१७ वर्षअघि शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टी फुटाएर नयाँ पार्टी बनाए- नेपाली कांग्रेस (प्रजातान्त्रिक)।
तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग पंगा लिएर नयाँ पार्टी बनाउन देउवालाई केही मानिसहरूले ठूलो गुन लगाएका थिए।
देउवाले आफ्नो नेतृत्वमा पार्टी हाँक्न धेरै वर्ष सकेनन्। उनको पार्टी पाँच वर्षपछि कांग्रेसमै मिसियो। २०६२/०६३ को जनआन्दोलनपछि देउवाले गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेससँग पार्टी एकता गरे। त्यसपछि देउवा पार्टीमा ६०-४० को हैसियत कायम गर्न सफल भए।
४० प्रतिशतको हैसियत पाए पनि देउवाले आफूलाई साथ दिनेलाई गुन फर्काउन सकेका थिएनन्।
गिरिजापछि सुशील कोइराला कांग्रेस सभापति भए। २०७२ माघमा सुशीलको निधन भयो।
२०७२ फागुनमा भएको १३ औं महाधिवेशनमा रामचन्द्र पौडेललाई हराउँदै देउवा कांग्रेस सभापति बने। सभापति बनेपछि भने देउवाले १३ वर्षअघि आफूलाई सघाउनेको गुन तिर्न थाले।
यो चार वर्षमा देउवाले आफूलाई साथ दिएकाहरूलाई छानीछानी पद दिएका छन्।
२० वर्षदेखि आफूलाई साथ दिएका सुनसरीका राजीव ढुंगानालाई भने देउवाले कुनै पद दिन सकेका थिएनन्।
बिहीबार भने देउवाले राजीवको गुन पनि तिरेका छन्। सुनसरीका ४६ वर्षीय ढुंगानालाई देउवाले नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन्।
नेतृत्व चयन गर्ने जिम्मेवारी पाएको ११ महिनापछि देउवाले नेविसंघको तदर्थ समिति बनाएका हुन्।
२०७३ भदौमा भएको नेविसंघको ११ औं महाधिवेशनमा सभापति देउवा समूहबाट ढुंगाना सभापति उठ्ने चर्चा थियो।
टिकट देउवा समूहकै नैनसिंह महरले पाए। महरले बरिष्ठ नेता रामचन्द्र पौडैल निकट मनोजमणि आचार्यलाई हराए।
ढुंगाना र देउवाबीच सम्बन्ध पूरानै हो। देउवाले कांग्रेस फुटाएर २०५९ सालमा कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा ढुंगानाले साथ दिएका थिए।
देउवाले पार्टी फुटाउँदादेखि साथ दिएका ढुंगानालाई नेविसंघ तदर्थ समितिको सभापति बनाएर गुन तिरेका छन्। ढुंगाना ०४६ सालदेखि नै राजनीतिमा सक्रिय थिए।
उनले नेविसंघबाटै राजनीति थालेका हुन्। २०४६ सालमा उनी नेविसंघ सुनसरी जिल्ला सदस्य बने। त्यसको दुई वर्षपछि उनी नेविसंघ सुनसरी जिल्ला सचिव भए।
विश्वप्रकाश शर्मा नेविसंघ अध्यक्ष हुँदा २०५७ सालमा ढुंगानाले केन्द्रीय सदस्यमा चुनाव जिते।
सात वर्षपछि ढुंगाना नेविसंघ पदाधिकारी नै बने। २०६४ सालमा उनी कोषाध्यक्ष भएका थिए। त्यसको वर्षदिनपछि प्रदीप पौडेल नेविसंघ अध्यक्ष हुँदा ढुंगाना उपाध्यक्ष बने।
ढुंगाना १३ औं महाधिवेशनदेखि कांग्रेसको महासमिति सदस्य छन्।
११ वर्षपछि नेविसंघ राजनीतिमा फर्केका ढुंगानाले सभापति देउवासँग आफ्नो पहिलेदेखिकै सम्बन्ध सुमधुर रहेको बताए।
बिहीबार नेविसंघ अध्यक्षमा देउवाबाट मनोनित भएपछि सेतोपाटीसँग कुराकानी गर्दै ढुंगानाले भने, ‘उहाँ (सभापति देउवा) सँग २०/२२ वर्षदेखि सुमधुर सम्बन्ध छ। उहाँले पार्टी बनाउँदा पनि साथ दिएको हुँ।’
एक सय २७ सदस्यीय नेविसंघ तदर्थ समिति गठन गरेर पार्टीले दिएको जिम्मेवारीअनुसार छ महिनाभित्र १२ औं महाधिवेशन गरिसक्ने ढुंगानाको दाबी छ।
३२ वर्षे उमेरहद लागु गर्न पार्टी कार्यालयमै आमरण अनसन जारी छ, कसरी मिलाउनुहुन्छ? भन्ने प्रश्नमा ढुंगानाले भने, ‘आमरण अनसन बस्ने साथीहरू पनि अट्ने गरी समाधान गरिन्छ।’
कांग्रेस कार्यालयमा निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी चार दिनदेखि आमरण अनसनमा छन्।
अनसन वेवास्ता गर्दै देउवाले नेविसंघ सभापति र दुई महामन्त्री मनोनित गरेका हुन्।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको विधान १२ औं महाधिवेशनदेखि लागू हुने तर्क गरे।
‘१२ औं महाधिवेशनदेखि ३२ वर्षे उमेरहद नेविसंघमा लागु हुन्छ। महाधिवेशन गराउने यो तदर्थ समिति विधानअनुसार नै गठन गरिएको हो,’ शर्माले सेतोपाटीसँग भने।
यसअघिका नेविसंघ अध्यक्ष नैनसिंह महरका पालामा ३२ वर्षे उमेरहद लागू गर्ने गरी बनाइएको विधानलाई सभापति देउवाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिले नै अनुमोदन गरिदिएको थियो।
नयाँ विधानअनुसार ३२ वर्षमुनिका मात्रै उम्मेदवार उठेर २० जिल्लामा अधिवेशनबाट नयाँ नेतृत्व आइसकेको छ। तर केन्द्रमा भने देउवाले रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उपसभापति विजयकुमार गच्छदार समुहलाई पनि महामन्त्री दिएर नेविसंघ गठन गरेका हुन्।
भागबन्डाअनुसार देउवाले तीन, पौडेलले तीन, सिटौलाले दुई र गच्छदारले एक महामन्त्री पाउँछन्। आफ्नो भागमा लिएको तीन महामन्त्रीमध्ये देउवाले काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई महामन्त्री मनोनित गरिसकेका छन्।
पौडैल, सिटौला र गच्छदारले आफ्नो भागमा पाएको महामन्त्री र सदस्यहरूको नाम पठाएका छैनन्। महामन्त्री वैद्यले सेतोपाटीसँगको कुराकानीमा नेताहरूले नामावली पठाएपछि छिट्टै एक सय २७ सदस्यीय नेविसंघ केन्द्रीय समितिलाई पूर्णता दिइने जानकारी दिए।
नेविसंघ काठमाडौं जिल्ला सभापति रहेका वैद्य पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट थिए। स्रोतका अनुसार महामन्त्री पाइने भएपछि हालै वैद्यले सिंह समुह छाडेर देउवासँग नजिकिएका हुन्।
पछिल्लो समय सभापति देउवा उपस्थित हुने कार्यक्रममा वैद्यको नेतृत्वमा युवा परिचालित हुन्छन्। सोमबार पार्टी कार्यालयमा कुन्दनराज काफ्ले समुहले थालेको आमरण अनसन विथोल्न पनि वैद्यकै नेतृत्वमा युवा परिचालित भएको स्रोतको दाबी छ। त्यो बेला गमला र इँटा हानाहान हुँदा दुई जना नेविसंघ कार्यकर्ता घाइते भएका थिए।
यो पनि:
४६ वर्षीय राजीव ढुंगाना नेविसंघको अध्यक्ष