नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनबाट फैलिएको कोरना भाइरसका विषयलाई लिएर अमेरिकाको आलोचना गरेका छन्। उनले अमेरिकाको नामै लिएर आलोचना गरे।
चीनलाई नरुचाउने, मन नपराउनेहरुले कोरोनाभाइरसलाई लिएर त्रसित बनाउन खोजेको उनले तर्क गरे। चीनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्य आफूले भनेको कुरासँग मिलेको उनले बताए।
वक्तव्यलाई उदृत गर्दै उनले भने ‘यहाँ देखा परेको कोराेनाको सन्दर्भमा पश्चिमा शक्तिबाट अनावश्यक प्रचार गरेर वातावरण झन् दुषित बनाउने असाध्यै नराम्रो र अनैतिक काम भयो भनेर बक्तव्य नै जारी गरेको तपाइहरुले हेरिसक्नुभयो होला।’
अमेरिकामा महामारी हुँदा चीनले वातावरण नै विगार्ने गरी प्रचार नगरेको उनले बताए। प्रचण्डले भने, ‘२००८ मा हो सायद, एउटा रोग अमेरिकाको शहरमा देखा पर्यो, त्यो रोग देखा परेपछि विश्वभरी नै एक खालको चिन्ता जाहेर भयो, त्यतिबेला २ लाख ५० हजार भन्दा बढी मानिस मरेका रहेछन्, त्यतिबेला चीनले अमेरिकालाई सहयोग गर्यो।’ तर अहिले कोरोनाभाइरसबाट ४ सय मर्दा गलत ढंगले प्रचार गरिएको उनले बताए।
शक्ति राष्ट्रले कस्तो कुरालाई प्रचार गर्ने र कस्तोलाई नगर्ने भनेर आफ्नै ढंगले व्याख्या गर्ने गरेको प्रचण्डको भनाइ छ। कोरना भाइरसबाट त्रसित हुनुपर्ने अवस्था नरहेको भन्दै उनले सतर्क भने हुनुपर्ने बताए।
यसबारे सरकारले लगातार जनतालाई प्रशिक्षित गरेको दाबी गर्दै उनले चीनले रातारात अस्पताल र भ्याक्सिन बनाएर नियन्त्रणको प्रयास गरेको प्रचण्डले बताए।
‘चीनले सक्ने जति काम गरेको छ, नियन्त्रण हुन्छ छिट्टै भन्ने विश्वास पैदा भएको छ’ उनले भने ‘विज्ञान प्रविधिको विकासले मानिसलाई सहयोगका साथसाथै चुनौति पनि लिएर आएको छ।’