अनसनरत विद्यार्थीको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई एसएमएस गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयमा तीन दिनदेखि नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनसनमा छन्। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।
विद्यार्थी नेता मनिष सिंखडाका अनुसार अनसनरत त्रिपाठीको जीवनरक्षाको माग गर्दै देशभरका नेविसंघबाट शीर्ष नेतालाई एसएमएस गर्न सुरू गरिएको छ।
‘नेविसंघको विधान, गरिमा र इतिहास जीवित राखियोस्। सत्याग्रही नवराज त्रिपाठीको जीवन रक्षा गरियोस्’ लेखिएको मेसेज नेताहरूको मोबाइलमा पठाएको सिंखडाले सेतोपाटीलाई जानकारी दिए।
नेविसंघमा ३२ वर्ष उमेरहद लागू गर्नुपर्नेलगायत विधानका व्यवस्था कार्यान्वयन माग गर्दै निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा एक महिनादेखि रिले अनसन भइरहेको थियो।
सभापति देउवाले पौडेल र सिटौलासँग सहमति गरी नेविसंघमा पूर्वउपसभापति रहेका राजीव ढुंगानाको नेतृत्वमा विधान मिचेर एक सय २७ सदस्यीय नेविसंघ गठन गर्न लागेपछि काफ्ले समूहले रिले अनसनलाई आमरण अनसनमा रूपान्तरण गरेको हो।
सोमबार आमरण अनसन सुरू गर्दा सभापति देउवा निकटका नेविसंघ काफ्ले निकटका विद्यार्थी जाइलागेका थिए। नैनसिंह महर नेतृत्वको नेविसंघ गत वर्ष माघमा विघटन भएपछि नेविसंघ केन्द्रीय समिति नेतृत्वविहीन छ।
स्ववियु निर्वाचन आउन लागेको भन्दै अहिले कांग्रेसले नेविसंघ तदर्थ समिति बनाउन लागेको छ। उक्त तदर्थ समितिलाई छ महिनाभित्र नेविसंघ ११ औं महाधिवेशन गर्नुपर्ने जिम्मेवारी पनि दिन लागिएको छ।