अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने भूमाफिया शोभाकान्त ढकालले ३९ करोड र राम सुवेदीले ५२ करोड भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङले पनि ढकालले जति नै ३९ करोड २७ लाख ६८ हजार भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।
त्यस्तै पूर्वमन्त्री विजयगच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख दिपबस्न्यात र जिल्ला न्यायाधीश विनोद गौतमले ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको भनिएको छ। न्यायाधीश गौतम उपसचिव हुँदा बालुवाटार जग्गा व्यक्तिको नाममा पुर्याउने गरी निर्णय गरेको आरोप अख्तियारको छ।
त्यस्तै पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीले ७ करोड ८ लाख ४८ हजार भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ।
यिनीहरूलाई विगो बमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ। सार्वजनिक पदमा बसेर भ्रष्टाचार गरेकाले उनीहरूलाई थप डेढ वर्ष कैद गर्न पनि अख्तियारले माग गरेको छ।
तत्कालीन उपसचिव हुपेन्द्रमणि केसीले ३० करोड ३९ लाख ९६ हजार बराबरको भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
कसले कति रकम गरे भ्रष्टाचार?
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन मालपोत अधिकृत हरिकृष्ण तिमल्सिना- ३२ करोड १९ लाख २० हजार
मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत परशुराम पोखरेल- ३२ करोड १९ लाख २० हजार
मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर खापुङ्ग- ९ करोड ६५ लाख ७६ हजार
भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव जीतबहादुर थापा- ९ करोड ६५ लाख ७६ हजार
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शहोकनाथ उप्रेती- ९ करोड ६५ लाख ७६ हजार
गुठी संस्थान केन्द्रीय कार्यालय त्रिपुरेश्वरका मुख्य अधिकृत हरिवोल आचार्य- ७ करोड आठ लाख ७८ हजार
भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक रुद्र कुमार श्रेष्ठ- १३ करोड २३ लाख ७२ हजार
भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय- १३ करोड २३ लाख ७२ हजार
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत कलाधर देउजा- दुई करोड २६ लाख ८५ हजार पाँच सय
मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत टिकाराम घिमिरे- १३ करोड ६५ लाख ७२ हजार
भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्य- ७५ लाख दश हजार