बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको यात्रा फेरि संसदतर्फ लम्किएको छ।
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईसँग सात हजार बढी मतान्तरले पराजित श्रेष्ठ बिहीबार सजिलै राष्ट्रियसभा सदस्य बने।
नेकपाले श्रेष्ठलाई अन्य समूहबाट गण्डकी प्रदेशमा उठाएको थियो। कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई फराकिलो मतान्तरले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठले तीन हजार चार सय ६२ मत ल्याउँदा रेग्मीका पक्षमा दुई हजार दुई सय ४४ मत मात्रै आयो।
विजयी भएपछि श्रेष्ठले पोखरामा सम्बोधन गर्दै आफ्नो जितले सरकारलाई अझै परिणाममुखी बनाउन र हरहालतमा सफल बनाउन मद्दत गर्ने बताए।
पार्टी र मतदातालाई धन्यवाद दिएपछि श्रेष्ठले भने, ‘करिब करिब विजयीको सुनिश्चिततामा हामी पहिले नै थियौं। हाम्रो विजयले संसदको उपस्थिति र सरकारमा गुणात्मक फरक त पार्ने छैन नै। तैपनि सरकारलाई अझै परिणाममुखी र हरहालतमा सफल बनाउन यो विजयले मद्दत गर्नेछ।’
उनले आफ्नो विजयबाट खुसी हुने सबैलाई धन्यवाद दिए।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको बामगठबन्धनबाट चुनाव लडेपनि गोरखा २ मा कांग्रेस र नयाँ शक्ति गठबन्धनका बाबुराम भट्टराईसँग उनी पराजित भए। यद्यपी बन्द संघीय संसदको ढोका अब श्रेष्ठका लागि खुलेको छ।
एमाले र माओवादी मिलेर चुनाव उठेपछि त्यतिबेला शीर्ष तहका श्रेष्ठ र बामदेव गौतम पराजित भएका थिए। श्रेष्ठ राष्ट्रियसभा सदस्य बन्न सफल भए तर गौतम उम्मेदवार नै बनेनन्। गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्ने सर्त राखेका थिए। त्यसमा पार्टीले ग्रीन सिग्नल नदिएपछि गौतम अघि बढेनन्।
श्रेष्ठ राजनीतिक जीवन सुरू गरेपछि पहिलोपटक निर्वाचित सांसद बनेका हुन्।
यसअघि २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावपछि श्रेष्ठ मनोनित सभासद थिए। त्यसबेला मन्त्रिपरिषदबाट मनोनित २६ जनामा श्रेष्ठ परेपछि संसद भवनको यात्रा सुरू भएको थियो।
त्यसपछि दोस्रो संविधानसभा निर्वाचन २०७० मा श्रेष्ठ माओवादी केन्द्रबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर ४ मा उठे पनि पराजित भए।
श्रेष्ठको राजनीतिक जीवन भने उतारचढावकै थियो। उनले ०६५ सालमा तत्कालीन माओवादीसँग एकताकेन्द्र मसाल पार्टी मिलाएका थिए। श्रेष्ठले करिब १७ वर्ष भूमिगत जीवन विताएका छन्।
बिपीबाट प्रभावित उनले नेपाली कांग्रेसको भातृ संस्था नेविसंघबाट राजनीति सुरू गरेका थिए। विद्यालय पढ्दाताका नै उनमा राजनीतिक चेत थियो। बिपीको लेख छापिने बनासरबाट निस्कने तरूण पत्रिका उनी खुबै पढ्थे।
जनप्रशासनमा स्नातकोत्तर गरेका श्रेष्ठले अर्थशास्त्रमा स्नातक पनि गरेका छन्। उनी एचए भएर केही समय काम गरे। सिद्धार्थ बनस्थली क्याम्पसमा श्रेष्ठले केही समय नेपाल परिचय विषय पनि पढाएका थिए।
उनी यसअवधिमा तीन पटक जेल परेका छन्। आफू १६ वर्ष हुँदा नै केन्द्रीय कारागार परेको उनले बताउने गरेका छन्। उनी जनप्रशासन क्याम्पसमा स्ववियु सभापति पनि थिए। २०३३ सालमा नेविसंघ नेता हुँदा उनी केन्द्रीय कारागारमा थुनिएका थिए।
पछि कांग्रेस छाडेर श्रेष्ठ मोहनविक्रम सिंह, निर्मल लामाले चलाएको नेकपा चौथो महाधिवेशनमा सामेल भए। गोरखा जौवारी घर भएका श्रेष्ठका काइलाबुवा पनि २०१५ सालमै गोरखाबाट चुनाव उठेका थिए। काइलाबुवा कम्युनिष्ट भएकोले आफू पनि त्यही धारमा लागेको उनी बताउने गर्छन्।