नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अडान छाडेपछि १४ औं महाधिवेशन कार्यतालिका हेरफेर भएको छ।
केन्द्रीय महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णयलाई यथावत राखेर देउवाले तल्ला तहका अधिवेशन अघि ल्याएका हुन्।
बरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिमा ल्याउन देउवा कार्यतालिका हेरफेर गर्न मात्र होइन क्रियाशील सदस्यता छानविन समिति गठन गर्न पनि तयार भए।
पुस ११ गते सभापति देउवा पक्षका केन्द्रीय सदस्य मात्रै उपस्थित केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका, विभाग बढाउने, क्रियाशील सदस्यता सम्बन्धी धारा निलम्बन गर्ने निर्णय गरेपछि पार्टीमा डेढ महिनादेखि विवाद बढेको थियो।
सोमबार बसेको केन्द्रीय समिति बैठकले पुस ११ का केही निर्णयलाई नचलाइ वडादेखि प्रदेश अधिवेशनसम्मका कार्यतालिका करिब एक महिना अघि ल्याएको छ। विधान मिचेर गठन गर्ने निर्णय गरिएको ४७ विभाग के गर्ने भन्नेमा छलफल भएको छैन।
यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका:
- गाउँ–नगर वडा अधिवेशन: २०७७ कात्तिक १६ गते
- गाउँ–नगरपालिका अधिवेशन: २०७७ कात्तिक १८ गते
- प्रदेशसभा क्षेत्रीय अधिवेशन: २०७७ कात्तिक २१ गते
- प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: २०७७ कात्तिक २३ गते
- एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन: २०७७ कात्तिक २५ गते
- प्रदेश अधिवेशन: २०७७ मंसिर २९ गते
- केन्द्रीय महाधिवेशन: २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं।
यसअघि गाउँ/नगरका वडा अधिवेशन ०७७ मंसिर ९ गतेदेखि गर्ने कार्यतालिका थियो।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार माघभित्र अन्तरिम संरचना समायोजन गर्ने काम सकिन्छ। कांग्रेसले अहिले प्रदेश संरचना बनाउन खोजेको छैन। तल्ला तहमा भने पुरानै संरचनालाई समायोजन गरी संघीयताअनुरूप पार्टी संगठनमा ढाल्न खोजिएको हो।
०७६ चैत्रभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण पूरा गरिसक्नुपर्ने कांग्रेसले निर्देशन पनि दिएको छ।
नयाँ क्रियाशील सदस्यता र नवीकरण क्रियाशील सदस्यताको सूची प्रकाशन गरी केन्द्रमा ०७७ वैशाखभित्र जानकारी पठाइसक्नुपर्छ। नयाँ क्रियाशील सदस्यताबारे केन्द्रीय छानविन समितिमा उजुरी दिने समय पनि तोकिएको छ।
‘जेठ १५ भित्र क्रियाशील सदस्यता छानविन केन्द्रीय समितिमा उजुरी दिन सकिन्छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘जेठ मसान्तभित्रमा उजुरीउपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नुपर्छ।’
यदी उक्त समितिले गरेको छानविनमा चित्त नबुझे कांग्रेस कार्यकर्ताले क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा असार १५ भित्र उजुरी–पुनरावेदन दिइसक्नु पर्नेछ।
‘साउन १५ भित्र ती उजुरी उपर निर्णय गरिसक्नुपर्छ,’ पौडेलले
नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरण सदस्यता नामावली सभापति देउवालाई साउन २५ गतेभित्र बुझाउन पनि केन्द्रीय समितिले निर्देशन दिएको हो।
सभापतिले प्रमाणित गरेको क्रियाशील सदस्यता नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई साउन मसान्तभित्र बुझाइसक्नुपर्ने समय दिइएको छ।
क्रियाशील सदस्यता छानविनका लागि ‘क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति’ गठन गर्न लागिएको छ। सात सदस्यीय छानविन समिति सभापति देउवाले अरू नेतासँग परामर्श गरी गठन गर्ने निर्णय सोमबार केन्द्रीय समितिले गरेको हो।
‘१४ औं महाधिवेशन गर्न परिमार्जनसहित पारित गरेको कार्यतालिका तथा कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गर्न सकिन्छ,’ पौडेलले भने।
कांग्रेसले यही माघ २३ गते दिउँसो २ बजे पुन: केन्द्रीय समिति बैठक डाकेको छ। गत मंसिर २६ गते सभापति देउवाले विभाग बढाउनेलगायत ९ एजेन्डा बैठकमा पेश गरेपछि पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुह रूष्ट थियो।
त्यसपछि बढेको विवाद डेढ महिनापछि अहिलेका लागि सुल्झिएको छ। सभापति देउवा निवासमा गत शुक्रबार भएको शीर्ष नेता छलफलपछि विवाद समाधान गरी सहमतिमै अघि बढ्ने समझदारी भएको थियो।
यो पनि:
स्वार्थ मिलेपछि पौडेल नै विधान मिच्न तयार, नेविसंघमा ९ महामन्त्री!