अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
उनलाई शुक्रबार दिउँसो वीरेन्द्रनगर–७ स्थित कटकुवा स्वास्थ्य चौकी नजिकबाट अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो।
अध्यक्ष केसीले सडक निर्माण गरेका उपभोक्ता समितिका बिल पास गराइदिने र यसबापत घुस आफूलाई दिनुपर्ने बताएपछि उक्त उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय परेको थियो।
उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले टोली पठाएर उनलाई घुस लिँदालिँदै पक्राउ गरेको हो।
अध्यक्ष केसीसँगे जुनीचाँदे गाउँपालिकाकै चन्द्र बहादुर बस्नेत पनि पक्राउ परेका छन्।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।
थुप्रै विषयमा थिए अख्तियारमा उजुरी
जुनीचाँदेका अध्यक्ष केसीविरूद्ध यसअघि पनि थुप्रै विषयमा मुद्दा परेका थिए। गाउँपालिका, विद्यालयको रकम हिनामिनादेखि मनपरी खर्च गरेको, सामग्री खरिद प्रक्रियामा हिनामिना गरेको जस्ता विषयमा उनीविरूद्ध अख्तियारमा मुद्दा परेको थियो।
विभिन्न योजनाको रकम दुरूपयोग गरेको, काम सम्पन्न नगरी भुक्तानी लिएको, विभिन्न विद्यालयहरूमा आफू अनुकूलका शिक्षक नियुक्त गरेको, गाउँपालिकाको सामग्री खरिदमा अनियमितता गरेको लगायतका विषयमा उजुरी परेको थियो।
अख्तियारमा परेको उजुरी अनुसार गाउँपालिकामा पर्ने मजकोट खोला जलविद्युत आयोजना, नरमरादेखि लुहादहसम्मको सडक स्तरोन्नतिको काम सम्पन्न नगरी आर्थिक अनियमितता गरेको उनीमाथि आरोप छ।
त्यस्तै, केसीमाथि गाउँपालिकामा पर्ने आदर्श माध्यमिक विद्यालयमा आफैं व्यवस्थापन समिति अध्यक्ष हुँदा विद्यालयको नाममा भवन निर्माण तथा शैक्षिक सामग्री खरिदका लागि छुट्याइएको रकम हिनामिना गरेको आरोप छ।
एक स्थानीयका अनुसार उनी उक्त विद्यालयमा निरन्तर १० वर्षसम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।
नरमरा–लुहादह–जुम्ला सडक स्तरोन्नतिको लागि गाउँपालिकाबाट विनियोजित ४० लाख, आर्थिक वर्ष ०७४/७५ मा सोही सडक निर्माणका लागि विनियोजित ६० लाख, आर्थिक वर्ष ०७५/७६ मा सांसद कोषबाट विनियोजित रकम हिनामिना गरेको आरोप उनीमाथि लगाइएको छ।
गाउँपालिकाभित्र विभिन्न विद्यालयमा आफू अनुकूलका व्यक्तिलाई शिक्षकमा नियुक्त गरी रकम घोटाला गरेको आरोप उनीमाथि छ।
यस विषयमा अनुसन्धानको प्रारम्भिक कार्य सुरू भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।
अख्तियारका दुइटा पत्रको वास्तै गरेनन्
अध्यक्ष केसीविरूद्ध परेको उजुरीका आधारमा अख्तियारको सुर्खेत कार्यालयले उनलाई प्रतिक्रियासहित विवरण पठाउन भन्दै दुई पटक पत्र पठाएको थियो। पहिलो पटक गाउँपालिकाका नाममा पत्र प्राप्त भएको मितिले सात दिनभिन विवरण पठाउन ताकेता गरे पनि उनले महिनौंसम्म कुनै वास्ता गरेनन्।
‘त्यहाँ कार्यालयबाट आव. २०७४/०७५ मा सञ्चालित तपशिल बमोजिमका विभिन्न योजना तथा कार्यक्रममा काम सम्पन्न नगरी बिलभर्पाइ मात्र मिलाई गाउँपालिका अध्यक्षबाट आर्थिक अनियमितता भएको भन्ने व्यहोराको उजुरी निवेदन सम्बन्धमा के भएको हो, प्रतिक्रियासहित उल्लेखित योजना तथा कार्यक्रमसँग सम्बन्धित बिल भर्पाइ रकम विनियोजनको निर्णयसमेत पठाई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ’ अख्तियारले पहिलो पटक पठाएको पत्रमा उल्लेख छ।
असार ८ गतेको मितिमा काटिएको पहिलो पत्र इमेलमार्फत् गाउँपालिकालाई पठाइएको भए पनि दुई महिना बितिसक्दा समेत कुनै प्रतिक्रिया नआएको सूचना भदौ ९ गतेको मितिमा पुनः ताकेता गरी पत्र पठाइएको थियो।