कास्की क्षेत्र नं. २ बाट गत उपनिर्वाचनमा निर्वाचित नेकपा सांसद विद्या भट्टराईले निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमका योजना सार्वजनिक गरेकी छिन्। पोखरामा शुक्रबार पत्रकार सम्मेलनमार्फत भट्टराईले ३६ वटा योजना सार्वजनिक गरिन्। कुल ६ करोड रुपैयाँ लागत लाग्नेगरी उनले ती योजना सार्वजनिक गरेकी हुन्।
प्रतिनिधी सभाका सदस्यले यस आर्थिक वर्षदेखि पुर्वाधार विकास साझेदारी योजना अन्तर्गत ६ करोड रुपैयाँ बजेट पाउने व्यवस्था छ। उनले सार्वजनिक गरेका योजनामा अधिकांस सडक, पुल लगायतका योजना छन्।
सोही क्षेत्रका राष्ट्रिय सभा सदस्य विन्दादेवी रानाले भने भट्टराईले सार्वजनिक गरेको योजनामा आफ्नो सहमति नभएको बताइन्। ‘उहाँले दुई पटक छलफल गरौं भनेर बैठकमा बोलाउनुभएको थियो,’ रानाले भनिन्, ‘१०÷१० लाखका दुर्इ वटा योजना ल्याउनुस् भनेपछि मैले बहिस्कार गरें।’
भट्टराईले राजनीतिक संस्कार समेत नदेखाएको उनको आरोप छ। ‘उहाँले पैतृक सम्पत्ति दिने जसरी भन्नुभयो,’ उनले भनिन्।
यसअघि रविन्द्र अधिकारीले सोही क्षेत्रबाट ५ जना सांसद हुँदा समेत सबैलाई मिलाएको रानाले बताइन्। ‘त्यतिबेला जम्मा १ करोड बजेट थियो, हामी ५ जनाले १०/१० लाखका २/२ वटा योजना छानेका थियौं, अहिले ६ करोड बजेट हुँदा दुई जनामा पनि सहमति गर्न भट्टराईले चाहनुभएन’ उनले भनिन्।
यता, भट्टराईले भने राष्ट्रिय सभा सदस्य रानाले नै राजनीतिक संस्कार नदेखाएको आरोप लगाइन्। ‘उहाँले हस्ताक्षर गर्छु भनेर माइन्युट नै च्यात्नुभएको थियो’, भट्टराईले सेतोपाटीलाई भनिन्, ‘राष्ट्रिय सभा सदस्यको समय सकिँदा समेत मैले समेट्न खोजेँ, उहाँ समेटिन चाहनुभएन।’
भट्टराईले आफूले भर्खरै सकिएको निर्वाचनमा नागरिकसामु गरेका बाचा अनुसार नै योजना छानेको र त्यो योजना आफ्नो पोल्टाबाट नल्याएको बताइन्। ‘मेरा दुई सय योजना भएकोमा ति पनि सबै त समेटिएन नि’ उनले भनिन्।
राष्ट्रिय सभा सदस्य रानाको म्याद एक महिना बाँकी छ । उनको ठाउँमा नेकपाका भगवती न्यौपाने निर्वाचित भएका छन्।