ललितपुर सानेपाकी रजनी जोशी चीनको वुहानमा एमबीबीएस पढ्न गएकी आफ्नी छोरी श्रद्धा श्रेष्ठसँग दिनकै वीच्याटमा कुरा गर्छिन्।
केही सातादेखि आमाछोरीको कुराकानी झन् बाक्लिएको छ। पहिलेपहिले हालखबर सोध्थे, एकअर्काका कुरा सुन्न आतुर हुन्थे। अचेल भने छोरीको स्वर सुन्नसाथ रजनीले मन थाम्न सक्दिनन्,आँखा रसाइहाल्छन्। आमा रोएको देखेपछि श्रद्धाका आँशु पनि थामिन्नन्।
कोरोना भाइरसको आतंकसँग जुधिरहेकी श्रद्धाले मन भुलाउन आमालाई फोन गर्छिन्। खानेकुरा सकिएको, पिउनयोग्य पानी नभएको कुरा सुनाउँछिन्। त्यो सुन्न बुवाआमाले के सक्थे?
'म त अलिक मनलाई बलियो बनाएर बसिरहेको छु। आमाछोरी त दिनकै फोनमा कुरा गर्दै रून्छन्,' श्रद्धाका बुवा दिनेश श्रेष्ठले भने, 'बाआमाको मन थामिन गारो न रैछ!'
उता वुहानमा श्रद्दा छट्पटाउँछिन् यता रजनी निदाउँन सक्दिनन्।
'उहाँ छोरीलाई डर, यहाँ हामीलाई। साँच्चै भन्ने हो भने मृत्यु कुरेर बसेको जस्तो भयो,' यति भन्दापनि श्रेष्ठको बोलि अड्किरहेको थियो।
चीनको वुहानमा केही सातादेखि कोरोना भाइरसका संक्रमण फैलिपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। सडकमा मोटर गुड्न छाडेका छन्। विमानस्थल बन्द छ।
शुक्रबारसम्म कोराना भाइरसका कारण ६ सय ३८ जनाको मृत्यु भएको छ। ३१ हजार संक्रमित छन्।
चीन सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन सर्वसाधरणमा आदेश जारी गरेको छ। त्यहाँ रहेका नेपाली विद्यार्थीहरु पनि कोठाबाट बाहिर निस्कन सकेका छैनन्। उनीहरुले नेपाल सरकारलाई उद्दार गरिदिन गुहार गरिरहेका छन्।
दिनेशलाई जस्तै चाबहिलका मोहन खतिवडालाई पनि चीनको जिनजाइमा रहेकी छोरी मिमांसाको पिरलो छ। उनी पेशाले प्रध्यापक हुन्। पढाउने बेला त उनले तै विर्सिन्छन्, अघिपछि मिमांसाकै झल्कोले सताउँछ।
फुर्सद हुनसाथ छोरीसँग वीच्याटमा कुरा गर्छन्। मिमांसा याङ्जे विश्वविद्यालयमा एमबिबिएसको इन्टर्नसिप गरिरहेकी छिन्। उनी बसेको ठाउँ हुवेइ प्रान्तसँगै जोडिएको छ।
छोरी बसेकै ठाउँमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सयदेखि ८ सय पुगेको खतिवडाले सुनाए।
'यसरी दिन दुई गुणा रात चौगुणा बढिरहेको छ। यस्तो बेला आमाबाको मन कसरी ढुक्क हुन्छ?' उनले भने।
मिमांसाले फोनमा बुवालाई आफू बसेको ठाउँमा पसल बन्द भएको, पानीको सप्लाई बन्द भएको कुरा सुनाउँछिन्। यता बुवा उनलाई नआत्तिन भन्दै सम्झाउन खोज्छन्।
अरू देशहरूले त्यही विश्वविद्यालयबाट आफ्ना नागरिकलाई उद्दार गरेको समाचार सुनेका खतिवडालाई आफ्नो सरकारसँग झोक चल्छ।
'नेपालले चाँही ल्याउन नसक्दा हाम्रो छोराछोरीलाई कस्तो हुन्छ होला?' उनले भने।
सरकारले पनि नेपाली विद्यार्थीलाई वुहानबाट फर्काउने तयारी गरिहरेको छ। तर सरकारले तदारूकता नदेखाएको भन्दै अभिभावक रूष्ट छन्।
'सरकारले डब्लुएचओको मापदण्ड पूरा गर्न काम गरिहरेको भनेको छ। हाम्रै समानको बंगलादेश र मालदिभ्सले पनि आफ्ना नागरिक लगिसके। के उनीहरूले चाहिँ त्यो मापदण्ड पूरा गरेनन् होला?' खतिवडाको प्रश्न छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरससँग जुध्न स्वास्थ्य संकटकाल घोषणा गरेको छ। बिरामीको व्यवस्थापन, उपचार गर्ने ठाउँको क्षमता र समुदायमा पर्न सक्ने जोखिमबारे पूर्व तयारीका लागि डब्लुएचओले मापदण्ड तय गरेको छ। तर सरकारले अहिलेसम्म चीनबाट नेपालीलाई फर्काएर राख्ने ठाउँ तय गर्न सकेको छैन।
सरकारले जति ढिला गर्यो त्यसले दुःखद घट्ना घट्न सक्ने भन्दै आत्तिएका अभिभावकहरू सरकार आफ्नो पिडाप्रति उदासिन भएको बताउँछन्।
'पीडा सरकारलाई हैन हामीलाई छ। हाम्रा छोराछोरीहरु रोइरहेका छन्,' खतिवडाले भने।
शुक्रबार वुहानमा बस्ने नेपाली विद्यार्थीहरूका १५ अभिभावकहरूले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीलाई भेटे।
भेटमा उनीहरूले दुवै मन्त्रीलाई आफ्ना छोराछोरी चाँडो नेपाल ल्याइदिन आग्रह गरे। दुवै मन्त्रीलाई ज्ञापन पत्रपनि बुझाए।
पहिले गृहमन्त्री थापासँग भेटेका अभिभावकले मन्त्रीलाई एउटै स्वरमा भने, 'हाम्रो छोराछोरी कहिले ल्याउनुहुन्छ, मिति तोक्नुहोस्।'
जवाफमा मन्त्री थापाले एक हप्ताको समय मागे।
'उहाँलाई हाम्रो छोराछोरी कहिले ल्याउनुहुन्छ, मिति तोक्नुस् भन्यौं। उहाँले तयारी हुँदैछ,एक हप्ताको समय दिनुस् भनेर टालटुले जवाफ दिनुभो,' श्रेष्ठले भने।
गृहमन्त्रीसँगको भेटपछि अभिभावकहरू परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीलाई भेट्न गए। मन्त्री ज्ञवालीसँग २० मिनेट कुराकानी भएको भन्दै श्रेष्ठले भने, 'उहाँलाई पनि हामीले रिजल्ट चाहियो भन्यौं। उद्दार कहिले गर्नुहुन्छ भनेर मिति सोध्यौं। उहाँले पनि हप्ता दिनको समय माग्नुभयो।'
मन्त्रीसँगको कुराकानीपछि आजै प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र दर्ता गराएको श्रेष्ठले जानकारी दिए।
बिहीबार पनि अभिभावकहरूले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका थिए।
सरकारले भने वुहानबाट आफ्ना नागरिकलाई कहिले ल्याउने र कहाँ राख्ने भन्नेबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यसअघि चीनस्थित नेपाली दुतावासले नेपाल फर्कन चाहनेलाई फाराम भर्न अनुरोध गरेकोमा १ सय ८० जनाले फाराम भरिसकेका छन्।