रूपमा प्रयोग गरेका थिए। यो संस्थाको हालै अधिवेशन सकिएको छ। पहिलेका उपाध्यक्ष अहिले अध्यक्ष बनेका छन् भने कार्यालय पनि सारिएको छ।
पहिले पनि अनामनगरमै रहेको उक्त कार्यालय अहिले बुद्ध एकेडमिक पाठ्यक्रम प्रकाशन कार्यालय रहेको घरमा सरेको हो। यो घर नवराज बजगाईंको हो। बजगाईं व्यवसायी हुन्। उनका दाजु राजेन्द्र बजगाईं कांग्रेस महासमिति सदस्य छन्। बजगाईं महामन्त्री शशांक कोइरालानिकट हुन्।
बजगाईंले नै देउवाइतर समूहलाई महाधिवेशनको रणनीति बनाउन यो कार्यालय प्रयोग गर्ने चाँजोपाँजो मिलाइदिएको स्रोतको दाबी छ।
कांग्रेसले अनुशासन समिति बनाएपछि बजगाईंले सभापति देउवाविरूद्ध नै अनुशासनको कारबाही किन नगर्ने? भन्दै उजुरी दिएका थिए। तर उजुरीउपर कुनै कारबाही भएको छैन।
गोरखा मसेलका बजगाईं १३ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य र २०७४ सालमा भएको प्रदेशसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ प्रदेशसभा क्षेत्र (ख) बाट पराजित भएका थिए।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्र २०७१ सालमा खुलेको संस्था हो। यसले भूकम्पका बेला सक्रिय रूपमा राहतलगायतका काम गरेको भन्दै कांग्रेसले त्यसबेला धन्यवादसमेत दिएको थियो।
‘१३ औं महाधिवेशनमा देउवाले रणनीतिक अफिस बनाएको केन्द्रको कार्यालय अहिले पौडेल पक्षको कब्जामा आयो,’ कांग्रेसका एक नेताले सेतोपाटीसँग भने, ‘यो कार्यालयमा पौडेलले आन्तरिक छलफलसमेत सुरू गरिसकेका छन्।’
कांग्रेसका अर्का केन्द्रीय सदस्यका अनुसार देउवा १३ औं महाधिवेशन जितेपछि त्यो कार्यालयमा गएनन्।
‘सभापति जितेपछि पार्टी कार्यालय र निवासमै उहाँ (देउवा) ले छलफल गर्नुहुन्छ। लुकीछिपी फरक कार्यालय प्रयोग गर्नु नै परेन,’ उनले भने, ‘सभापति जान छाडेपछि स्वभाविकै बरिष्ठ नेताहरूले त्यहाँ छलफल गर्न थाल्नुभएको होला। बरिष्ठ नेताले यसरी छुट्टै रणनीतिक कार्यालय खोलिराख्नु पर्दैनथ्यो।’
केन्द्रको अध्यक्ष पहिले गणेश अधिकारी थिए। हालै अधिवेशनपछि कमल रिजाल आएका छन्। केन्द्रका महासचिव परमेश्वर पोखरेलले संस्थाको नाममा नै लोकतन्त्र जोडिएकोले पार्टीका गतिविधि जोडिइरहने प्रतिक्रिया दिए।
‘पहिले पनि हामी अनामनगरमै थियौं। अहिले नयाँ कार्यालय राख्ने फराकिलो ठाउँ फेला परेर अनामनगर नै सरेको हो,’ उनले सेतोपाटीसँग भने, ‘नेताहरूलाई मिटिङका लागि पहिलेदेखि नै कार्यालय दिने गरेको थियौं।’
अहिले पौडेल पक्षले महाधिवेशन लक्षित कार्यालयको रूपमा प्रयोग गर्न थालेको हो? भन्ने प्रश्नमा उनले पहिले अर्को कार्यालय हुँदा पनि नेताहरूलाई मिटिङ गर्न दिएको र अहिले पनि त्यसले निरन्तरता पाएको जानकारी दिए।
कांग्रेसको १४ औं महाधिवेशन आउन अझै वर्ष दिन बाँकी छ।
सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थप गर्दै पुस ११ गते महाधिवेशनको कार्यतालिका ल्याएका थिए।
०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा कांग्रेस महाधिवेशन हुँदैछ। महाधिवेशन मितिबारे बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सन्तुष्ट भने छैन।
पौडेल र सिटौला ०७७ मंसिरभित्रै महाधिवेशन सक्न चाहन्छन्। महाधिवेशनको मिति अघि सार्न दबाब दिइरहेका पौडेल र सिटौलासँग देउवाले छलफल जारी नै राखेका छन्। बुधबार तीन घन्टा छलफल गरेका देउवाले शुक्रबार बिहान ९ बजे पनि विवाद समाधान गर्न शीर्ष नेताको छलफल डाकेका छन्।
आफूहरूसँग परामर्शबिनै बहुमतका आधारमा सभापति देउवाले महाधिवेशन कार्यतालिका ल्याएको, विधानका धारा निलम्बन गरी २८ विभाग ४७ पुर्याएकोलगायत विषयमा ती निर्णय सच्याउन पौडेल र सिटौलाले दबाब दिन जिल्ला सभापति भेला पनि गरेका थिए।
सभापति देउवा लचिलो भने बनेका छैनन्। महाधिवेशनको मिति परिवर्तन गर्ने पक्षमा देउवा छैनन्। बरू उनले भातृ संस्था नेविसंघ, तरूण दल र विभागमा पौडेल, सिटौलालाई भाग दिने रणनीतिअनुसार छलफललाई तीव्रता दिइरहेका छन्।