दक्षिण कोरियाको सनमुन विश्वविद्यालयका अनुसन्धानकर्ता एवं प्राध्यापक डा. रमेशप्रसाद पाण्डेले बुधबार पोखरामा आफूले अनुसन्धानबाट प्रमाणित गरेका नतिजा प्रस्तुत गरे। उनको प्रस्तुतीमा एउटा रुख/विरुवामा भएको औषधिजन्य पदार्थ निकालेर ब्याक्टेरियामा राखेर कम खर्चमा धेरै उत्पादन गर्न सकिनेमा केन्द्रित थियो।
‘एउटा रुख बयस्क हुन ७० बर्ष लाग्छ, त्यसबाट १ मिलिग्राम औषधिजन्य पदार्थ मात्र निकाल्न सकिन्छ’ पाण्डेले सेतोपाटीलाई भने, ‘एउटा रुखबाट निकालिएको यस्तो पदार्थलाई ब्याक्टेरियाको माध्यमबाट धेरै उत्पादन गर्न सकिन्छ।’
उनको प्रस्तुतीमा विभिन्न फूलबाट कस्मेटिक र औषधिजन्य पदार्थको प्राकृतिक र दिगो उत्पादनमा जोड दिइएको थियो। विश्वस्तरका विभिन्न विज्ञान जर्नलमा ७५ वटा लेख लेखिसकेका पाण्डेले हालसम्म ९ वटा वैज्ञानिक आविस्कारको ‘पेटेन्ट राइट’ लिइसकेका छन्। ५ वटा पुस्करमा लेख लेखेका उनले पत्ता लगाएका २ वटा पेटेन्ट राइट कोरियाली कम्पनीलाई बिक्री गरेको बताए।
पोखरामा बुधबारदेखि सुरु भएको तीन दिने तेस्रो अन्तर्राष्ट्रिय जीव विज्ञान तथा जीव विज्ञान प्रविधि सम्मेलनमा अर्का नेपाली प्रस्तुतकर्ता थिए, बर्दियाका निरज अर्याल। उनले नेपाली माटोमा रहेको ब्याक्टेरियाको प्रयोग गरेर औषधि निकाल्ने प्रविधिको जर्मनीमा अनुसन्धान गरे। नेपाली माटोको ब्याक्टेरिया भनेर अहिले दर्ता गर्ने प्रक्रियामा छन्।
पोखरामा अहिले यस्तै युवा वैज्ञानिकहरु भेला भएका छन्। नेपाल, भारत, अमेरिका, जर्मनी, नेदरल्याण्ड, बेलायत लगायत १५ देशका २७ जना वैज्ञानिक सहभागी सम्मेलनमा आ–आफ्नाे अनुसन्धानका निचोडहरुमा छलफल गर्दैछन्। विश्वस्तरका विज्ञान जर्नलमा प्रकाशित भएका विषय मात्र समेटिएकाले यहाँ प्रस्तुत गरिएका प्रस्तुतीहरु प्रमाणित भएका र एक अर्काको धारणा बुझ्ने, छलफल गर्ने फोरम बनेको आयोजक बायोसाइन्स एण्ड बायोटेक्नोलोजी नेपाल (रिब) का अध्यक्ष प्रज्वल राजभण्डारी बताउँछन्।
मानिसका लागि मात्र नभएर जीव बिज्ञान र वातावरणीय स्वास्थ्यका लागि पनि बायोसाइन्स र बायोटेक्नोलोजीको क्षेत्र ब्यापक रहेको वैज्ञानिक पाण्डेको भनाई छ।
विकसित देशमा जीव विज्ञानकै आधारमा मानिसको भविष्य समेत बताउन सक्ने अवस्था आइसकेको उनले बताए। चर्चित अमेरिकी अभिनेता एन्जेलिना जोलीले स्तनको क्यान्सर हुनु अगावै स्तन काटेर फालेको उदाहरण दिँदै पाण्डेले भने, ‘एन्जेलिना जोलीलाई स्तन क्यान्सर हुने संभावना ९० प्रतिशत बढी भएपछि उनले स्तन नै काटेर फालिन्, रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै उपचार गर्नु राम्रो भयो नि।’
उनले बायोलोजीको महत्व अझै व्यापक भएको भन्दै चीनमा भएको अर्को उदाहरण सुनाए, ‘एचआइभी संक्रमित एक दम्पत्तिले बच्चा जन्माउने चाहना राखे। उनीहरु दुवैजनाको बिर्य संकलन गरेर एचआइभी भारसरको संक्रमण नबढ्ने गरी महिलाको पाठेघरमा राखियो। ति महिलाले एचआइभी नभएको बच्चा जन्माइन्।’
विशेषगरी अपराधिक घटनाको छानविनमा प्रयोग हुने डिएनए परीक्षण समेत बायोटेक्नोलोजीकै उपज रहेको उनले बताए। ‘नेपालमा अझै पनि हात हेराउने ज्योतिषले मात्र भविष्यवाणी गर्छ’ उनले भने, ‘विकसित समाजमा मानिसले डिएनए परीक्षण गरेर भविष्यमा लाग्न सक्ने रोगका बारेमा जानकारी लिन्छ, विश्व यतातिर जाँदैछ।’
सम्मेलनमा ग्रिन एण्ड सस्टेनेवल केमेष्ट्री, मेडिकल एण्ड फर्मासेउटिकल साइन्स, फुड टेक्नोलोजी एण्ड माइक्रोबायोलोजी र एग्रिकल्चर एण्ड प्लान्ट बायोटेक्नोलोजी विषयमा वैज्ञानिक तथा अनुसन्धाताहरुले आ– आप्mना प्रस्तुती दिइरहेका छन्।
वैज्ञानिक तथा अनुसन्धाताहरुको यस सम्मेलनमा सहभागी हुन देशी– विदेशी विद्यार्थी समेत सहभागी छन्। काठमाडौं विश्वविद्यालय बायोटेक्नोलोजी विषयकी विद्यार्थी तृष्णा लामिछाने यस कार्यक्रमबाट नयाँ नयाँ विषयमा जानकारी पाइने भएकाले सहभागी भएको बताइन्।
‘बायोलोजी र बायोटेक्नोलोजीको क्षेत्रमा नेपाल र विश्वमा के भइरहेको छ, थाहा पाइन्छ’ उनले भनिन्, ‘बायोटेक्नोलोजीको स्कोप र आइडिया थाहा हुने भएकाले यहाँ आएकी हुँ।’
नेपालमा पहिलो पटक सन् २००३ बाट काठमाडौं विश्वविद्यालयले बायोटेक्नोलोजी विषय पढाउन थालेको हो। बायोटेक्नोलोजी पढेका रिब अध्यक्ष प्रज्वल राजभण्डारी जब विदेश गए, त्यसपछि यस विषयमा ठूला ठूला सम्मेलन भएको देखे।
‘मैले पढ्ने बेला नेपालमा साना साना सम्मेलन हुन्थे’ उनले भने, ‘जब विदेशमा ठूला सम्मेलन भएको देखें, त्यसपछि नेपालमा पनि हामीले गर्न सक्छौं भनेर यो कार्यक्रमको आयोजना गरेका हौं।’
अन्य विज्ञानको धेरै प्रवद्र्धन भइसकेको बताउँदै उनले मानव जीवन र वातावरणका लागि जीव विज्ञानको महत्व सबैभन्दा धेरै भएकाले यसको प्रवद्र्धन गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको बताए। ‘बायो साइन्स र बायो टेक्नोलोजी पढेका विद्यार्थी विदेश मात्र ताक्छन्’ राजभण्डारीले भने, ‘नेपालमा पनि स्कोप छ भनेर देखाउन पनि यो कार्यक्रम गरेका हौं।’
सन् २०१६ देखि दुई दुई वर्षको फरकमा नेपालमा यस्तो सम्मेलन आयोजना गरिएको उनले जानकारी दिए। सम्मेलनमा पोखरामा अध्ययन गरेका विद्यार्थी र यस क्षेत्रमा लागेकाले थप जानकारी थाहा पाउन् भनेरै यो कार्यक्रम पोखरा ल्याएको सम्मेलनका स्थानीय संयोजक रमेश बरालले बताए।
पोखरा विज्ञान तथा प्रविधि क्याम्पसका शिक्षक समेत रहेका बरालले यस्तो सम्मेलनबाट आम मानिसलाई मात्र नभएर उद्योगी, व्यवसायी लगायत हरेक क्षेत्रका मानिसलाई फाइदा पुग्ने बताए।
कार्यक्रमको उद्घाटन गर्न पुगेका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठले ‘समाजका लागि विज्ञान’ भन्ने नाराका साथ नाष्टले काम गरिरहेको बताए।
वैज्ञानिकलाई स्वदेश फर्काउन नाष्टले प्रयास गरिरहेको भन्दै उनले थपे, ‘हामी विदेशमा रहेका वैज्ञानिक नेपालमा काम गर्न चाहन्छ भने रिसर्च ग्राण्ड दिन्छौं, ब्रेन पुलिङ गरेर नेपालमा विदेशबाट नेपाली वैज्ञानिक ल्याउँछौं।’ उनले बायोलोजी र बायोटेक्नोलोजीको क्षेत्रमा नेपालको धेरै सम्भावना रहेको बताए।