धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हिजोआज चर्चामा छ। यहाँ छ महिनादेखि रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन मागिएको छ।
उपकुलपतिका लागि १६ जनाले दरखास्त दिएका छन्। उपकुलपतिका दाबेदारमध्ये एक निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका प्राध्यापक डाक्टर गुरूप्रसाद खनाल हुन्।
खनाललाई नै सिफारिस गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, धरान उपमहानगरपालिका कमिटीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पठाएको पत्र बाहिरिएपछि प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप देखिएको छ।
नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठले गत बिहीबार स्वास्थ्य मन्त्री ढकाललाई पठाएको पत्रमा रिक्त उपकुलपति पदमा खनाललाई नियुक्त गर्न सिफारिस गरिएको छ। मन्त्री ढकाल प्रतिष्ठानका सहकुलपति र उपकुलपति छनोट समितिका संयोजक पनि हुन्।
प्रतिष्ठानमा गत असार अन्तिम सातादेखि उपकुलपति रिक्त छ।
तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियारसहित पूर्वउपकुलपति वीपी दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, आर्थिक प्रशासन महालेखा प्रमुख दिनेशराज दाहालविरूद्ध अख्तियारले करिब २० करोड रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो।
अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएपछि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिष्ठानमा दैनिक कामकाज सहज बनाउन शिक्षाध्यक्ष खनाललाई निमित्त उपकुलपति बनाएका थिए।
खनालले निमित्त उपकुलपति सम्हालेको छ महिनापछि सरकारले प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्ने तयारी गरेको हो। यहीबीचमा नेकपा धरानले खनालको समर्थनमा मन्त्री ढकाललाई पठाएको सिफारिस पत्र बाहिरिएको छ।
‘प्राध्यापक गुरू खनाललाई उपकुलपति नियुक्त गरी बाँकी रहेका शिक्षाध्यक्षमा प्रतिष्ठानमा पार्टीसम्बद्ध सिनियर प्रोफेसरहरू मध्येबाट र रजिष्ट्रारमा पार्टीबाट उपयुक्त विज्ञ प्रशासक नियुक्ति गरी प्रतिष्ठानको दीर्घकालीन नेतृत्व हाम्रो अनुकूल बनाउन सकिने भएकाले सोहीअनुसारको व्यवस्थाका लागि पार्टी केन्द्रमा सिफारिस गर्ने धरान उपमहानगर कमिटी तथा धरानस्थित जिल्ला र प्रदेश कमिटीका नेताहरूको साझा धारणा रहेकोले यो सिफारिस गरिएको छ,’ स्वास्थ्य मन्त्री ढकाललाई नेकपा धरान कमिटीले पठाएको पत्रमा भनिएको छ।
उपकुलपतिका लागि खनालसहित प्रतिष्ठानकै डाक्टर सञ्जिव शर्मा, डाक्टर गेहनाथ बराल, डाक्टर ज्ञानेन्द्र गिरी, डाक्टर नारायण विक्रम थापाले पनि आवेदन दिएका छन्। खनाललाई नेकपा धरानले मात्र होइन, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उपकुलपति बनाउन चाहन्छन्।
स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपतिसमेत रहेका मन्त्री ढकालका पनि आफ्नै उम्मेदवार छन्। प्रधानमन्त्रीले बराल र मन्त्री ढकालले गिरीलाई उपकुलपति बनाउन चाहेको स्रोतको दाबी छ।
प्रतिष्ठानमा खुला प्रतिस्पर्धाबाट आवेदक मागे पनि राजनीतिक हस्तक्षेप हुने डर प्रतिष्ठानकै दन्त चिकित्सा शिक्षक कल्याण समाजले गरेको छ। गत साता मन्त्री ढकाललाई ज्ञापनपत्र बुझाएर समाजका अध्यक्ष डाक्टर विष्णु पोखरेल र महासचिव डाक्टर एस.पि रिमालले योग्य व्यक्तिलाई उपकुलपति बनाउन माग गरेका छन्।
‘उपकुलपति छनोट प्रक्रिया आर्थिक लेनदेनमा नहोस्, इमान्दार र प्रशासनिक क्षमता राख्ने व्यक्ति होस्, उपकुलपतिको कार्यकालको ३ देखि ६ महिनासम्म कामको नियमन र मूल्यांकन होस्,’ समाजले यस्ता कुरा उपकुलपति छनोटका बेला ध्यान दिन प्रधानमन्त्री तथा उपकुलपति छनोट समिति सदस्यहरू उषा झा र राजन खनाललाई पत्रको बोदार्थ पठाएका छन्।
नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले पार्टी लेटरप्याडमै सिफारिस पठाउनुको अर्थ रहेको सेतोपाटीलाई बताए।
‘धरानमा रहेको प्रतिष्ठान सञ्चालन गर्ने कुरा धरानका मान्छेको चासो हो कि बाहिरका मान्छेको चासो हुनुपर्ने हो?,’ शनिबार सेतोपाटीसँगको कुराकानीमा अध्यक्ष सुवेदीले भने, ‘हो, धरान पार्टी कमिटीले गुरू खनाललाई उपकुलपति बनाउन सिफारिस गर्दै मन्त्रीलाई पत्र पठाएको हो।’
उनले स्वास्थ्य मन्त्रीलाई जरुरी नै भएकोले पत्र पठाएको दाबी गरे।
‘धरानको सन्दर्भमा यो पत्र पठाउनु जरुरी थियो त्यसैले पठाइयो। यहीँ प्रतिष्ठानमा लामो समयदेखि कार्यरत व्यक्ति उपकुलपतिमा आउनुपर्छ भन्ने हाम्रो चासो हो।’
पार्टीले पठाएको पत्र मन्त्री ढकालका आसेपासेबाट बाहिरिएको उनले आरोप लगाए।
‘मन्त्रीका आसपासका मान्छेले पत्र बाहिर ल्याएका हुन्, हामीले थाहा पाइसक्यौं,’ अध्यक्ष सुवेदीले भने, ‘प्रतिष्ठानमा यसअघि लुट्ने काम भयो। त्यसको खबरदारीका लागि पनि यो पत्र पठाइएको हो।’
उनले उपकुलपति नियुक्तिमा पैसा चलखेल हुने पनि आरोप लगाए।
‘पहिलेदेखि प्रतिष्ठानमा बाहिरका व्यक्ति ल्याएर बदनाम गराउने काम भएको छ। त्यसकारण धरान बाहिरका कुनै पनि व्यक्ति मन्त्रीलाई पैसा दिएको भरमा यहाँ आउँछ भने त्यो राम्रो होइन। त्यसैले पनि पत्र पठाएर खबरदारी गरेको हो,’ उनले भने।
उपकुलपतिमा गुरू खनाल नै किन? भन्ने प्रश्नमा अध्यक्ष सुवेदीले थपे, ‘गुरू खनाल सर यहीँ लामो समयदेखि काम गर्नुभएको छ। निमित्त भिसी पनि उहाँ नै रहनुभयो। यहाँका समस्या उहाँले नै बुझ्नुभएको छ र समाधान गर्न पनि योग्य हुनुहुन्छ।’
उनले यसअघि उपकुलपति नियुक्तिमा १६ करोड रुपैयाँसम्म चलखेल भएको दाबी गरे। तर कसले कसलाई उक्त रकम दियो भन्नेबारे खुलाएनन्।
‘बाहिरका मान्छे उपकुलपति भएर आउँछन्, मन्त्रीलाई पैसा बुझाएर। त्यस्ता मान्छे आएर यहाँ भ्रष्टाचार नगरे के गर्छन्? त्यसकारण त्यस्ता मानिस आउन हुँदैन। प्रतिष्ठानभित्रकै मानिस आउनुपर्छ,’ उनले भने।
उनले पार्टी धरान कमिटीलाई बदनाम गर्न सिफारिस पत्र बाहिर ल्याइएको आरोप लगाए।
‘धरानको पार्टी कमिटीलाई बदनाम गर्न पत्र बाहिर ल्याएका छन्। तर केही फरक पर्दैन। बाहिरका मानिस आएर यहाँ प्रतिष्ठान चल्दैन,’ उनले भने।
सुवेदीका अनुसार स्वच्छ छवि भएका योग्य व्यक्ति उपकुलपति हुनुपर्छ।
‘जो अहिलेसम्म कुनै दाग लागेका छैनन्, प्रतिष्ठानमै लामो समयदेखि काम गरिआएका छन् तिनलाई उपकुलपति बनाउने हाम्रो माग हो,’ अध्यक्ष सुवेदीले सेतोपाटीसँग भने।