चितवन जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक (एसपी)विहीन भएको एक महिना बितिसकेको छ।
प्रहरी नायब उपरीक्षक (डिएसपी)का भरमा चितवन जिल्ला प्रहरी कार्यालय चलिरहे पनि प्रहरी प्रधान कार्यालयले नयाँ प्रमुख पठाउन सकेको छैन।
आफैंले गरेको सरूवा कार्यान्वयन गर्न नसकेपछि प्रधान कार्यालयलाई एउटा जिल्लामा एसपी पठाउन नसक्ने अक्षम भएको आरोप लागिरहेको छ।
महिना दिनसम्म एसपी खटाउन नसक्दा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल दबावमा छन्। प्रधान कार्यालयका अनुसार उनले सरूवा गराएकी प्रहरी उपरीक्षक गंगा पन्तलाई न खटाउन सकेका छन्, न अर्को प्रहरी उपरीक्षक पठाउन।
प्रहरी महानिरीक्षक मातहतको इन्टरपोल शाखामा कार्यरत् पन्त एक महिनादेखि ‘रवाना’ कुरिरहेकी छिन्।
सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो गृह जिल्ला चितवनमा एसपी सरुवा विषयमा चासो लिएपछि सरुवा अलपत्र परेको हो।
खनालको आदेश पर्खेर बसेका इन्टरपोल शाखा प्रमुख एसएसपी उमेश जोशीले पन्तलाई बाटो खोलिदिएका छैनन्। जोशीले यसबारे पटक-पटक जिज्ञासा राख्दा प्रतिक्रिया दिएनन्।
प्रहरी महानिरीक्षकको सचिवालयले पुस ४ गतेको सरूवा दायाँ-बायाँ नभएको जवाफ दिने गरेको छ।
‘कसैलाई पठाउने निर्णय भएको छैन। मैले जानेअनुसार पुस ४ गतेको सरूवा नै आधिकारिक हो,’ प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने, ‘नयाँ प्रमुख किन पठाइएन भन्नेको जवाफ म दिन सक्दिनँ।’
पन्तको सरूवामा राजनीतिक शक्तिकेन्द्र चिढिएका कारण खनालले चितवनमा प्रमुख पठाउने बारे खासै सक्रियता नदेखाएको प्रधान कार्यालय स्रोत बताउँछ।
विद्यमान ३० वर्षे सेवाअवधिका कारण माघ २७ गते खनालको अवकाश हुँदैछ। अवकाशको मुखमा खनाल जिल्ला प्रहरी प्रमुख खटाउन नसकेकोमा आलोचित छन्।
खनाल पन्तलाई नै चितवन पठाउने योजनाअनुसार नयाँ निर्णय नगरेको बताउँछन्।
‘जे सरूवा भएको हो त्यही कार्यान्वयन गर्न चाहेका छौं। सहमति र असहमतिका कुरा बेग्लै हुन्,’ खनालले केही दिनअघि सेतोपाटीसँग भनेका थिए।
भूतपूर्व एआइजी विज्ञानराज शर्माका अनुसार एक महिनासम्म जिल्लामा प्रमुख खटाउन नसक्नु प्रहरी महानिरीक्षकको कमजोरी हो। शर्माका अनुसार ’भिआइपी’को जिल्लामा प्रहरी प्रमुख खटाउँदा प्रहरी महानिरीक्षकको ’अन्डरकभर रोल’ हुन्छ। पहिले-पहिलेका प्रहरी महानिरीक्षकले भरसक भिआइपीलाई मनाएर उनीहरूको जिल्लामा प्रमुख खटाउँथे।
‘भिआइपीले यसलाई पठाउन पर्यो भन्न सक्छन्, तर क्षमता हेरेर प्रहरी महानिरीक्षकले कसलाई पठाउने भनी सहमति माग्छन्,’ शर्माले भने, ‘तर, जिल्ला एसपी सरूवामा भिआइपी-आइजीको टकराव हुनु अस्वाभाविक हो।’
चितवन सुरक्षा दृष्टिकोणले संवेदनशीलसँगै चुनौतीपूर्ण मानिन्छ। अहिले प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले चितवन चलाइरहेका छन्।
चितवन प्रचण्डको साथै गृहमन्त्री रामबहादुर थापाको पनि गृहजिल्ला हो। पन्तको सरूवाअघि त्यहाँ प्रचण्डका पूर्वबडिगार्ड एसपी दानबहादुर मल्ल थिए। उनलाई अघिल्लो महिनै प्रधान कार्यालयले सरूवा गरेर पन्तलाई खटाउने निर्णय लिएको थियो।
गृह स्रोतका अनुसार पन्तको सरूवाअघि प्रचण्ड र गृहमन्त्री थापासँग खनालले परामर्श गरेनन्। थापाले चितवनमा कसलाई पठाउने भन्नेबारे त्यति चासो नराखे पनि प्रचण्डले चित्त बुझाएका छैनन्। चित्त नबुझाएपछि खनाल विकल्प दिन भन्दै प्रचण्डकहाँ गएका थिए।
‘केही दिनअघि आइजिपी खुमलटार जानुभएको थियो। पहिले नसोधी पठाउने निर्णय गर्नुभयो, अहिले किन हामीले विकल्प दिने भनी प्रचण्डले जवाफ दिनुभएको बुझिएको छ,’ गृह उच्च स्रोतले भन्यो।
निश्चित काम निश्चित दर्जाले मात्र गर्न सक्ने भएकाले प्रहरी उपरीक्षक पदको भूमिकाको खाँचो जिल्ला प्रहरी कार्यालयमा रहन्छ। तलब-राशनलगायत लेखासम्बन्धी काममा प्रमुखकै हस्ताक्षर चाहिन्छ। अन्य कानुनी कारबाही र अपराध अनुसन्धानमा पनि प्रमुखको भूमिका हुन्छ।
पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीका अनुसार सरूवा गरेको ठाउँमा अधिकृतलाई नपठाउने एकाध घटना संगठनभित्र छन्। तर, यति लामो समय जिल्ला खाली राखिएको छैन।
चितवन प्रहरी प्रमुख पठाउने कुरामा संगठनको ‘चेन अफ कमान्ड’लाई नै नेतृत्वले बेवास्ता गरेको उनको भनाइ छ। सरूवा नै गरिसकेपछि जसलाई पठाइएको हो उसलाई रोक्नु नितान्त दुराग्रह हो।
‘खटाएको ठाउँमा जान नदिनु पूर्वाग्रह हो। एक दिनका लागि भए पनि पठाउनुपर्छ,’ भण्डारीले भने, ‘जानै नदिनु भनेको अधिकृतको व्यावसायिक निष्ठामा क्षति गराउनु हो। प्रहरी महानिरीक्षककहाँ राजनीतिक दबाव आउनु स्वाभाविक हो। तर, दबाब छ भनेर लामो समय जिल्लामा प्रमुख नपठाउनु चेन अफ कमान्ड बेवास्ता गर्नु हो।’
नेपाल प्रहरीमा कमै महिला प्रहरी अधिकृत छन्। तीमध्ये पनि पन्त उच्च व्यावसायिक छवि बनाएकी अधिकृत हुन्।
‘शक्ति केन्द्रको सिफारिसमा हप्ता-हप्ता दिनमा दुई-चार डिएसपीको काज निस्किरहेको हुन्छ, एसपीको काज निस्किरहेको हुन्छ,’ एक उच्च अधिकारीले भने, ‘अर्कोतिर एउटा एसपीको सरुवा कार्यानन्वयन भएको छैन। यसले संगठनको नियम, पद्दति बिगार्छ।’