केन्द्रीय समिति बैठकका लागि पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा पुग्दा सोमबार दिउँसो नेविसंघ कार्यकर्ताले हो-हल्ला गरेका छन्।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थीले पार्टी सभापति देउवाले विधान मिचेर नेविसंघ तदर्थ समिति बनाउन लागेको भन्दै पार्टी कार्यालयकै ढोकाछेउ आमरण अनसन सुरू गरेको छ।
अनसनको नेतृत्व नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले गरेका छन्।
तर सभापति देउवा पक्षका नेविसंघले भने सभापतिलाई ढोकैमा छेक्ने काम भइरहेको भन्दै विरोध गरेपछि धकेलाधकेल भएको छ। नेविसंघमा एक वर्षदेखि विवाद छ।
नेविसंघमा अहिले नै ३२ वर्ष उमेरहद लागू गर्नुपर्ने र लागू गर्न नहुने पक्षबीच विवाद छ। विधान लागू गर्न माग गर्दै एक महिनादेखि रिले अनसन पनि जारी छ।
तर सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एक सय २७ सदस्यीय नेविसंघ तदर्थ समिति बनाउने पक्षमा सहमत छन्। सभापति देउवाले पूर्वउपसभापति राजीव ढुंगानाको नाम नेविसंघ सभापतिमा प्रस्ताव गरेका छन्। उक्त प्रस्ताव विधानविपरीत भन्दै नेविसंघमा काफ्ले समूहले विरोध गरिरहेको छ।
नेतृत्वले विधान मिचेको भन्दै नेविसंघले हो-हल्ला गरेका हुन्।
विद्यार्थीको हो-हल्ला गरेपछि केन्द्रीय समिति बैठक सुरू भएको छैन।